गणतन्त्रको दशक नबित्दै चर्चित पृथ्वीनारायण

टेनिस रोका, महेश्वर गौतम / राजधानी
काठमाडौं, २६ पुस

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एक दशक अवधि पुग्नै लाग्दा आज (बुधबार) २९५औं पृथ्वी जयन्ती मनाइँदै छ । २०६२÷६३ सालको जनआन्दोलनपछि पहिलो संविधानसभाबाट राजतन्त्रको विधिवत अन्त्य भएसँगै नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सालिक भत्काउनेहरूसमेत अहिले सबैभन्दा बढी प्रशंसा र सकारात्मक चर्चा गर्न थालेका हुन् ।

यस वर्षको पृथ्वी जयन्तीको विषय व्यवस्थापिका–संसद्, मन्त्रिपरिषद् बैठकदेखि राष्ट्रपति कार्यालय हुँदै विभिन्न सभा समारोह र सामाजिक सञ्जालमा व्यापक छलफलको विषय बनेको छ । पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिने विषयमै मन्त्रिपरिषद्को दुईवटा बैठकमा छलफलको विषयसमेत बन्न पुगेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले यो राजनीतिक विषय भएकाले सबैको सहमतिबिना सार्वजनिक बिदा दिन नमिल्ने अडान लिएपछि सार्वजनिक बिदा भने दिइएन ।

त्यसो त पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार शीतल निवासमा राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरी र सचेतक पर्शुराम तामाङसहितको प्रतिनिधिमण्डले सार्वजनिक बिदा घोषणाका लागि पहल गरिदिन आग्रह गर्दा राष्ट्रपतिले सो धारणा राखेकी हुन् । उनले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतीक शाहप्रति आफ्नो उच्च सम्मान रहने बताएकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पृथ्वीनारायण शाहको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार भरतपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषद्मा पृथ्वीनारायण शाहको भूमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादको व्याख्याभन्दा बाहिर गएर र इतिहासको विकास क्रमलाई नमानेको ठहरिने जिकिर गरेका छन् । नेपाललाई एकीकृत र केन्द्रिकृत बनाउन शाहले खेलेको भूमिकालाई सकारात्मक रूपमा लिन सक्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले देशको इतिहासप्रति इमानदार नागरिकले गौरव गर्नुपर्ने बताए ।

सामन्ती र केन्द्रीकृत भए पनि भुरेटाकुरे राज्यबाट बलियो राज्य बनाउने काम प्रगतिशील कदम भएको बताउँदै उनले त्यसबेला छिमेकी भारतमा अंग्रेजहरूले सानासाना राज्यहरूलाई निल्दै विशाल साम्राज्य खडा गर्दै आएको अवस्थामा नेपाल बलियो र शक्तिशाली नभएको भए देशको अस्तित्व लोप हुन सक्ने उल्लेख गरे । यद्यपि, दाहालको पार्टीले सशस्त्र विद्रोहकालमा गोर्खालगायत धेरै ठाउँमा पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्ने र साम्राज्यवादी खुनी आक्रमण गरेको भनिएको प्रसंगबारे केही बताएनन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही समय अगाडि पृथ्वीनारायण शाहको प्रशंसा गरेका थिए । चन्द्रागिरि डाँडामा पुगेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक बनाउनुपर्ने भन्दै प्रशंसा गरेका थिए । व्यवस्थापिका–संसद्मा समेत पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने भनेर आवाज उठेको छ । प्रमुख प्रतिपक्षी एमालेका पोलिटब्युरो सदस्य एवं अर्थ समितिका सभापति प्रकाश ज्वालाले राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका हुन् । संसद् बैठकको शून्य समयमा बोल्दै मंगलबार ज्वालाले राष्ट्र निर्मातालाई सम्झनु राज्यको कर्तव्य भएको जनाई सरकारसँग सार्वजनिक बिदा दिन माग गरेका थिए ।

२०६२÷६३ को जनआन्दोलनअघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष २७ पुसमा सार्वजनिक बिदा दिने गरिएको थियो । त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गरेको थियो । यस वर्ष भने पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको मागमा चौतर्फी आवाज उठेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेले त्यसमा कुनै विरोध गरेन भने नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पनि सकरात्मक रहेको प्रतिक्रिया दिए । तर, उनले बिदा दिने निर्णय भने गरेनन् ।

Leave A Reply

Your email address will not be published.