थारू समुदायमा छायो ‘माघी’ को रौनक : कतै हर्ष, कतै बिस्मात

नीरज गौतम / रासस
नेपालगन्ज, २६ पुस

माघ लहइली सुरिक सिकार खइली रे हाँ

सखी अई हो माघ के पिली गुरी गुरी जाँर

सकिरी गलियावामा लगल बजरिया रे हाँ

सखी अई हो लानी दे हो भाटु नथिया बजार

सालिक नथिया भै ल रे महान्…’ यो गीत अहिले थारू समुदायका घरआँगन अनि बस्तीमा गुञ्जायनमान भएको छ । वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै आप्mनो गाउँघरदेखि पारिवारिक मिलनको उत्साह र उमंगले नेपालका आदिवासी थारू समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ ।

२९ पुसबाट सुरु हुने साताव्यापी यस पर्वमा थारू समुदायले कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ ।माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा, खेतीपातीको वार्षिक योजना बनाउनुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्छन् ।

dsc00460

सो समुदायले माघी पर्वका अवसरमा ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारू अगुवा शिक्षक कालीचरण चौधरी बताउँछन् । उनका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भनिन्छ । त्यस रात थारू समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् ।माघीका दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोहोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का (पैसा) लुटाउने प्रचलन रहेको थारू समुदायका अगुवा विश्वराज पछलडंग्याको भनाइ छ ।

माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारू समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । पर्वका अवसरमा थारू समुदायले आआफ्नो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् । त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बाँकेको बैजापुर गाविसस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्दछ ।थारू समुदायले माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाइरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ सो समुदायका मुक्त कमैयाको मुहारमा अझै थुप्रै पीडा लुकेको देख्न सकिन्छ ।

कमैयामुक्ति घोषणाको सात वर्ष प्रवेशको अवधिमा पनि मुक्त कमैयाको पुनःस्थापना अझै हुन नसक्दा उनीहरू रमाउन भने सकेका छैनन् । अभैmसम्म गाँसबासको समस्या झेलिरहेका मुक्त कमैयाका लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरू बताउँछन् ।

सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । ‘जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम नल्याएपछि हामी बिचल्लीमा परेका छौं,’ बर्दिया जिल्ला बबई नगरपालिका निवासी मुक्त कमैया सोहन थारूको गुनासो छ ।

जिल्ला भूमिसुधार कार्यालयले यस जिल्लाका सिफारिस गरिएका सबै १ हजार ८ सय ३६ मुक्त कमैयालाई सरकारले जग्गाधनी लालपुर्जा उपलब्ध गराएपछि विसं २०६६‘कमैया नभएको जिल्ला’ घोषणा गरिएको थियो । बाँके जिल्लालाई ‘कमैया मुक्त जिल्ला’ घोषणा गरिए पनि अधिकांश मुक्त कमैयाले अझै पनि गाँसबासको समस्या झेलिरहेको पाइन्छ, थुप्रै मुक्त कमैयाको अझै पुनःस्थापना हुन सकेको छैन ।

‘जिल्लामा अझै ३ हजारभन्दा बढी मुक्त कमैया रहेकाले उनीहरूलाई पुनःस्थापना गराउन सरकारले तत्काल जग्गाको छुट लगत दिनुपर्छ,’ मुक्त कमैया अगुवा फत्तु थारूको भनाइ छ । जिल्ला भूमिसुधार कार्यालयमा जग्गाका लागि परेको दरखास्तमध्ये ८ सय ९२ मुक्त कमैयाको दरखास्त अझै छानबिन गर्न बाँकी रहेको जनाइएको छ ।

सरकारको निर्णयअनुसार, त्यसबेला कार्यालयले जिल्लाका मुक्त कमैयालाई चार श्रेणी (जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कट्ठाभन्दा कम जग्गा भएका र दुई कट्ठाभन्दा बढी जग्गा भएका) मा विभाजन गरी कुल २ हजार २ सय ६७ मुक्त कमैयामध्ये माथिल्लो दुई श्रेणीका मुक्त कमैयालाई मात्र पाँच धुरदेखि पाँच कट्ठासम्म जग्गा उपलब्ध गराई जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो । जग्गा पाएका मुक्त कमैया पनि अहिले सन्तुष्ट छैनन् ।

‘जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौं,’ मुक्त कमैयाहरूको गुनासो छ ।त्यसो त, त्यस बेलाको सरकारले जिल्ला भूमिसुधार कार्यालयमार्फत जग्गा प्राप्त गरेका मुक्त कमैयालाई घर निर्माणका लागि काठ र ८ हजार नगदसमेत उपलब्ध गराएको थियो भने उनीहरूका लागि सञ्चालन गरेको स्वरोजगारमुखी तालिमले अहिले पनि निरन्तरता दिइएको कार्यालयका प्रमुख, प्रेमबहादुरदल्यालको भनाइ छ ।

आफ्नो गाउँको छिमेकीको घरमा माघीको उन्मुक्त उत्साह देख्दा मुक्तहरू आप्mनो भाग्यलाई नै दोषी मान्छन् । ‘के गर्ने हजुर भाग्यमा जे छ, त्यसैलाई स्विकार्नुको अरू विकल्प के नै हुन्छ र ?’ बाँके जिल्ला बैजापुर धामपुरका मुक्त कमैया रामआसरे चौधरीको बिलौना छ ।मुक्त कमैयाको सम्मानजनक गाँस, बास, कपासको व्यवस्था हुनुपर्ने, ऐलानी, जंगलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएका आफूहरूलाई सरकारले पुनःस्थापना गर्नुपर्ने उनीहरूको माग छ ।

Leave A Reply

Your email address will not be published.