समन्वयको अभावमा सास्ती

समन्वयको अभावमा सास्ती

काठमाडौंका सडकमा बढ्दै गएको धुलोले सहरको सौन्दर्य क्रमशः कुरूप हुँदै गएको छ । सहरका गल्लीभित्र मात्र होइन, पक्की सडकमा समेत धुलोको मात्रा क्रमशः बढ्दै गएको छ । चिसोको संक्रमण बढ्दै गएको बेला धुलोको मात्रासमेत थपिएपछि रोगी, वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ । चिसोमा यसै पनि वृद्धवृद्धा, रोगी र बालबालिका प्रभावित हुने गर्छन्, झन् धुलोको मात्रा बढेपछि संक्रमणको खतरा त्यसै पनि बढी हुन्छ । हिउँद याममा पानी नपर्ने भएकाले यसै पनि सडक किनारामा धुँवा तथा धुलोको मात्रा बढ्छ । सडकमा निस्कने धुलोका साथै सवारीसाधनले फाल्ने धुवाँको मुस्लोले सर्वसाधारणलाई थप सास्ती दिने गरेको छ ।

पछिल्लो समय सडक धुलाम्य हुनुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), सडक विभाग र ढल निकास विभाग बढी जिम्मेवार देखिएका छन् । सडक विभागले आफ्नै हिसाबले सडक बनाउने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि आफ्नै मर्जीले सडक खन्दै पाइप बिछ्याइदिने गरेका छन् । ढल निकास विभागले कतिपय ठाउँमा आफ्नै मर्जीले काम गर्दै आएको छ । यी तिनै निकायले समन्वय गरेर काम गर्ने हो भने यति गम्भीर समस्या आउने नै थिएन । तर, पछिल्लो समयमा सडक खनिएको दृश्य हेर्दा लाग्छ, यी निकायहरूबीच पटक्कै समन्वय छैन । किनकि, ढल निकास विभाग, केयूकेएल र सडक विभागबीच समन्वय हुने गरेको भए एउटा पक्षले खनेको सडक अर्को पक्षले भत्काइरहनुपर्ने थिएन । यसरी, मनलाग्दी शैलीमा सडक खन्दा सर्वसाधारणले त सास्ती पाउँछन् नै, त्यसमाथि यी सबै निकायको अनावश्यक खर्चसमेत हुने गरेको छ । खर्चमा मितव्ययिता अपनाउन र सर्वसाधारण नागरिकलाई राहत दिन पनि ती संघसंस्थाबीच समन्य हुनु जरुरी छ । त्यसरी समन्वय गरेर काम गरेमा सहर कुरूप हुनबाट जोगिनेछ भने सर्वसाधारणले पनि अनावश्यक सास्ती भोग्नबाट मुक्ति पाउनेछन् ।

काठमाडौं सहर मुलुकको प्रमुख प्रशासनिक केन्द्र मात्रै होइन, सिंगो मुलुकको सौन्दर्य र आकर्षणको केन्द्र पनि हो । यो सहरमा भएका कतिपय ऐतिहासिक धरोहर धुवाँ तथा धुलोकै कारण संकटमा छन् । ती सम्पदालाई जोगाउन पनि धुलो तथा धुवाँरहित सहरको परिकल्पना गरिनुपर्छ । यसको अर्थ कुनै पनि सडक खन्नै हुन्न भन्ने होइन । खानेपानी, ढलजस्ता अत्यावश्यकीय वस्तुको व्यवस्थापनका लागि सडक नखनी उपाय छैन, तर जुन संस्थाले जुन कामका लागि सडक खनेको हो, उसले काम सम्पन्न गरेपछि सडकलाई पहिलाकै स्थितिमा पु¥याइदिने हो भने यो समस्या आउँदैन । विभिन्न अध्ययनहरूले पुष्टि गरिसकेका छन् कि धुवाँ तथा धुलो मानवस्वास्थ्यका लागि हानिकारक तŒव हुन् । यस्ता हानिकारक तŒवबाट जोगिन व्यक्तिगत पहलले मात्रै सम्भव छैन । कुनै पनि सडक खन्नुअघि एउटा मापदण्ड बनाउने हो भने यो समस्या पटकपटक  दोहोरिँदैन । आशा गरौं, आगामी दिनमा सडक खन्नुअघि सडकलाई दुरुस्तै बनाउने विषयमा पनि सम्बन्धित निकायका पदाधिकारीले गम्भीर भएर सोच्नेछन् ।

Leave A Reply

Your email address will not be published.