३३ किलो सुन तस्करीमा फेरी दुई जना समातिए, डलर पनि तस्करी

gold-1

टपेन्द्र कार्की/राजधानी
काठमाडौं, २५ पुस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साताअघि ३३ किलो सुन बरामद भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिनको दायरालाई थप फराकिलो बनाउँदै पुराना फाइल पनि अध्ययन गर्न थालेको छ । सीआईबीले पछिल्ला दुई दिनमा आशंकित थप दुई व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट केही सुराक पाएपछि सीआईबीको अनुसन्धानको पाटो भारतीय व्यापारीहरूसँग संगत गरिरहेका नेपाली व्यापारीहरूसम्म पुगेको छ । दुबईबाट ३३ किलो सुन लिएर आउने गोपालबहादुर शाही र सुन लिन विमानस्थल पुगेका दुईजना दिलबहादुर थापा र सन्तोष काफ्ले पक्राउ परेपछि सीआईबी सुनका मालिकको खोजीमा जुटेको थियो । ‘अनुसन्धानका क्रममा पक्राउ परेका एकजना डलर र सुन दुवैको तस्करीमा संलग्न देखिएपछि सीआईबीको टिमले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगेको छ,’ सीआईबी स्रोतले भन्यो, ‘सुनसँगै डलर पनि तस्करी गरेको भेटियो ।’

भन्सारको आगमन कक्षमा रहेको एक्स–रे मेसिनमा रहेका कर्मचारीलाई सेटिङ गरेपछि सहजै सुन छिराउन सकिने अवस्था बनेकाले तस्करहरूले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेको प्रहरीले जनाउँदै आएको छ । त्यसक्रममा सीआईबीले सुन तस्करीमा जोसुकै संलग्न रहे पनि कानुनी दायरामा ल्याउने जनाइसकेको छ ।

सुनको वास्तविक मालिकका बारेमा प्रहरीले भारतीय व्यापारी भएको सुराक पाए पनि उनलाई सहयोग गर्ने नेपाली व्यापारी वा अन्य कोही व्यक्तिका बारेमा प्रहरी टुंगोमा पुगिसकेको छैन ।

उता, सुन लिज जाँदा पक्राउ परेका धनुषाका सन्तोष काफ्ले यसअघि पनि सुन तस्करहरूको संगतमा रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं रहेका केही गुन्डाले उनलाई छुटाउन राजनीतिक दलका नेताहरूलाई पनि अनुरोध गरेका थिए । राजनीतिक दलका नेताहरूले विषय संवेदनशील भएकाले सीआईबीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने भन्दै पन्छिएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा वीरगन्ज, विराटनगर तथा सुनसरीमा रहेका केही शंकास्पद व्यक्तिसँग सन्तोष काफ्लेको कुराकानी भएको प्रहरीले दाबी गरेको छ । सुन लिन गाडी लिएर जाने सन्तोष र दिलबहादुर थापाबीच चिनजान नभए पनि उनीहरूबीच त्यसै दिन फोनमा गरिएको कुराकानीबाटै भेट भएको हो ।

उनीहरूले नै दिएको हुलियाका आधारमा सीआईबीले दुईजनालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूलाई सार्वजनिक गरेको छैन । सीआईबी प्रवक्ता एसपी मीरा चौधरी आफंै छानबिनमा संलग्न रहेकाले उनी विगत तीन दिनदेखि मोबाइल अफ गरेर बसेकी छन् । सीआईबीले सूचना चुहावट हुने भयले अनुसन्धानमा संलग्न सबैलाई सञ्चार सम्पर्क विच्छेद गराएको छ ।

‘एक दुई दिनमै यसको अनुसन्धान सकिन्छ भन्ने अपेक्षा लिइएको छ,’ सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले भने ।

सीआईबीले यतिबेला अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग खुला सीमा भएका जिल्लाबाट बरामद भएको सुनको विवरण अवैध सुन ओसारपसार क्रममा पक्राउ परेको तथ्यलाई केलाउन थालेको छ ।

त्रिभुवन विमानस्थल, तातोपानी भन्सार, मकवानपुर र तराईका केही जिल्लाबाट ठूलो परिमाणमा सुन बरामद गर्दै आएको प्रहरीले ०६९ सालदेखि हालसम्म त्रिभुवन विमानस्थलबाट मात्रै ८६ जना सुन तस्करलाई पक्राउ गर्न सफल भएको थियो ।

एयरपोर्टमा सुनसहित समातिनेमध्ये धेरैजसो सुन तस्करले दुबई–कतारको बाटो हुँदै सुन ल्याउने गरेका छन् । यसरी, अवैध सुन ओसारपसारको प्रमाणसहित पक्राउ पर्नेमा नेपालीबाहेक भारतीय तथा चिनियाँ नागरिक छन् । २०७० पुसमा काठमाडौंबाट झापा जाँदै गरेका भारतीय नागरिक आनन्दकुमार विमानस्थलको ‘हेन्ड ब्यागेज’ चेकिङ एरियामा करिब डेढ किलो सुनसहित पक्राउ परेका थिए ।

सोही महिना दुबईबाट काठमाडौं आएका भारतीय नागरिक मुहम्मद सानोद ६ किलो सुनसहित पक्राउ परे । उनी चेकजाँच एरिया क्रस गर्दा पक्राउ परेका थिए । त्यस्तै, २०७० माघमा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक विक्रमकुमार विसनदास जुत्ताभित्र लुकाएको साढे दुर्ई किलो सुनसहित पक्राउ परे । २०७० माघमै सारजाहाबाट काठमाडौं आएका भारतीय नागरिक ओमप्रकाश विश्वकर्मा, किलीराज सिंह र रीतिराज सिंह १७ किलो सुनसहित विमानस्थलबाट पक्राउ परेका थिए । त्यस्तै, २०७० चैतमा दुर्ई किलो सुनसहित बालकृष्ण अग्रवाललाई पक्राउ गरिएको थियो ।

२०७१ वैशाखमा विमानस्थलबाट सुनसहित समातिने भारतीय नागरिकमा सुन्दुराव मालिक, आजाद सिंह, अब्दुलरफ चुमान, साफी फैजा, साजत अनुवार, लक्ष्मी सोनी र राजकुमार सोनी थिए । सीआईबीले उनीहरूको सञ्जालमा रहेका काम गर्ने नेपाली व्यापारीको कनेक्सन र त्यतिबेला खुलेका तथ्यका आधारमा अनुसन्धानलाई निचोडमा पु¥याउने जनाएको छ । ‘केही पुराना स्थापित तस्करहरूको फाइलमा पनि हामीले अनुसन्धान गरिरहेका छौं, त्यसकारण अहिले अनुसन्धान ढिलो देखिए पनि प्रभावकारी हुनेछ,’ डीआईजी सिलवालले भने ।

Leave A Reply

Your email address will not be published.