सडक कालोपत्रे नभएकोमा कालो झन्डा

ओपेन्द्र बस्नेत / राजधानी
तुलसीपुर, २६ पुस

दोघरे बालापुर सडक कालोपत्रे नभएको भन्दै स्थानीयले एक÷एक रुपैयाँ उठाएर सडक डिभिजन कार्यालयलाई दिएका छन्् । ‘सडक कालोपत्रे निर्माणमा आर्थिक घोटला, जनताद्वारा आर्थिक संकलन’ लेखिएको कालो ब्यानरसहित कालै झोलामा प्रतिव्यक्ति एक÷एक रुपैयाँ उठाएर सडक डिभिजनलाई दिइएको हो ।

aandolna

विरोधस्वरूप संकलन भएको ९ सय ९७ रुपैयाँ इकाला प्रशासन कार्यालयमार्फत डिभिजनलाई दिएको सडक संघर्ष समितिका अध्यक्ष दशरथ वलीले जानकारी दिए । तुलसीपुर–८ कृष्णमन्दिरमा भेला भएका स्थानीयले, तुलसीपुर–हापुरे सुर्खेत सडकमा चल्ने सवारी साधनमा समेत कालो झन्डा राखेका छन् । आन्दोलनबारे जानकारी गराउँदै सो सडकमा चल्ने करिब चार दर्जन सवारी साधनसमेत कालोझन्डा राखिएको अध्यक्ष वलीले बताए । स्थानीयले सो सडकमा आगामी ७ माघदेखि अनिश्चितकालीन चक्काजाम गर्ने बताएका छन् । १८ महिनाअघि कालोपत्रे गर्दागदै ३ करोड रुपैयाँ लिएर भागेका ठेकेदार काममा नफर्किएपछि स्थानीयले विभिन्न समयमा दबाब दिन विरोध गर्दै आएका छन् ।

दोघरेदेखि बालापुरसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा नेपाल प्रगति एन्ड बोखिम कन्ट्रक्सन जेभिका विनोद बोहराले लिएका थिए । २०७१ फागुन २० मा निर्माण कार्य सक्ने गरी २०७० मंसिर २१ मा नेपाल प्रगति एन्ड बोखिम कन्ट्रक्सनले साढे पाँच मिटर चौडाई र पाँच किलोमिटर लम्बाई रहेको सडक कालोपत्रे गर्न ७ करोड ४९ लाखमा डिभिजन सडक कार्यालय दाङसँग सम्झौता गरेको थियो । समयमै काम सम्पन्न गर्न नसकेपछि ६ महिना समय थपी मागेका बोहरा २०७२ असारमा काम गर्दागर्दै भागेका थिए । स्थानीय विरोधमा रहेको समयमा भागेका निर्माण व्यवसायी २१ मंसिरमा फर्किने जानकारी सडकले दिएको थियो । तर, वाचा गरेको समय एक महिना बित्दा पनि नफर्किएपछि आन्दोलनमा जानुपरेको स्थानीय जितबहादुर खड्काले बताए । यसैबीच, आन्दोलनस्थलमा पुगेर तुलसीपुर नगरपालिकाका पूर्वउपमेयर घनश्याम पाण्डेले आन्दोलतप्रति ऐक्यबद्धता जनाएका छन् । भष्ट्राचारीलाई कडा कारबाहीको माग गर्दै पूर्वमेयर पाण्डेले कालोपत्रे निर्माण कार्य यथाशिघ्र सुचारु गर्न सम्बन्धित पक्षसँग माग गरे ।

यता सडक डिभिजन कार्यालय दाङका प्रमुख श्रीबहादुर घिमिरेले सडक कालोपत्रेका लागि माघ महिनाभित्र नयाँ टेन्डर खोल्ने जानकारी दिए । सम्झौताअनुसार पटकपटक ताकेता गर्दासमेत बोहरा काममा नफर्किएकाले सम्झौता तोड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको घिमिरेले बताए । घिमिरेका अनुसार बोहराले केही काम गरिसकेकाले बाँकी काम नयाँ आउने निर्माण व्यवसायीले गर्नेछन् ।

फेरि ढाँटे निर्माण व्यवसायीले

सडक डिभिजन कार्यालयलाई पटकपटक ढाँट्दै आएका निर्माण व्यवासायीले अन्तिमपटक २१ मंसिरदेखि काममा फर्किने बताएका थिए । ‘ठेक्का तोडेर कालो सूचीमा राख्ने तयारी गरिरहेको बेला कहाँबाट थाहा पाएर सम्पर्कमा आए,’ डिभिजन प्रमुख घिमिरेले भने, ‘२१ मंसिरदेखि काम सुरु गर्छु भनेर प्रतिबद्धता पत्र उनले छोड्दा हामी त्यसैको भर प¥यौं ।’

ठेकेदार बोहराले ३ मंसिरमा डिभिजन प्रमुखका नाममा लेखेको पत्रमा तुलसीपुर– पुरन्धारा–सुर्खेत रोड विभिन्न कारणले काम सम्पन्न गर्न नसकेको उल्लेख गर्दै यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । यदि तोकेको समयभित्र काम गर्न नसके कारबाही भोग्न तयार रहेको बेहोरासहित कारबाही रोक्न माग गरेका थिए ।

सो कामका लागि निर्माण व्यवसायी बोहराले साढे ३ करोड रुपैयाँ भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ । सुरुमा ठेक्काको जिम्मेवारी लिएका नेपाल प्रगति निर्माण सेवाका सूर्य खड्काले ७ करोड ४९ लाख, रुपैयाँको १० प्रतिशतका दरले हुन आउने पेस्की स्वरूप लिएको ६४ लाख रुपैयाँ सडक डिभिजनले बोखिमका निर्माण व्यवसायी बोहराको नाममा सारेपछि समस्या उत्पन्न भएको बताइएको छ । १४ करोड लागत अनुमान गरिएको सो सडक कालोपत्रे गर्न सुरुमा ७ करोड ४९ लाखमा सम्झौता गरेका खड्काले पछि बोहरालाई जिम्मा लगाएका थिए ।

 

Leave A Reply

Your email address will not be published.