धुर्मुस–सुन्तलीले थाले मुसहरबस्ती निर्माण

राजधानी समाचारदाता
काठमाडौं, २५ पुस

 सिन्धुपालचोकमा गिरानचौरमा दोस्रो एकीकृत बस्ती बनाएको थकाइ नमेटिँदै कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला बर्दिबास नगरपालिका २ बर्दिबासको मुसहर बस्तीमा मुसहरका लागि एकीकृत नमुना बस्ती निर्माणमा जुटेका छन् ।

img_2306-1

यी दम्पतीले धुर्मुस–सुन्तली फाउन्डेसनबाट यो तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास सोमबार गरेका छन् । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) र गंगासागर सरसफाइका अभियन्ता रामआशिष यादवले सो नमुना बस्ती नर्माणको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

बस्ती शिलान्यासअघि त्यहाँका मुसहरसहित स्थानीयवासीले मह जोडीसहित काठमाडौंबाट त्यहाँ गएका कलाकारहरूको स्वागत गरेका थिए । नाचगान र विविध सांस्कृतिक कार्यक्रमबीच सो नमुना बस्तीको सिलान्यास भएको हो ।

सो सिलान्यास समारोहमा बोल्दै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले गरेको काम निकै लोभलाग्दो भएको बताए । उनीहरूका कामले अहिले राजनीतिक दल मात्र हैन, ती दलका नेताहरूलाई समेत चुनौती दिएको छ, भने । पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुँदैन थियो भन्ने धारणा उनले सो कार्यक्रममा राखे । सो नमुना बस्ती निर्माणमा आपूmहरूको पनि सहयोग रहने प्रतिबद्धता उनले जनाए ।

हरिवंश आचार्यले पनि सो कामको प्रशंसा गर्दै सिताराम कट्टेल नेपाल आमाका सच्चा सपूत हुन्, भने । यी दम्पतीका विगतका कामको मूल्यांकन गर्दै उनले भने, ‘योभन्दा अघि सिताराम, कुञ्जनाको जोडीले पहाडमा खुसी छर्ने काम गरे । उनीहरूले यसपटक मुसहर बस्तीमा उज्यालो छर्दै छन् ।’ यसरी, थुप्रै ठाउँमा नमुना बस्ती बनाएर हिमालदेखि तराईसम्म ठाउँ ठाउँमा खुसी छर्न कलाकार आचार्यले यी जोडीलाई शुभकामना दिए । बस्ती निर्माणका लागि मह जोडीले १ लाख  रुपैयाँ सहयोगको वचनबद्धता पनि यी जोडीले सो कार्यक्रममा व्यक्त गरे ।

सो बस्ती निर्माणका अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बस्ती शिलान्यासमा बोल्दै नेपाली नागरिकका हैसियतले आफूले देशप्रतिको उत्तरदायित्व निर्वाह गरेको हुँ, भने । ‘म पहिलोपल्ट पूर्वपश्चिम राजमार्ग

सरसफाइका लागि यहाँ आइपुग्दा मुसहर बस्तीका बासिन्दाको अवस्था देखेर निक्कै भक्कानिएको थिएँ । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो ।’ सोही कारण सिन्धुपालचोकको गिरानचौर बस्ती निर्माण सकेर थकाइ मार्न नपाउँदै आफू यो तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेको उनले प्रस्ट्याए ।

यस्तै कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउँदा आफूहरू खुसी भएको बताइन् । उनले सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् ।यसैगरी, रामआशिष यादवले मुसहर बस्ती तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएको छ, भने । यस्ता कामले मुलुकवासीलाई जोड्ने बनाउँदै यस अभियानका लागि तराई बासीका तर्फबाट धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए ।कलाकार किरण केसीले शिलान्यास कार्यक्रममा बोल्दै सो अभियानका लागि आफूले १० हजार रुपैयाँ दिने घोषणा गरे । यस्ता कामलाई सबैले सघाउनुपर्ने उनको कथन थियो ।

बस्ती शिलान्यासका लागि पुगेका हास्य कलाकारहरू मनोज गजुरेल, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेलले पनि सो अभियानमा साथ दिने बताए ।

सितारामका अनुसार ४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांगमैत्री, बालमैत्री हुनेछ । नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिरसमेत निर्माण गरिनेछ । यसअघि हस्तान्तरण गरिएको गिरान्चौर एकीकृत बस्ती निर्माणबाट बचेको १  करोड ३ लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाइ छ ।

बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेको पनि उनले जानकारी गराए । सितारामका अनुसार पूर्वमन्त्री तथा सोही क्षेत्रका सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन् । बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ ।

Leave A Reply

Your email address will not be published.