‘सीमांकन थाती राखेर निर्वाचनतिर लागौं’

राजधानी समाचारदाता
काठमाडौं, २५ पुस

सत्तारूढ कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश सीमांकन थाती राखेर भए पनि निर्वाचनका लागि अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।ब्रिटिस गोरखा नेपाली परिषद्द्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले मुलुकलाई विभाजित अवस्थाबाट निकास दिलाउन दलबीच सहमति भए प्रदेश सीमांकन विषय थाती राखेर भए पनि निर्वाचनमा लाग्नुपर्नेमा जोड दिएका हुन् । ‘दलबीच सहमति भए विवादित सीमांकन विषय थाती राखेर भए पनि निर्वाचनमा जानुपर्छ,’ उनले भने, ‘राष्ट्रलाई निकास दिलाउनु नै ठूलो कुरा हो ।’

british-gurkhas-nepalese-council

मुलुकलाई संविधान कार्यान्वयनमार्फत आर्थिक समृद्धिको बाटोमा लैजान ढिला भइसकेको बताउ“दै उनले विलम्ब नगरी निर्वाचनमा होमिनुपर्ने जिकिर गरे । ‘सबैको सहमतिबिना निर्वाचन असम्भव भएकाले दलबीचको सहमतिबाटै मिति तोक्नु जायज हुनेछ,’ कोइरालाले भने, ‘बीपीले देखेको सपना पूरा गराउन कांग्रेसले नै मुख्य भूमिका निभाउनुपर्ने आवश्यकता छ ।’कांग्रेस युवा नेता गुरुराज घिमिरे, एमाले नेता रवीन्द्र अधिकारी, माओवादी केन्द्रका सुरेश आले मगर, पत्रकार ऋषि धमलालगायतले ब्रिटिस गोरखा सैनिकले पु¥याएको योगदान स्मरण गरेका थिए ।

यसैबीच, कांग्रेस युवा नेता तथा सांसद धनराज गुरुङले  यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा बोल्दै गुरुङले सर्वस्वीकार्य हुने नाममा संविधान संशोधनतर्फ सरकार लाग्नु ठीक नभएकाले आफू संशोधन विधेयकको विपक्षमा रहेको प्रस्ट पारे । दलबीच अधिकतम सहमति गरेर मात्र संविधान संशोधन विधेयक अघि बढाउनुपर्ने उनको जोड छ ।

‘म संशोधन विधेयकको पक्षमा छैन, संविधान संशोधन गर्ने कुरा अहिले सम्भव पनि छैन,’ उनले भने, ‘दलबीच अधिकतम सहमति गरेर मात्रै संशोधन गरिनुपर्छ ।’ प्रमुख प्रतिपक्षी एमालेलाई उपेक्षा गरेर सहमतिबिनै संशोधन गर्नुको कुनै अर्थ नहुने जिकिर पनि उनले गरे ।

एमालेलगायतका दललाई बाहिर राखेर गरिने संशोधनले समस्याको निकास नदिने उनको भनाइ थियो । नेता गुरुङले लोकमान कार्कीलाई सर्वोच्चले पदमुक्त गरे पनि संसद्बाटै महाभियोग लगाउनुपर्नेमा जोड दिए । ‘लोकमानले अक्षम्य कार्य गरेका छन्,’ उनले भने, ‘उनलाई संसद्बाट महाअभियोग लगाएर कारबाही गर्नुपर्छ ।’

 

Leave A Reply

Your email address will not be published.