ऊर्जामा लगानीको होड एक दिनमै १९ करोडको प्रतिबद्धता

राजधानी समाचारदाता
काठमाडौं, २६ पुस

सरकारले जलविद्युत् आयोजनामा लगानीका लागि गरेको आह्वानअनुसार मंगलबार पहिलो दिन इच्छुक व्यक्ति, संस्था तथा निकायले १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँबराबरको प्रतिबद्धता जनाएका छन् । कुल ३ हजार २ सय ६४ आवेदनबाट सो रकमको प्रतिबद्धता जनाइएको हो ।

‘नेपालको पानी जनताको लगानी’ नाराका साथ ऊर्जा मन्त्रालयले सर्वसाधारणदेखि कम्पनीसम्मले जलविद्युत्मा लगानी गर्न पाउने गरी सोमबार सार्वजनिक गरेको वेबसाइटको अनलाइन फारम भरेर प्रतिबद्धता जनाएका हुन् । ऊर्जा मन्त्रालयका अनुसार व्यक्ति, संस्था वा कम्पनीले आफ्नो ठेगाना र रकम खुलाएर जलविद्युत्मा लगानी गर्न सक्ने गरी ऊर्जा मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रस्ताव आह्वान गरेको थियो ।

पहिलो दिनमै यति धेरै रकमको प्रतिबद्धता आउनुलाई मन्त्रालयले उत्साहजनक मानेको छ । लगानी प्रतिबद्धता रकम कोष बनाएर व्यवस्थित गर्ने मन्त्रालयले जनाएको छ । सरकारले जलविद्युत आयोजना निर्माण गर्न सर्वसाधारणसँग लगानी प्रतिबद्धता माग गरेको अनुसार आवेदन आएको हो ।

जलविद्युत् आयोजनाहरू आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजनाअनुसार ऊर्जा मन्त्रालयले अनलाइनमार्फत सर्वसाधारणसँग लगानी प्रतिबद्धता माग गरी पैसा प्रयोग गर्न लागेको हो ।

यसका लागि मन्त्रालयले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरूबाट समेत नेपालको आयोजनामा लगानी गराउने लक्ष्य लिएको छ । त्यसको सुरुआत गर्दै पहिलो चरणमा अनलाइनमार्फत लगानी प्रतिबद्धता मागिएको ऊर्जामन्त्री जनार्दन शर्माले बताए । मन्त्री शर्माका अनुसार सर्वसाधाणको पैसा विभिन्न नौवटा आयोजनामा लगानी गरिनेछ ।

ती आयोजनामा अपर अरुण,  दूधकोसी,  तमोर,  सुनकोसी–३,  लाङटाङ,  नलसिंहगाड,  उत्तरगंगा, नौमुरे र तिला–१ छन् । यी आयोजनामा सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरू, रेमिट्यान्स, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरूले समेत यसमा प्रत्यक्ष सेयर लगानी गर्न पाउने ऊर्जामन्त्री शर्माले बताए ।

मुलुकमा ब्याप्त ऊर्जा संकट समाधानका लागि यो अवधारणा ल्याइएको हो । यस अवधारणापश्चात् अब सर्वसाधारण मानिसले आफ्नो क्षमताअनुसार ऊर्जामा लगानी गर्न पाउने र यसले कगानीर्तालाई प्रत्यक्ष फाइदा दिनुका साथै मुलुकबाट सदाका लागि अन्धकार अन्त्य गर्न ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.