देवत्वकरण कि इतिहासको समीक्षा ?

देवत्वकरण कि इतिहासको समीक्षा ?

raju

 

राजु पौडेल

कठ्यांग्रिने जाडो, २७ पुसको विशेष अर्थ थियो, त्यतिखेर । एकजना इतिहास बोकेको मान्छेको चोर औंला ठड्याएको चित्र टेबुलमा राखेर गुरुहरूले माल्यार्पण गर्ने कार्यक्रमको दर्शकदीर्घामा हामी विद्यार्थी । गुरुहरूले जे आज्ञा गर्नुहुन्छ, शिरोपर गर्नु हाम्रो धर्म । अपरिपक्व बाल्यकाल धेरै गन्थनमन्थन नबुझिने । लाग्थ्यो, यत्ति ताली मात्र बजाउनलाई यो जाडोमाकिन बोलाउनुपरेको ? भित्रभित्र राजनीतिक स्वतन्त्रताका पक्षमा जनमत दह्रिलो बन्दै गएको थियो । त्यो प्रचलन गाउँकै विद्यालयमा पनि लामो समयसम्म टिक्न सकेन । देशमा भइरहेको तीव्र राजनीतिक परिवर्तन व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृतिको विरोधी थियो, सायद ।

तत्कालीन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मोत्सव त्यो रूपमा मनाउन छाडियो । झन्डै दशकअघि शाहवंशीय लामो सत्ता परम्परा च्यूत भयो सँगसँगै पुस २७ गुमनाम बन्यो । अचेल अर्को बहस प्रारम्भ भएको छ । २७पुस, एउटा ऐतिहासिक व्यक्तिले यो नेपाली सीमाभित्र नेपाली माटोमा पाइला टेकेको दिन । राष्ट्र एकीकरणका लागि तत्कालीन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले खर्चेको योगदानको स्मरणसहित यो दिनलाई विशेष रूपले सम्झनुपर्छ ।

विसं १७७९ पुस २७ गते तत्कालीन गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मेका सुरवीर यी सन्तान आधुनिक नेपालका अधिष्ठता हुन् । विसं १८२५ बाट गणना हुने आधुनिक नेपालका पिता हुन् । आप्mनै मौलिक शैलीद्वारा भुरेटाकुरे राज्यमा विभाजित खण्ड–खण्ड राज्यलाई एकताको सूत्रमा बाँध्ने एक महान् पुरुष हुन् । यति ठूलो सम्मान पाउने सम्भवतः नेपालकै पहिलो व्यक्ति हुन्, उनी । पृथ्वीजयन्तीका अवसरमा मनाइने उत्सवमा सायद यस्तै शब्द बोलिन्थ्यो होला, त्यतिखेर तर मानसपटलमा सुरक्षित गर्ने हाम्रो मानसिक ल्याकत पुगेको थिएन ।

पृथ्वीनारायणको भूमिका

हिन्दुस्तानलाई एकीकरण गरेको श्रेय बेलायतले पाइरहेको छ । राष्ट्रिय स्वाधीनताका हिसाबले नेपालभन्दा झन्डै २ सय वर्ष कान्छो आजको हिन्दुस्तानका नायक महात्मा गान्धी हुन् । गान्धीलाई आज विश्वले चिन्छ, मान्छ र सम्मान गर्छ तर, गान्धी स्वयंले आजको विशाल हिन्दुस्तानलाई एकीकरणको सूत्रमा बाँधेका होइनन् । बेलायतको औपनेवेशिक पन्जाबाट मुक्त गरेका हुन् । हिन्दुस्तानलाई औपनिवेशिक पन्जामा लिन सफल इस्ट इन्डिया कम्पनीको नेपालप्रतिको अभिष्ट असफल गराउने उनै पृथ्वीनारायणलाई लोकले बिर्सनुपर्ने खास अन्तर्य खोतल्दै छ, यस समाजले । कम्तीमा नेपाली हुँ भन्नेले यसलाई पुनः एकपटक गम्भीरतापूर्वक मनन् गर्नुपरेको छ ।

मौलिक अभियानबाट सिंगो राष्ट्र बनेका विश्वका १७ देशमध्ये नेपाल एक हो । नेपाल र नेपाली इतिहासलाई यस्तो दुर्लभ विरासत दिलाउने नेपाली सारथीप्रति यतिबिघ्न कठोर बन्न सायदै धेरै थोरै नेपालीको अन्तस्करणले मात्र स्वीकार गर्न सक्ने कुरा हो । पृथ्वीनारायणको सालिक ढालेर खुसीले उफ्रँदै जुद्धशम्शेरको सालिक परिक्रमा गर्नेले पृथ्वीनारायणको एकीकरण अभियानलाई झनै बढी मनन् गर्नुपर्छ । पूर्व टिस्टा, पश्चिममा किल्ला काँगडा देशको आधुनिक सिमाना पढेर शिक्षित भएका हामी धेरै छौं । छोटो समयको अन्तरालमा यो सिमाना किन खुम्चियो ?

महाभारत वनपर्वमा नेपाललाई जिल्लाका रूपमा वर्णन गरिएको छ । पृथ्वीनारायण शाहको एकीकरण साकार नहुनञ्जेलसम्म जिल्लाको परिचय सानासाना थुम–टाकुरे राज्यले ओगटेका थिए । हामी पृथ्वीजयन्ती मनाउने कि नमनाउने भन्ने द्विविधामा छौं । अहिलेजस्तै नेतृत्वको अभाव त्यस बेलामा हुन्थ्यो भने सायदै यो सानो भूपरिवेष्ठित भू–खण्डलाई एक स्वतन्त्र हिमाली राज्य भनेर कमै विश्वले चिन्थ्यो ।

देवत्वकरण कि इतिहासको समीक्षा

झन्डै ५ हजार वर्षअगाडिका कृष्ण, राम आदिको नाम आज भगवानका रूपमा पूजनीय–बन्दनीय छ । सायद, अर्जुनको अर्जुनदृष्टिविना यी कोही पनि भगवान हुने थिएनन् । तर, हमेशा ख्याल गर्नुपर्छ कि अर्जुनलाई नेतृत्व दिने कृष्ण थिए । गिर्वाणबिक्रमसम्मले धानेको एकीकरण अभियानमा बहादुर शाहको मुख्य भूमिका छ । भनिन्छ, इतिहास जित्नेले लेख्छ । एकीकरण अभियानमा पृथ्वीनारायणको भन्दा अहम् भूमिका बहादुर शाहको थियो भन्नेहरू पनि छन् । यद्यपि, एकीकरणका रचयिता पृथ्वीनारायण नै थिए, जसको सौद्वान्तिक जगमा एकीकरण अभियानले लामो अध्याय पार ग¥यो, जुन इतिहास हो, जसलाई अनुसरण गर्नुपर्छ । पृथ्वीनारायणलाई देवत्वकरण गर्न खोजेको भन्ने आशंका राख्नेले बुझ्नुपर्दछ, उनलाई देवत्वकरण गरेर भगवान कृष्णको स्थानमा प्रतिस्थापन गर्न खोजिएको होइन । संघीयताको मुद्दाले अनिर्णयको बन्दी बनेको नेपाली राजनीतिलाई आफ्नै राष्ट्रको गौरवपूर्ण इतिहास कम्तीमा एकदिन मात्र भए पनि स्मरण गर भन्न मात्र खोजिएको हो ।

पृथ्वीनारायणलाई दोषी देख्नेले इतिहासमा रोम उदयको दृष्टान्त पढून् । हेलियोथिक संस्कृतिअन्तर्गत चातुर्दिक मन्दिरमा मानव बलि टक्र्याउने पुजारी–शासक व्यवस्थालाई हेरून् । यसरी, बलि चढ्न निर्धन काला वर्णका मानिसहरू कसरी विवश बनाइए ? विश्वमा कैयन् यस्ता उदाहरण छन्, जहाँ ठूलाठूला सत्तापलटमा धर्म झोसिएको छ । धर्मको आडमा अदृश्य सीमित वर्गको राजनीतिक स्वार्थ पूरा भएको छ । तत्कालीन नेपालमाथि पश्चिमा धार्मिक चेष्टाको तेजोबध पृथ्वीनारायणले त्यस समयमा कसरी गरे होलान् ? भर्खरै एउटा दैनिक पत्रिकामा लामो आलेख प्रकाशित भएको छ । आजभन्दा अढाइ सय वर्षभन्दा अघि नेपालका निश्चित जातिलाई किपट जग्गा प्रदान गर्ने र मन्दिरका सन्त–महन्तलाई कुशबिर्ता दिँदा सम्बन्धित भाषामा लालमोहर बक्सने शासक कबिलाको नाइके हुन् भन्नेले दोस्रो प्युनिक युद्धपछाडि रोम साम्राज्यका आमनागरिकको अवस्था कुनै आग्रह–पूर्वाग्रह नराखी हेर्दा हुन्छ ।

एकताको सान्दर्भिकता

पृथ्वीनारायणले सत्ता नियन्त्रणमा लिए । एकीकृत राज्यव्यवस्थामा सीमिति वर्गका मान्छेले असीमित सुविधा भोगचलन गर्ने सुविधा पाए । यो सत्य हो, जुन आजसम्मको राजनीतिक व्यवस्था परिवर्तनले पनि फेर्न सकेको छैन । तर, पृथ्वीनारायण यस्ता कुरामा निकै सचेत थिए भन्ने कुरा उनकादिव्यउपदेशहरूबाट पनि प्रस्ट हुन्छ ।कूटनैतिक चातुर्य पृथ्वीनारायणको अर्को विशेषता थियो । शक्तिसम्पन्न परिवारबीचको झैझगडा र वैमनस्यले राष्ट्र र राष्ट्रियता कमजोर हुन्छ भन्ने दिव्यज्ञान उनले कसरी प्राप्त गरे होलान् ? ‘पाँडेको ढाल बस्न्यातको तरबार’ यो दिव्यउपदेशले तत्कालीन शक्तिसम्पन्न परिवारको ऊर्जालाई राष्ट्र र राष्ट्रियताको जगेर्नामा लगाउनुपर्छ है भन्ने प्रेरणा प्रदान गरेको छ । खोई हामीले यो बुझेको ? मानिलिनुहोस्, उहिलेको परिवार अहिलेको दलीय व्यवस्था हो । यो दलीय संरचनामा त्यो मिलन खोज्ने कि नखोज्ने ?

नेपालको राजनीतिक अस्थिर मात्र छैन । नेपालले आफैं निर्णय गर्न पाउने स्वाभाविक धेरै अधिकारमा अस्वाभाविक कटौती भएको छ । एकीकरणपूर्वका घटना परिघटनालाई नियाल्ने हो भने पृथ्वीनारायण यसभन्दा पनि गहिरो संकटबाट मुक्त भएका छन् । संकटमोचनको एक अद्भूत कला पारस्परिक एकतामा मात्र सम्भव छ भन्ने कुरा अब हाम्रो राजनीतिक प्रणालीले बुझ्नुपर्दछ ।

अन्तमा, किताबमा छापेको र टेबलमा माल्यार्पण गर्दै गरेका बखत देखेका पृथ्वीनारायण समयको अन्तरालमा पूर्णकदको मूर्तिमा देख्ने सौभाग्यप्राप्त हाम्रो पुस्तासम्मलाई उनका विचारको सान्दर्भिकता अझै सकिएको छैन । पूर्ण कदलाई तोड्यौं, फोड्यौं तर इतिहास त्यसरी नामेट हुँदैन । एकात्मक राज्यव्यवस्थाका नाइके उनले प्रतिपादन गरेको व्यवस्था अहिले विस्थापित भइसकेको छ । तर, व्यवस्था परिवर्तनसँगै आमनागरिकको अवस्थामा ताŒिवक फेरबदल आइसकेको छैन । इतिहासको संरक्षण गरौं, भूमिकाको कदर गरौं । आखिर देशको इतिहास हामी सबैको साझा सम्पति हो ।

नेपाल र नेपाली इतिहासलाई यस्तो दुर्लभ विरासत दिलाउने नेपाली सारथिप्रति यतिबिघ्न कठोर बन्न सायदै धेरै थोरै नेपालीको अन्तस्करणले मात्र स्वीकार गर्न सक्ने कुरा हो ।

 

Leave A Reply

Your email address will not be published.