अतिक्रमित बस्तीमा डोजर

राजधानी संवाददाता
धनकुटा, २५ पुस

धनकुटाको हिलेस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा प्रशासनले आइतबार डोजर लगाएर भत्काइएको छ । धनकुटा नगरपालिका–१ हिले बजारनजिक रहेको सो जग्गामा बनाइएका घरटहराहरू हटाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले डोजर लगाएको हो ।धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं. बाहिनीसँग जोडिएको प्राधिकरणको स्वामित्वको जग्गामा अनधिकृत रूपमा बस्ती बसेको प्राधिकरणले जनाउँदै आएको थियो ।

basti-ma-dogar-photo-dhankuta

अनधिकृत बस्ती हटाई जग्गा खाली गराउन सार्वजनिक सूचना टाँस गरेको डेढ महिनासम्म पनि अतिक्रमणकारीहरूले अटेर गरेकाले बस्ती हटाउन डोजर प्रयोग गर्नुपरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।प्रजिअ उप्रेतीका अनुसार प्रशासनले दिएको समयावधिमा जग्गा खाली गर्न अटेर गरेपछि बल प्रयोग गरेर अतिक्रमित बस्ती हटाउनुपरेको हो । विद्युत् प्राधिकरणको स्वामित्वको १ सय ९५ रोपनीमध्ये १० रोपनीभन्दा बढी जग्गामा सुकुम्बासीका नाममा अतिक्रमण गरी ४५ परिवार टहरा बनाई वर्षांैदेखि बस्दै आएका थिए ।

अरुण तेस्रो परियोजनाका लागि २०५० मा अधिग्रहण गरिएको सो जग्गा अतिक्रमण रोक्न पटकपटक पत्र लेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।अतिक्रमित जग्गामा बनाइएका घरमा करिब सात महिनाअघि नै विद्युत् सेवाको लाइन काटिएको थियो ।यसअघि केही संघसंस्थाले सो बस्ती तत्काल नहटाउन माग गर्दै विज्ञप्ति जारी गरेका थिए । प्रशासनले बल प्रयोग गरी बस्तीमा डोजर लगाएर टहरा भत्काइदिएपछि जाडो याममा बासस्थान नहुँदा आफूहरू बिचल्लीमा परेको सो बस्तीका व्यक्तिले गुनासो गरेका छन् ।

Leave A Reply

Your email address will not be published.