संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुँदैन : ओली

राजधानी संवाददाता
मोरङ, २५ पुस

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आइतबार पेस भएको संविधान संशोधनको प्रस्ताव कुनै हालतमा पास नहुने बताएका छन् । सरकारले जालझेल, छलछाम र षड्यन्त्रपूर्वक संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्ताव देश र जनताको हितविपरीत रहेकाले कुनै हालतमा पास हुन नदिने उनको भनाइ छ ।

सोमबार विराटनगरमा एमाले मोरङको ८औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटा मन्त्रीले पेस गर्ने प्रस्ताव अर्को मन्त्रीले रोस्ट्रममै लुकेर प्रतिपक्षीहरूको तीव्र विरोधबीच जालझेल पूर्ण तरिकाले टेबुल गरेको आरोप लगाए । संविधान संशोधनको प्रस्तावबाहिर एउटा बहानामा ल्याइए पनि त्यसको भित्री परिणाम अर्कै रहेको उनले टिप्पणी गरे । जुवाडेले पत्ती र कौडा पछारे पनि नोक्सानी धनसम्पत्तिको हुने उदाहरण प्रस्तुत गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रहितविपरीतको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने जिकिर गरे । उनले भने, ‘कुनै पनि तागतले संशोधन प्रस्ताव पारित हुँदैन ।’

kp-1

नेपालको राष्ट्रिय राजनीतिको केन्द्र एमाले भएको चर्चा गर्दै ओलीले एमालेविरुद्ध देशभित्रै र देशबाहिरबाट मोर्चाबन्दी गरिएको बताए । एमाले नेतृत्वको सरकार बन्दै गर्दासमेत घेराबन्दी भएको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि त्यस्तै घेराबन्दी भइरहेको बताए । ‘एमाले यस्तो शक्ति हो अहिले देशभित्रका मात्रै होइन, संसारका मै हुँ भन्ने शक्ति पनि घेराबन्दी गर्न लागिपरेका छन्,’ उनले भने, ‘यदि एमाले हुँदैनथ्यो भने नेपालको टाउकोमा ककसले टेक्थे टेक्थे ।’ उनले राजनीतिको एजेन्डा नभएका दलका कारण अहिले देशमाथि चौतर्फी आक्रमण भइरहेको चर्चा गरे ।

एमालेलाई मधेसमा प्रवेश रोक लगाउने जस्ता अभिव्यक्तिहरूको कटाक्ष गरेका अध्यक्ष ओलीले मधेसी दलका नेताहरूलाई आवेशयुक्त र उत्तेजक कुरा नगर्न सुझाव दिए । पृथ्वीनारायण साहको ‘जाई कटक नगर्नु, झिकी कटक गर्नु’भन्ने भनाइ स्मरण गर्दै ओलीले एमालेविरुद्ध जो लाग्छ, त्यसले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिए ।

तीन वर्षअघि कुनै खेलाडीले स्वर्ण पदक पायो भन्दैमा तीन वर्षपछि पनि उसैले पाउँछ भन्ने अवस्था नरहने उदाहरण प्रस्तुत गर्दै एमाले अध्यक्ष ओलीले अहिले देशको सबैभन्दा ठूलो दल नेकपा एमाले रहेको बताए । उनले भने, ‘अहिले नेपालका कुनै पनि दलसँग एमाले उभ्याँदा कम्मरतिर मात्र आइपुग्छन् ।’

एमाले नेतृत्वको सरकारले ल्याएका देशविकासका कार्यक्रम र छुट्ट्याएको बजेटले हरेक नेपालीले एमालेलाई राम्ररी बुझेको उनले तर्क गरे । यद्यपि, अहिले पनि भ्रम रहेकाले मधेशमा विकास र समृद्धिको नारा लिएर जान कार्यकर्तालाई उनले आग्रह गरे ।

उनले हुलाकी राजमार्गमा चार अर्ब २० करोड बजेट छुट्ट्याइएको, मधेसका सदरमुकाम जोड्ने सडक निर्माणमा प्राथमिकता दिएको, मधेसमा स्मार्ट सिटि बनाउने योजना ल्याइएको, देशका विभिन्न भागलाई कृषि जोनको रुपमा स्थापित गर्ने योजना ल्याएको स्मरण गर्दै भने, यतिबेला अरू दलहरू एमालेले ९ महिनामा गरेको काम देखेर अत्तालिएका छन् । उनले मधेशमा एमालेविरुद्ध भ्रम छर्नेहरू कटाक्ष गर्दै भने, ‘मधेसको विकासको कुरा ग¥यो भने त्यहाँका जनता धनी हुन्छन् र आफ्नो जमिनदारी खोसिन्छ भनेर भाग्नेहरूलाई जनताले राम्ररी चिनेको बताए ।

Leave A Reply

Your email address will not be published.