रिपो किन्न बैंकहरू अनिच्छुक

राजधानी समाचारदाता
काठमाडौं, २६ पुस

तरलता अभावको चर्काे हल्ला फैलाएका बैंकहरूले अहिले नेपाल राष्ट्र बैंकले सस्तो व्याजमा रिपोमार्फत पैसा दिँदा पनि किन्ने इच्छा देखाएका छैनन् । नेपाल राष्ट्र बैंकले बिक्री गर्ने रिपोमार्फतको पैसा छिट्टै फिर्ता गर्नुपर्ने भएकाले रिपो किन्न बैंकहरूले इच्छा नदेखाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्र्र्र्र्र्र्र्दा छोटो र लामो अवधिका लागि प्रवाह गर्छन् । लामो अवधिका लागि कर्जा प्रवाह गर्दा राष्ट्र बैंकको छोटो अवधिको लोन लिएर लगानी गर्न नसक्ने भएकाले बैंकहरू रिपो किन्न इच्छुक नदेखिएका हुन् । राष्ट्र बैंकको रिपोले बजारमा रहेको तरलताको समस्या समाधान गर्न नसक्ने भएका कारण पनि बैंकहरू रिपो किन्न तयार छैनन् । बैंकर्स संघका अध्यक्ष तथा मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘राष्ट्र बैंकको रिपो किनेर हामीलाई राहत दिँदैन ।’

सीडी रेसियो (निक्षेप कर्जा अनुपात) ८० प्रतिशतको हाराहारीमा पुगेर समस्या आएको अध्यक्ष शाहको भनाइ छ । राष्ट्र बैंकको रिपोले तरलताको समस्या पूर्ण रूपले समाधान नगर्ने भएकाले बैंकहरू त्यसतर्फ आकर्षित नभएको शाह बताउँछन् । त्यस्तै, राष्ट्र बैंकसँग लोन लिएर लगानी गर्न सक्ने अवस्थामा बैंकहरू नभएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । शेरचनले भने, ‘राष्ट्र बैंकको पैसा छिटो तिर्नुपर्ने भएकाले लोन लिएर लगानी गर्न गाह्रो छ ।’ लामो समयका लागि नदिने भएकाले बैंकहरू रिपोतर्फ आकर्षित हुन नसकेको प्रमुख कार्यकारी अधिकृत शेरचनको भनाइ छ ।

तर, राष्ट्र बैंक भने बैंकर्सको यस्तो कुरा मान्न तयार छैन । बैकहरूसँग प्रशस्त तरलता भएका कारण राष्ट्र बैंकको रिपो बिक्री नभएको ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन् । पंगेनीले भने, ‘बैंकहरूसँग प्रशस्त पैसा छ, तरलता अभावको हल्ला मात्र गरेका हुन् ।’ पुसमा बैंक तथा वित्तीय संस्थाहरूले ६ महिनादेखिको कर तिर्नेबेला भएकाले यस्तो हल्ला गरेको पंगेनीको भनाइ छ ।

राष्ट्र बैंकले गत आइतबार जारी गरेको १० अर्ब रुपैयाँबराबरको रिपोमा साढे ३ अर्ब रुपैयाँ मात्रै बिक्री भएको थियो । सो रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले ३ अर्ब ४९ करोड रुपैयाँ मात्रै लिन प्रस्ताव पेस गरेको राष्ट्र बैंकले जनाएको छ । सो रकमबराबरको रिपोमा खदिमा पाँच बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए । सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये मेगा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले ७५ करोड रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलले ६० करोड रुपैयाँ, कृषि विकास बैंकले ५० करोड रुपैयाँ र ज्योति विकास बैंकले १७ करोड रुपैयाँबराबको रिपो लिएका छन् । बोककबोल प्रक्रियाबाट जारी गरिएको सो रिपोको खरिदमा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरूले ४ दशमलव ८७ प्रतिशत ब्याजदरमा रिपो खरिद गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार पनि २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । जम्मा १ अर्ब ९० करोड रुपैयाँ मात्रै माग भएको थियोे ।

आगामी सोमबार पनि राष्ट्र बैंकले रिपो जारी गर्दै छ । बैंकहरूले बजारमा तरलता अभावका कारण लगानी गर्न समस्या भयो भनिरहेका बेला राष्ट्र बैंकले भने बैंकिङ प्रणालीमा प्रशस्तै लगानीयोग्य पुँजी रहेको बताउँदै आएको छ । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ३ खर्ब ४० अर्ब रुपैयाँ तरलता छ ।

Leave A Reply

Your email address will not be published.