मुलुकबाहिर पत्रकार महासंघ र अबको बाटो

मुलुकबाहिर पत्रकार महासंघ र अबको बाटो

mohan-bashyal-copy

मोहन बस्याल

प्रवासमा स्थापना भएर सबैभन्दा पहिले नेपाल पत्रकार महासंघबाट मान्यता पाउने पहिलो शाखाको सदस्य हुन पाउँदा गौरव छ । स्थानीय कानुनले हामीलाई पत्रकारिता गर्ने छुट नदिए पनि नेपाली भाषामा नेपाली समुदायका गतिविधिलाई प्रवाहित गर्नु यहाँका नेपाली पत्रकारको कर्म हो । यसका लागि सञ्चार कर्ममा रमाउनेहरूलाई प्रोत्साहन, सहयोग र समन्वयको भूमिका महासंघले खेल्दै आएको छ । समय समयमा नेपाली समुदायभित्र देखिएका समस्या समाधानका लागि पहल गर्ने भूमिकामा समेत महासंघ अगाडि देखिएको छ ।

प्रवासिएका नेपालीहरूबीच सहयोग आदान–प्रदानका लागि संगठन निर्माण हुनु स्वाभाविक हो । तर, स्थानीय कानुन प्रतिकुल हुँदाहुँदै पनि नेपाली पत्रकारितालाई प्रवद्र्धन गर्ने भन्दै पत्रकारको संगठन निर्माण हुनु स्वाभाविक होइन । यूएईमा नेपाली पत्रकार संगठनको स्थापना हुनु अस्वाभाविक र जोखिमयुक्त कुरा हो । तर, यो आवश्यकताले नै जन्मिएको प्रभावकारी संगठन हो । यो अन्य संगठनजस्तो होइन । पत्रकारिता इन्टरनेट प्रविधिमा आधारित रहेको र यस्तो गतिविधिलाई साइबरसम्बन्धी कानुनअन्र्तगत पनि हेरिने भएकाले यो चुनौतिपूर्ण छ । साइबरसम्बन्धी कानुनलाई सबैजसो मुलुकमा कडा कानुनका रूपमा लिइन्छ । गम्भीर कानुन प्रतिकुल हुँदाहुँदै पनि पत्रकार महासंघ स्थापना भई क्रियाशील भएपछि यहाँ रहेका नेपाली समुदाय र नेपाली पत्रकारितामा यसको उपलब्धि के छ ? यस विषयमा छलफल हुनुपर्छ ।

मूलतः मजदुरीका लागि आएका नेपालीहरूले पछिल्ला दिनमा यूएईमा आफ्नै व्यवसाय सुरु गरेका छन् । कतिपयले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् भने कतिपयले सेवा र रोजगारी पनि दिएका छन् । नेपाली नागरिकले यूएईमा व्यवसाय सुरु गरेको लामो समय भएको छैन । उनीहरूलाई दिगो विकासका लागि अन्य नेपालीको सहयोग र सद्भाव आवश्यक पर्छ । यसका लागि यहाँ कार्यरत सञ्चारकर्मीले प्रचार–प्रसार गर्न सहयोग पु¥याउनुपर्छ, जुन भूमिका केही हदसम्म पूरा भएकै छ । थप केके गर्न सकिन्छ ? यहाँ रहेका नेपाली व्यवसायीद्वारा स्थापित नेपाली बिजनेस काउन्सिलसँग पनि बसेर छलफल र परामर्स गरेर अगाडि बढ्न सके यो भूमिका अझ प्रभावकारी हुन सक्छ ।

दुई लाखको हाराहारीमा रहेका नेपाली नागरिकले नेपालमा उत्पादन हुने सामानको प्रयोग बढाउन प्रयत्न गर्न सके नेपालको बैदेसिक व्यापारघाटा कम गर्न सकिन्छ । सुरुवातमा नेपाली नागरिकले नेपाली उत्पादन प्रयोग गर्ने अभियान चलाउने र बिस्तारै नेपाली नागरिकले काम गर्ने संस्थामा रहेका अन्य देशका नागरिकलाई पनि प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान चलाउन सकिन्छ । यसका लागि यूएईमा रहेका नेपाली सञ्चारकर्मी र सञ्चार माध्यमको भूमिका महŒवपूर्ण हुन्छ ।

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक हो । नेपालको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन हो । नेपालीहरू जहाँजहाँ छरिएर रहेका छन्, त्यहाँ त्यहाँबाट स्थानीय नागरिक नेपाल भिœयाउन सके नेपालको पर्यटनले छोटो समयमा गति लिन सक्छ । यो अभियान सञ्चालन गर्न अब ढिलाइ गर्न हुन्न । यो अभियानमा नेपाली लगानीका ट्राभल्स कम्पनी र पत्रकारिता क्षेत्रबीच सहकार्य हुन जरुरी छ ।
नेपाली नागरिकहरू दुबइलगायतका मुलुकमा अदक्ष र अर्धदक्ष कामदारका रूपमा ठूलो संख्यामा कार्यरत छन् । अब यसमा सुधार ल्याउन नेपाली मिडियाले भूमिका खेल्नुपर्छ । विदेशमा काम गर्नका लागि सीप सिकेर जानुपर्छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्ने मात्र होइन, यहाँ कार्यरत कामदारलाई पनि नयाँनयाँ सीप सिक्ने अवसरतर्फ आकर्र्षित गराउन सक्नुपर्छ ।

नेपाल सरकारले नेपाल पत्रकार महासंघस“गको सहकार्यमा नेपालमा रहेका पत्रकारको बिमाको कार्यक्रम ल्याएको छ। सो सुविधाबाट यहा“का पत्रकार वञ्चित छन्। नेपाल सरकारले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा पनि पत्रकारका लागि ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ। यस सुविधाबाट पनि नेपाली पत्रकार वञ्चित छन्।

सामान्यतयाः नेपाली पत्रकारिताको अभ्यासमा पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिने गरिन्छ । धेरै मानिसले पत्रकारिता चौथो अंग हो भन्ने सुनेका त छन्, तर अरू तीवटा अंग कुनकुन हुन् ? तिनको भूमिका के छ ? चौथो अंगको भूमिका के हो ? के हुनुपर्छ ? भन्नेबारे थाहा पाएका छैनन् । चौथो अंग भएकाले राज्य स्रोतबाट यिनीहरूलाई मनग्ये पैसा आउँछ भन्ने भ्रम पनि धेरैमा रहेछ । मिडिया साक्षरताका कार्यक्रम ल्याएर यस्ता भ्रम चिर्नुपर्ने हुन्छ । सरकार वा कार्यपालिका, संसद् वा व्यवस्थापिका र अदालत वा न्यायपालिकाबाहेकको चौथो अंग पत्रकारिता वा मिडिया क्षेत्र राज्यको स्रोत साधनबाट चल्ने क्षेत्र नभएर निरन्तर राज्यका तीनवटा अंगलाई खबरदारी गर्ने र आफ्नो बाटोमा अगाडि बढ्न सघाउने सचेत नागरिक समूह हो । यति मात्र बुझाउन सकियो भने पनि धेरै प्रगति हुन्छ ।

यूएईमा अहिले ३० को हाराहारिमा रहेका नेपाली युवाले सञ्चारकर्ममा सहभागिता जनाउँदै आएका छन् । केही युवा स्थानीय सञ्चार माध्यममा कार्यरत पनि छन्, तर उनीहरू नेपाल पत्रकार महासंघसँगको सहकार्यका लागि अनिच्छुक देखिएका छन् । जो महासंघसँग आबद्ध र सम्पर्कमा छन्, उनीहरूको भिसा सञ्चारकर्मीका रूपमा छैन । कोही व्यवसायी छन्, कोही कामदार । यहाँको स्थानीय कानुनमा जुन कामका लागि जुन कम्पनीका लागि भिसा लिएको हो, उही कम्पनीमा उही काम गर्नुपर्ने प्रावधान छ । त्यसैले, यहाँ कामदार वा व्यवसायीको भिसा लिएर पत्रकारिता गर्ने हामी सबै स्थानीय कानुनका आधारमा अवैधानिक हौं । अब नेपाली लगानीमा सञ्चारगृहको स्थापना वा स्थानीय सञ्चार माध्यममा नेपाली पत्रकारको सहभागिता जे गर्न सक्छौं, त्यो बाटो लिनुपर्ने आवश्यकता छ । हुन त एभरेस्ट मिडिया दर्ता भएको छ, त्यसले गतिविधि सुरु पनि गर्दै छ । आशा गरौं, यसले नेपाली सञ्चारकर्मीलाई वैधानिक बनाउने भूमिकामा सघाउ पु¥याओस् ।

नेपाल सरकारले पत्रकारिता क्षेत्रप्रति आफ्नो जिम्मेवारी बढाउँदै गएको छ । सेवामूलक उद्योगका रूपमा सञ्चार उद्योगलाई मान्यता दिने प्रक्रियासँगै पत्रकारले नियमितजसो भोग्ने समस्या न्यूनीकरणका लागि केही पहल सुरु भएको छ । तर, यस्ता पहलबाट प्रवासमा रहने धेरै पत्रकार वञ्चित छन् । नेपाल सरकारले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा रहेका पत्रकारको बिमाको कार्यक्रम ल्याएको
छ । सो सुविधाबाट यहाँका पत्रकार वञ्चित  छन् । बिमाका लागि सूचना विभागको रातो कार्ड हुनुपर्ने प्रावधान छ । प्रवासमा रहेका पत्रकार यस सुविधाबाट वञ्चित भएकाले बिमाको सुविधाबाट पनि वञ्चित छन् । नेपाल सरकारले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा पनि पत्रकारका लागि ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । यो सुविधाबाट पनि नेपाली पत्रकार वञ्चित छन् । यसका लागि नेपाल पत्रकार महासंघ तथा सूचना विभागसँग समन्वय र सहकार्य गर्न र प्रवासका पत्रकारलाई पनि यो सुविधा उपलब्ध गराउन पहल गर्न जरुरी छ ।

Leave A Reply

Your email address will not be published.