भारु नोट सटहीबारे छलफल गर्न आज दिल्ली जाँदै नेपाली टोली

काठमाडौं / रास— भारत सरकारले प्रतिबन्ध लगाएका हजार र ५ सय दरका भारु नोट सटहीको समस्या समाधानका लागि पहल गर्न नेपाली टोली बुधबार (आज) भारत जाने भएका छन् ।

अघिल्लो साता औपचारिक रूपमा भारु नोट सटहीका बारेमा छलफल गर्न भारतले बोलााएपछि नेपाली टोली त्यसतर्फ जाने भएको हो । ठूला दरका भारुमा प्रतिबन्ध लागेसँगै लामो समयसम्म कुनै प्रतिक्रिया नदिएको भारतले अहिले छलफल गर्न सकारात्मक संकेत देखाएकाले नेपाली टोली भारत जाने भएको हो । अर्थ मन्त्रालयले गत १ पुसमा समिति गठन गरेको थियो । समिति गठनपछि भारतीय पक्षसँग छलफल गर्न समय माग्दा भारतीय पक्षले कुनै जानकारी दिएको थिएन । यतिबेला भारतले छलफलका लागि डाकेपछि नेपाली टोली भारत जान लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

भारु सटहीका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित समिति भारत जाने भएको हो । समितिमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव, राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख तथा दुईजना विज्ञ सहभागी भएका छन् ।

भारतले हजार र ५ सय दरका भारु नोटमा प्रतिबन्ध लगाएसँगै नेपालमा समस्या चुलिएपछि प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री कृष्णबहादुर महरा, राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयलगायत सरोकारवाला निकायहरूले भारु नोट सटहीका लागि पटकपटक आग्रह गरेका थिए । यसपालिको छलफलपछि भारु नोट तत्काल साटिने हो वा होइन भन्ने यकिन भने छैन ।

 

Leave A Reply

Your email address will not be published.