सहमति खोज्न लेखा समिति सभापति निर्वाचन स्थगित

ईश्वरी सुवेदी / राजधानी
काठमाडौं, २६ पुस

व्यवस्थापिका–संसद्को निकै महŒवपूर्ण समिति ‘सार्वजनिक लेखा समिति’ को सभापति निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।बुधबार बिहान ११ बजेका लागि निर्वाचन मिति तय भए पनि मंगलबार दिउँसो विशेष कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित गरिएको हो । एक साताअघि नै सभामुख ओनसरी घर्ती मगरले बुधबार निर्वाचन गर्न निर्देशन दिएकी थिइन् । तर, मंगलबार दिउँसो सभामुख घर्ती मगरले अनिश्चितकालका लागि भन्दै निर्वाचन स्थगित गर्न निर्देशन दिएकी हुन् । लेखा समितिको सभापतिका लागि मंगलबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिने समय तोकिएको थियो ।

सो समय नआउँदै सभामुखले लेखा समिति निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न निर्देशन दिएकी हुन् । स्रोतका अनुसार एमाले सदस्य सभापतिमा निर्वाचित हुने अवस्था आएपछि निर्वाचन कार्यक्रमलाई सहमति जुटाउने नाममा पर सारिएको हो ।

onsari-gharti

उम्मेदवारी दिनका लागि एमाले र माओवादी केन्द्रका सदस्य तयारी अवस्थामा थिए । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको राख्ने परम्परा छ ।  लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल एमालेले पाएमा एमालेका पाँचवटा सभापति हुनेछन् । माओवादीका सभापति एकजना मात्रै सीमित हुनेछन् ।  त्यसैले, लेखा समिति एमालेले पाउने हो भने अर्को कुनै समितिको सभापति छोड्नुपर्ने माओवादी केन्द्रको भनाइ छ ।

एमालेले समितिका सदस्य पशुपति चौलागाईंलाई सभापतिका लागि उम्मेदवारी बनाउने तयारी गरेको छ । माओवादी केन्द्रले भने समिति सदस्य हरिबोल गजुरेल र डोरप्रसाद उपाध्यायमध्ये एकलाई सभापति बनाउने कुरा अघि बढाएको छ ।

माओवादीमा गजुरेल र उपाध्यायले दाबी नछाडेपछि कसलाई उम्मेदवार बनाउने विवाद कायमै छ । समिति सभापतिलाई सहमतिबाटै लैजाने कुरा भएकाले सभामुखले निर्वाचन कार्यक्रम स्थगित गराएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

यता, कांग्रेसले भने आफ्नो उमेदवारी दिने बताएको छैन । एमाले र माओवादी केन्द्रलाई मिलेर जान आग्रह गरेको समितिका सदस्य रामहरि खतिवडाले बताए । लेखा समितिको सभापतिको निर्वाचनका लागि २२ पुस (शुक्रबार) निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरिएको थियो ।

जसबमोजिम लेखा समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नका लागि २५ र २६ अर्थात् सोमबार र मंगलबारको समय दिइएको हो । व्यवस्थापिका–संसद्को महासचिवको कार्यकक्ष संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दिनका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको थियो ।

उम्मेदवारी दर्ताको समय सकिएपछि मंगलबारकै बेलुका साढे ५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम थियो । बुधबार लेखा समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने गरी ११ बजे लेखा समितिको बैठक बोलाइएको थियो ।

लेखा समितिको निर्वाचन विशेष कारणबस भन्दै अर्को सूचना नभएसम्म स्थगित गरिएपछि चार महिनादेखि सभापतिविहीन भएको समितिले सभापति पाउने कुरा अझै अनिश्चित देखिएको छ । पुस महिना पनि सकिन अब तीन दिनमात्र बाँकी छ ।

गत साउनदेखि रिक्त सभापतिको निर्वाचनका लागि सभामुख ओनसरी घर्ती मगरले प्रमुख तीनदल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँगको छलफलमा लेखा समितिको सभापतिमा सहमति गर्न आग्रह गरेकी थिइन् । उनले सहमति भए पनि नभए पनि अब निर्वाचनको मिति तोक्ने जानकारीसमेत शीर्ष नेतालाई गराएकी थिइन् ।

समिति सभापति रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा गत साउनमा ऊर्जामन्त्री भएपछि समितिमा सभापति खाली छ । मन्त्री भएपछि अर्को सभापति चयन गर्ने प्रक्रिया पनि अघि नबढाइएको र ज्येष्ठ सदस्यले बैठक सञ्चालन पनि नगर्दा लामो समयसम्म समिति निष्कृय छ । सभामुखले बुधबार निर्वाचन गर्न समितिलाई निर्देशन दिएपछि केही दिनअघि मात्रै ज्येष्ठ सदस्यको सभापतित्वमा लेखा समितिको बैठक बसेको थियो ।

संसदीय समितिमा कांग्रेसले चार, एमालेले चार र माओवादी केन्द्रले लेखा समितिसहित दुई सभापति पाएका थिए भने साना दलबाट एक र राप्रपा नेपालबाट एक, फोरम लोकतान्त्रिकबाट एक सभापति छन् ।

Leave A Reply

Your email address will not be published.