पछौटेपनको दोष हाम्रो पनि

पछौटेपनको दोष हाम्रो पनि

kamal-aryal

 कमल अर्याल

हामीले अन्य मुलुकको आर्थिक विकास देखेका छौं । हेर्दाहेर्दै हामीभन्दा आर्थिक रूपमा पछि परेका मुलुक अहिले निकै समृद्ध भएका छन्, तर हामी पहिलाभन्दा पनि परनिर्भर र गरिब बन्दै गइरहेका छौं । साधन र स्रोतले मात्रै पनि विकास हुने रहेनछ भन्ने कुरा केही अफ्रिकी देशको दुरवस्थाबाट बुझ्न सकिन्छ भने साधन र स्रोत होइन, इच्छाशक्ति र लगाव चाहिन्छ भन्ने कुरा दक्षिण कोरिया, मलेसियालगायतका मुलुकबाट बुझ्न सकिन्छ । आर्थिक हिसाबमा हामी यति कमजोर हुनुमा साधन स्रोत नभई कतै सानो कुरामा सन्तुष्ट हुने हाम्रो बानी र बढी नै आशावादी हुने प्रवृत्ति त जिम्मेवार छैन ? केही दशकअघिसम्म हेर्दा दक्षिण कोरिया विश्वको एक गरिब मुलुक थियो । उसको बाँच्ने आधार भनेको अमेरिकी सहयोग मात्रै  थियो । सन् १९६० को दशकमा रहेको सो अँध्यारो युगको अन्त्य त्यहाँदेखि सुरु भयो, जब सन् १९६२ देखि आर्थिक वृद्धिदर ७ दशमलव ६ बाट बढेर १९६७ सम्म पुग्दा ८ दशमलव ४ पुग्यो भने १९६८ मा १३ दशमलव १ प्रतिशतसम्म पुगेको थियो । चुङ हिको सत्तारोहणसँगै अघि बढेको कोरिया अहिले एसियाको सबैभन्दा शक्तिशाली अर्थतन्त्रमध्येको एक बन्न पुगेको छ । कोरिया आजको समृद्ध मुलुक हुनुमा नेतृत्व मात्रै होइन, नेतृत्वलाई खबरदारी गर्ने र आफ्नो कर्तव्य गरिरहने जनता पनि जिम्मेवार छन् ।

तर, १९६० को दशकमा राजा महेन्द्रले प्रजातन्त्र कु गरेर पञ्चायती व्यवस्थाको सुरुवात गर्दाकोे आर्थिक बाटो हामीकहाँ भने जस्ताको तस्तै छ । राणाशासन होस् वा लोकतन्त्र अथवा प्रजातन्त्र, जे भने पनि आमजनताले आफू नागरिक भएको आजका दिनसम्म महसुस गर्न पाएका छैनन् । अख्तियार दुरुपयोग गर्नेलाई नियन्त्रण गर्ने निकायमा नियुक्त भएको व्यक्तिले सबैभन्दा बढी अख्तियारको दुरुपयोग गर्ने हाम्रो मुलुकका जनता सेवाप्रदायी त परै जाओस्, एउटा उपभोक्ताको रूपमा पनि सम्मानित हुन सकेका छैनन् । एकातिर मुलुकले सही नेतृत्व नपाएको त छँदै छ, अर्कातिर हामी पछि पर्नुमा कतै सानासाना कुरामा खुसी हुने र बढी नै आशावादी हुने हाम्रो प्रवृत्ति त मुख्य कारक हैन ?
नेपाली जनताको सहनशीलताबारेमा केही उदाहरण प्रस्तुत गरौं । अहिले उपत्यकाका सडक हिँडिनसक्नु छन् । सडकमा हिँड्ने सवारी साधन मात्रै होइन, सडक छेउमा पसल हुनेहरू पनि दिनदिनैको धुलो, धुवाँ अनि अनावश्यक ट्राफिक जामका कारण हैरान मात्रै छैनन्, पीडित पनि बनेका छन् । धुलोबाट बचेजस्तो गर्न उनीहरूले मास्कले मुख छोप्ने प्रयास गर्छन् भने कतिपयले पुरै अनुहार छोपेर यात्रा गर्न बाध्य छन् । सडकमा सवारी गुडाउन पनि उत्तिकै गाह्रो छ । खाल्डाखुल्डी र भासिएका ठाउँले सवारी दुर्घटना निम्त्याएकै छ, दिनहुँको सास्ती छँदै छ ।

यी सास्तीका कुराहरू एकछिन जोसँग सडकमा यात्रा गर्दा होस् वा उभिँदा होस् सुन्न सकिन्छ । आफूले पनि सडकको अवस्था हेरेर यो नभनी बस्न सकिन्न कि कस्तो बिजोग गरेको होला ? तर, पनि त्यो पीडामा मिसिएको एउटा खुसी छ– पानी । मेलम्चीको पानी, जुन उपत्यकावासीका लागि एउटा सपना थियो । कतिपयले यसलाई मृगतृष्णासरह पनि व्याख्या गर्दथे । तर, अबको दशैं अगाबै मेलम्चीको पानी उपत्यकाका घरघरमा पुग्नेछ र दशैंको जमरा मेलम्चीको पानीले सिञ्चित हुने आशा पलाएको छ । यसले निराश मन खुसी भएको प्रस्ट देख्न सकिन्छ । सर्वसाधारण भन्छन्, ‘के पक्का आउला त पानी ?’ पूर्ण विश्वासभित्र पनि प्रश्न गरेर खुसी भएको देख्न सकिन्छ । पानी आउनु आफैंमा खुसीको कुरा  हो । जसले काम गरिहेको छ, उनीहरूको दोष छैन । तर, के पानी पाउनका लागि काठमाडौंवासी दमको रोगी बन्नुपर्ने हो ? ‘अब तिमीहरूले पानी पाउँछौ, त्यसैले दुःख पाओ, केही फरक पर्दैन’ भनेजस्तो गरेर गरिएका काममा उपभोक्ताहरू जागरुक हुनुपर्दैन ?
त्यस्तै कलंकीदेखि कोटेश्वसरसम्मको यात्रा गर्ने हो भने धुलोले मानिसको रंग रूप नै परिवर्तन गरिदिन्छ । तैपनि, मानिस निराश छैनन् । दुई वर्षमा सकिनुपर्ने सडक चार वर्षसम्म बन्न नसेकेको भए पनि मानिसहरू धुलोको मुस्लोको बीचमा नै उभिएर एकैछिन डोजरले माटो पन्छाउँदै गरेको हेर्छन् र भन्छन्, ‘दुई वर्षपछि आठ लेनको सडक कति राम्रो होला है †’ यसले नेपालीको धैर्य गर्ने बानी र आशावादी चरित्रलाई इंगित गर्छ । तर, सडक बनाउन यति लामो समय लिने ठेकेदार र सम्बन्धित निकायले जवाफदेही बन्नुपर्छ कि पर्दैन ? कसैले कसैको मतलब गर्दैन । यो सहनशीलता के सही हो त ? एउटा गुन्डा र अर्को गुन्डाको लडाइँमा पार्टीका कार्यकर्ता उतार्ने हामी वातावरण प्रदूषण भएर हजारौं जनताको स्वास्थ्य बिग्रने अवस्थामा पुग्दा कहीं कतैबाट बोल्नेसमेत प्रयास गर्दैनौं । यसकारण, हाम्रो सहनशीलता नै हामी पछाडि पर्नुको कारण हो ।

हामी आमजनता लोकमान हटेकामा खुसी भए पनि उनलाई नियुिक्त दिने र हटाउने पात्रहरूका बारेमा बोल्दैनौं वा बोल्न चाह“दैनौं। किनकि, अझै पनि हामी तिनै नेतामा विश्वास गर्छौं, जसले पटकपटक हाम्रा आशा र विश्वासलाई  कुठाराघात गरेका छन्।

गत वर्ष बजारमा पेट्रोलको हाहाकार हुँदा लामो लाइन बसेर पाँच लिटर पेट्रोल पाउँदा उपभोक्ताहरू भन्थे, ‘सरकारले त प्रयास गरेकै छैन ।’ त्यत्रो अभावमा उनीहरूले चुइँक्कसम्म सरकारविरुद्ध आवाज उठाएनन् । आशावादी भइरहे । ग्याँस र मट्टितेल दिन नसकेर दाउरा दिँदा पनि जनताले खुसी भएर दाउरा जेनतेन घरसम्म लतारे । काँचो काठको पुत्पुताउँदो धुवाँमा पकाएको दाल–भात खाँदा पनि जनता निकै खुसी र आशावादी भएका थिए, अब बाँचिन्छ कि भनेर ।
हँुदाहुँदा अहिले त महिनामा एक दिन कसैले ‘बन्द’ भनेर घोषणा गर्दा पनि विद्यार्थी, शिक्षकलगायत केही वर्गका व्यक्तिहरू खुसी हुन लागेको आभास भएको छ । किनभने, कयौंपटक सुनिएको छ, ‘महिनामा एक दिन बन्द त ठीकै  हो ।’ उपभोक्ताले न त्यसको क्षतिपूर्ति नै माग्छन्, न माग पूरा भयो वा भएन भनेर जवाफदेहीता नै खोज्छन् । त्यसैको परिणाम हरेक वर्षमा करिब एक महिना त कुनै न कुनै बहानामा बन्द भएकै हुन्छ । नेपालीहरूको सहनशीलता अनौठो र आश्चर्यलाग्दो छ । अन्य मुलुकमा यति धेरै धैर्य गर्ने मानिस कमै होलान् । एउटा गन्तव्यमा जान यात्रुहरू पैसा तिरेर बस चढ्छन् । बस आधा बाटोमा बिग्रेर
रोकिन्छ । त्यसबेला यात्रु बसबाट ओर्लिएर जाँदा बस मालिकले आधा बाटोसम्म आएको भाडा माग्छ । यात्रुले पैसा तिर्छन् । के बसले यात्रुको जिम्मेवारी लिएपछि यात्रुलाई जे जस्तो व्यवस्था गरेर भए पनि गन्तव्यसम्म पु¥याउनुपर्ने होइन ? तर, उपभोक्ता बोल्न चाहँदैनन् वा बोल्दैनन् । चाहे राजनीति होस् वा उपभोक्ता अधिकारको कुरा, हामी जवाफदेही छैनौं र जवाफ खोज्न पनि चाहँदैनौं । त्यही कमजोरीमा हामीलाई टाठाबाठाले सधैं उपयोग गरिरहेका छन् र गर्दै छन् । उदाहरणका लागि अहिलेको लोकमान प्रकरणलाई नै लिऊँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो जिम्मेवार निकायमा लोकमानसिंह कार्कीजस्तो  ‘अयोग्य’ व्यक्तिलाई नियुक्त गर्नु भन्ने आवाज उनको नियुक्तिको पालामा उठेको हो । तर, त्यो आवाज यसरी धमिलो हुन पुग्यो मानौं, लोकमानबाहेक यस धर्तीमा अख्तियारका लागि कोही पनि जन्मेकै छैन । परिणामस्वरूप ती अयोग्य व्यक्तिले करिब चार वर्ष सबैभन्दा योग्य बनेर लुट गरिरहे । उनको आडमा तिनले बढी ब्रह्मलुट गरे, जसले उनलाई नियुक्ति दिए । किनभने, लोकमानले आफ्नो नियुक्तिको गुन त्यसबाट तिरिरहे ।  जब लोकमानको गुनको कमाइभन्दा लोकमानकै कमाइ ज्यादा देखियो, तब मात्रै उनी दोषी देखिए । परिणामस्वरूप अहिले उनी हटाइए । तर, उनको नियुक्ति गर्न योग्य देख्नेहरू जुनसुकै प्रकारले पनि सत्ताको वरिपरि नै छन् । तर, हामी आमजनता लोकमान हटेकोमा खुसी भए पनि उनलाई नियुक्ति दिने र हटाउने पात्रबारे बोल्दैनौं वा बोल्न चाहँदैनौं । किनकि, अझै पनि हामी तिनै नेतामा विश्वास गर्छौं, जसले पटकपटक हाम्रा आशा र विश्वासलाई कुठराघात गरेका छन् । जब एयरपोर्टबाट भन्सार छलेर ल्याएको सुन भेटिन्छ, हामी सुनको मूल्य हिसाब गरेर मख्ख पर्छौं, तर अवैध रूपमा सुन भित्रिएर कर छली भइरहेको बारे कुनै पनि निकायसँग जवाफ माग्दैनौं र लाचार बन्छौं भने राजनीतिक तह होस् वा प्रशासनिक तह, जहाँका भए पनि टाठाबाठाहरूले आमजनतालाई निचोरीरहन्छन् ।  त्यसैले, चुनावका बेला कलाई पत्तासाफ गर्ने भनेर राजनीतिक दलको झन्डा बोक्नका लागि मात्र जागरुक नभई हाम्रो नागरिक अधिकारका लागि पनि बोल्ने कि † नागरिक अधिकारमा खानेपानी, बाटो, ढल, स्वच्छ हावा, प्रदूषणरहित वातावरण, व्यवस्थित यातायात, मूल्यसूची, गुणस्तरीय खाना र उपभोग्य सामान आदि पनि पर्छन् ।

Leave A Reply

Your email address will not be published.