नवलपरासीमा मात्रै सय टन तरुल उत्पादन

माघे संक्रान्तिमा मात्रै ६० टन तरुल काठमाडौंतिर

रामकुमार श्रेष्ठ / राजधानी
नवलपरासी, २६ पुस

नवलपरासीमा मात्रै यस वर्ष सय टनभन्दा बढी तरुल उत्पादन भएको छ । तीमध्ये करिब ६० टन तरुल माघे संक्रान्तिलाई लक्षित गरी काठमाडौं पठाइएको छ । माघे संक्रान्तिमा तरुल खाने परम्परा रहेको छ । नवलपरासीको पहाडी क्षेत्रमा उत्पादित तरुल कावासोती हुँदै झन्डै ६० टन तरुल काठमाडौं पठाइएको हो । थोक व्यापारीहरूले गाउँगाउँ गएर तरुल खरिद गरी काठमाडौं लगेका हुन् ।

tarul-2tarul-1tarul
नवलपरासीमा यस वर्ष १ सय टनभन्दा बढी तरुल उत्पादन भएकोमा ६० टन काठमाडौं पठाइएको छ भने बाँकी चितवनको नारायणगढ, पोखरा, बुटवललगायतका सहरहरूमा खपत हुने गर्दछ । तरुल खरिद गर्न व्यापारीहरू गाउँगाउँ पुगेका छन् ।  नवलपरासीका पहाडी गाविस जौबारी–५ का किसान एवं व्यापारी लालबहादुर सारु मगरले नवलपरासीको जौवारी, रुचाङ, धौवादी, अर्खला, नरम, देउरालीलगायतका गाविसमा तरुल खेती राम्रो हुने गरेको बताए । उनले आफूले गाउँमा गएर ४० देखि ५० रुपैयाँ प्रतिकिलोग्रामका दरले खरिद गरेर ल्याएको र काठमाडौंमा पठाइएको बताए ।

त्यस्तै, अर्का व्यापारी इनबहादुर सिंगाली मगरले आफूले गाउँगाउँमा गएर तरुल खरिद गरेको र काठमाडौं पाएको बताए । उनले गाउँघरमा हात्तीपाइले तरुल प्रतिकिलो ६० रुपैयाँसम्ममा खरिद गरेर काठमाडौंमा ८५ रुपैयाँसम्ममा बिक्री गरेको बताए ।  कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीले तरुल कावासोतीमा जम्मा गरेर काठमाडौं, पोखरा, नारायणगढ, पोखरासम्म लैजाने व्यवस्था मिलाइदिएको छ । गत वर्ष ४० टन तरुल काठमाडौं पठाइएको र यस वर्ष ६० टन पठाइएको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले बताए ।  नवलपरासीको पहाडी क्षेत्रको पाखो बारी, डिल, आली तथा कान्लाहरूमा लगाइने यो तरुल बाली नवलपरासीको पहाडी क्षेत्रमा राम्रो उत्पादन हुने गरेको र यो नगदी बाली रहेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।
तरकारीमा मिसाएर खान पनि मिल्ने र त्यसै उसिनेर पनि खान मिल्ने तरुल यो तरुल माघे संक्रान्तिमा बिहानै नदी, घाट तथा त्रिवेणीमा स्थान गरी घिउ, चाकु, तिलको लड्डु र तरुल खाने धार्मिक परम्परा रहेको छ । जसले गर्दा पनि माघे संक्रान्तिलाई लक्षित गरी तरुल बजारमा लग्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.