रोनाल्डो बने फिफा वर्ष खेलाडी

ज्युरिच / एजेन्सी– यस वर्षबाट सुरु गरिएको फिफा वर्ष खेलाडीको अवार्ड पोर्चुगलका रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले जितेका छन् ।विश्व फुटबल महासंघ फिफाले यस वर्षबाट सुरु गरेको अवार्डमा उनले चिरप्रतिद्वन्द्वीका रूपमा हेरिएका अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनल मेसीलाई पछि पार्दै अवार्ड हातपारेका हुन् ।

ज्युरिचमा आयोजित समारोहमा ३१ वर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा उनले मेसीसहित एथ्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजम्यानलाई पछि पारे । रोनाल्डोले एक महिनाअघि मात्र बेलोन डिओर अवार्ड जितेका थिए । दुवै अवार्ड उनले २०१६ मा रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिग र पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएबापत प्रदान गरिएको हो ।

फिफामा आबद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलोपटक अनलाइन फ्यान पोलमार्फत बिजेता छनोट गरिएको हो । चार प्रकारका मतले २५,२५ प्रतिशत स्थान दिइएको थियो ।

rss_images_1484019524917_018862-01-02

रोनाल्डोले कुल मतको ३४.५४ प्रतिशत भोट पाए भने मेसीले २६.४२ र ग्रिजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए । फिफाले सन् १९५६ देखि फ्रान्स फुटबल एसोसियसनको सहकार्यमा गएको ६ वर्षदेखि बेलोन डिओरको नामबाटै अवार्ड प्रदान गर्दै आएको थियो । यो पटकबाट भने उसले आफंै अवार्ड वितरण सुरु गरेको हो ।

फिफामा गत बर्ष जियानी इन्फान्टिन्हो अध्यक्षमा निर्वाचित भएपछि वर्ष खेलाडी अवार्डमा फ्रान्ससँगको सहकार्य रद्द गर्ने घोषणा गरिएको थियो । त्यसैले, बेस्ट प्लेयर अवार्डको पहिलो संस्करण रोनाल्डोले हात पार्न सफल भए ।

अवार्ड पाएपछि उत्साहि देखीएका रोनाल्डोले भने ‘यो मेरो अहिलेसम्मकै उत्कृष्ट बर्षको रूपमा रह्यो ।’, अवार्ड पाएपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने, ‘पोर्चुगलका लागि युरो जित्नु सानदार थियो । त्यस्तै, म च्याम्पियन्स लिग र फिफा क्लब विश्वकपको उपाधिलाई पनि बिर्सन सक्दिन ।’

त्यस्तै, फिफाको उत्कृष्ट महिला खेलाडीको उपाधि अमेरिकी स्टार कार्ली ल्योडलाई प्रदान गर्ने निर्णय गरेको छ । ३४ वर्षीय ल्योडले ओलम्पिक विजेता जर्मनीकी मिलानी बेरिंगर र पाँचपटककी उत्कृष्ट खेलाडी मार्तालाई पछि पारेकी हुन् ।

ल्योडले २०.६८, मार्ताले १६.६० र बेरिंगरले १२.३४ प्रतिशत भोट पाएका थिए । ‘मलाई यो अवार्डमा विश्वासै थिएन्, तर म निकै खुसी छु,’ उनले भनिन्, ‘मलाई थाहा छ बेरिंगरले २०१६ ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छन् ।’

फिफा उत्कृष्ट खेलाडी (पुरुष)  क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

फिफा उत्कष्ट खेलाडी (महिला) कार्ली ल्योड(अमेरिका)

फिफा उत्कष्ट प्रशिक्षक (पुरुष) क्लाउडिओ रिनेरी (इटाली)

फिफा उत्कृष्ट प्रशिक्षक (महिला)     सिल्भिया नेइड (जर्मनी)

फिफा उत्कृष्ट गोल ‘पुस्कल अवार्ड’        मोहम फइज सुब्री (मलेसिया)

फिफा फेयर प्ले अवार्ड       एथ्लेटिको नाकिनोल (कोलम्बिया)

अविश्वसनीय रूपमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएका लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडिओ रिनेरी उत्कृष्ट प्रशिक्षक चुनिए । उनले २२.६ प्रतिशत मत पाएका थिए । उनले रियलका जिनेदिन जिदान र पोर्चुगलका फर्नाण्डो सान्तोषलाई पछि पारे ।

त्यस्तै, उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जर्मनीकी सिल्भिया नेइडले पाइन् । ११ वर्षदेखि जर्मनीको प्रशिक्षक रहेकी उनले गत वर्ष टिमलाई ओलम्पिकमा स्वर्ण दिलाएकी थिइन् । वर्षको उत्कृष्ट गोल गरेबापत पाइने पुसकास अवार्डबाट मलेसियाली स्ट्राइकर मोहम फइज सुब्री सम्मानित भएका छन् ।

मलेसियन सुपर लिगअन्तर्गतको खेलमा उनले ३५ यार्डबाट प्रहार गरेको फ्री–किकले पोस्टको दिशा लिएपछि उनी निकै चर्चित बनेका थिए । उनले मार्लोन र दानिउस्का रोड्रिग्वेजलाई पछि पार्दै ५९.४६ प्रतिशत मत पाएका थिए ।

त्यस्तै, वर्षको फेयर प्ले अवार्ड कोलम्बियाको एथ्लेटिको नाकिनोललाई प्रदान गरिएको छ । कोपा सुदामेरिकानाको फाइनल खेल्न कोलम्बिया जान लागेको ब्राजिलियन क्लब चापेकोएन्सी टिम जहाज दुर्घटनामा परेपछि नाकिनोलले प्रतियोगिताको उपाधि चापेकोएन्सीलाई दिन आयोजकलाई आग्रह गरेको थियो । त्यस्तै, फिफाले उत्कृष्ट ११ सार्वजनिक गरेको छ, जसमा रियल म्याड्रिडबाट पाँच, बार्सिलोनाबाट चार, युभेन्टसबाट एक र बार्यन म्युनिखबाट एक खेलाडी परेका छन् ।

Leave A Reply

Your email address will not be published.