सिमलचौरमा माघे संक्रान्ति महोत्सव

पोखरा / रास– महानगरपालिकामा प्रवेश गरिसकेको सुन्दर एवं पर्यटकीय नगरी पोखराको मध्यभागमा पर्ने सिमलचौर यतिखेर आफ्नो पहिचानको खोजीमा छ । पोखरा भन्नेबित्तिकै एकताक पुरानो बजारका रूपमा चिनिन्थ्यो, सिमलचौर । सरसामान किनबेचको थलो थियो यो ठाउँ । यद्यपि, अहिले बजार सरेर महेन्द्रपुल, नयाँबजार र न्युरोड पुग्यो ।

सिमलैसिमलका रूख र ठूलाठूला चौर भएका कारण सिमलचौर नामकरण गरिएको यो क्षेत्रमा मठमन्दिर र सभ्यताका सूचक अझै पनि छन् । स्थानीय कला, संस्कृति, मौलिक जीवनशैलीलाई जीवन्त बनाउँदै सिमलचौरलाई चिनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–८ स्थित स्थानीय जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको आयोजना तथा स्थानीय सम्पूर्ण संघ÷संस्था, टोल विकास, आमा समूह, क्लबलगायतको स्थानीय संयोजनमा माघेसंक्रान्तिको अवसरमा मेला हुने गरेको छ ।
२०७० सालमा पहिलोपटक माघे संक्रान्ति महोत्सव आयोजना गरिएकोमा दोस्रो वर्ष २०७१ मा यसलाई निरन्तरता दिइयो । तेस्रो वर्ष नेपालमा आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दी असरले गत वर्ष महोत्सव हुन सकेन । माघेसंक्रान्ति नजिकिँदा यस वर्ष भने स्थानीयवासी महोत्सव मूल आयोजक समिति गठन गरी आवश्यक तयारी तीव्र पारेका छन् ।
महोत्सव मूल आयोजक समिति संयोजक गणेशबहादुर अधिकारीले पोखरामा अन्य क्षेत्रको तीव्र भए पनि पुरानो बजार सिमलचौरको अपेक्षाकृत विकास हुन नसकेकोमा चिन्ता जाहेर गर्दै महोत्सवले यहाँको चिनारी र विकासमा मद्दत पुग्ने बताए ।
महोत्सव तयारबारे जानकारी दिन पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले महोत्सवमा पुरातन चिजहरू, मठमन्दिरको दर्शन, स्वस्थानी व्रतकथा श्रवण, विभिन्न जातजातिका सांस्कृतिक नृत्य, कलाकारको प्रस्तुति, स्थानीय पहिचानलाई उजागर गर्ने कार्यक्रमलगायत हुने बताए । महोत्सवका परिकल्पनाकार रहेका कार्यसम्पादन मूल समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेले पोखरामा महिनैपिच्छे एकै प्रकृतिका महोत्सव हुने गरे यो महोत्सव फरक खालको हुने दाबी गरे ।

Leave A Reply

Your email address will not be published.