साहस ऊर्जामा सेयर विवाद

राजधानी समाचारदाता
काठमाडौं, २६ पुस

साहस ऊर्जा लिमिटेडले तेस्रो साधारण सभाका क्रममा संस्थापक सेयरधनीलाई ४० प्रतिशत सेयर थप गर्न नदिने निर्णय गरेपछि विवाद सुरुभएको छ । साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले कम्पनीको वार्षिक प्रतिवेदन पेस गर्दै आयोजनाको कार्य प्रगतिबारे सेयरधनीलाई जानकारी गराउँदै संस्थापक सदस्यहरूले सुरुमा जम्मा गरेको ६० प्रतिशत सेयरलाई नै सय प्रतिशत मान्न गरेको आग्रहलाई सेयर सदस्यहरूले विरोध गर्दा गर्दे थप सेयर नदिने निर्णय गरेका थिए । झन्डै हजार सेयर सदस्य सुरुमा उपस्थित रहे पनि अधिकांश सदस्यहरू हिँडिसकेपछि सो निर्णय गर्न हलसमक्ष प्रस्ताव गर्दा उपस्थित सेयर सदस्यहरूले विरोध गरेका थिए ।
आयोजना प्रभावित जिल्लाका जनतालाई समेत गुमराहमा राखेर आयोजन बनाउन खोजेको भन्दै जिल्लावासीलाई समेत सो साधारण सभामा आफ्ना धारणा राख्न नदिई साधारण सभा सम्पन्न भएको घोषणा गरिएको थियो । साधारण सभामा जिल्लावासीका तर्फबाट जिल्लाका सबै नागरिकलाई सेयर उपलब्ध गराउन माग गरिएको थियो । आयोजना प्रभावित क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने र जिल्लाका सबै नागरिकलाई सेयर दिनुपर्ने माग थिए ।
अध्यक्ष पाठकले साहस ऊर्जाले निर्माण गर्न लागेको
८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी आयोजना निर्माणको काम सुरु भइसकेको जानकारी दिए । आयोजना निर्माण गर्न आवश्यक लगानी जुटाउन नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा विभिन्न बैंकको सामूहिक लगानी (सहवित्तीयकरण) मार्फत कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँको ७० प्रतिशत ऋण लिने विषयमा सम्झौता भएकाले बाँकी ४० प्रतिशत रकम संस्थापक सेयरका लागि धेरै भएको बताउँदै नदिने बताएका थिए ।
उपस्थित सेयरधनीहरूले अँध्यारो बेलामा आफूको पैसामा टेकेर बैंकको लगानी जुटाएपछि उज्यालो हुँदा ठगी गर्न खोजेको भन्दै यो निर्णय लागू भए आफूहरूले अदालतको ढोका ढक्ढक्याउनेसमेत बताएका थिए । सोलुमा रहेका राजनीतिक दल र प्रशासनिक नेताहरूलाई आर्थिक प्रभावमा पारी उनीहरूले जनताको स्रोत साधनमाथि खेलाँची गर्न स्थानीय जनताको भनाइ छ ।
सोमबार सम्पन्न साधारण सभामा सोलुवासीको न्यून उपस्थिति रहेको थियो । माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद गोपाल गिरीले स्थानीय बासिन्दाको समस्या समाधान नगरी आयोजना अगाडि बढ्न नसक्ने बताएका थिए । त्यस्तै, एमाले सोलु जिल्ला कमिटीका उपाध्यक्ष डुफकुमार बाँस्तोलाले सोलुवासीलाई सेयर उपलब्ध नगराई एकैपटक सर्वसाधारणका लागि मात्रै सेयर दिने कुराले समस्या उत्पन्न गरेको बताएका छन् ।
‘आयोजना सफल बनाउन जनताको साथ चाहिने भएकाले सोलुको प्राकृतिक स्रोतसाधनको प्रयोग गर्ने तर जनताले त्यसको उपभोग गर्ने परिस्थिति बनेन भने राजनीतिक दलहरू टुलुटुलु हेरेर बस्दैनन् जनताले उठाएका जाहेज मागलाई स्थापित गर्न जुनसुकै कदम चाल्नेछन्,’ एमाले सोलु उपाध्यक्ष बाँस्तोलाले भने ।

Leave A Reply

Your email address will not be published.