ग्याँस डिपो प्रमाणित गर्न आग्रह

राजधानी समाचारदाता
काठमाडौं, २६ पुस

सरकारले ग्याँस विक्रेता महासंघलाई ग्याँस डिपो प्रमाणीकरण गर्न आग्रह गरेको छ । ग्याँस विक्रेता महासंघले डिलर कमिसन बढाउनुपर्ने माग गरिरहेका बेला सरकारले महासंघलाई आफ्नो जिम्मेवारी पूरा गर्न यस्तो आग्रह गरेको हो ।

अहिले ग्याँस विक्रेता महासंघले डिलरको कमिसन बढाउन माग गरिरहेको छ । त्यो कसरी मिलाउन सकिन्छ भन्ने जिज्ञासामा आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले त्यसका लागि अध्ययन भइरहेको र ग्याँस विक्रेता महासंघले आफ्नो जिम्मेवारी पूरा नगरेको बताए ।

हालसम्म मुलुकभर १३ हजार ग्याँस डिपो रहेको र काठमाडौं उपत्यकामा मात्रै करिब ६ हजार ग्याँस डिपो रहेको अनुमान गरिएको छ ।गत साउन मसान्तसम्म २ हजार ४ सय ४२ वटा ग्याँस डिपो मात्रै प्रमाणीकरण भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागसँग तथ्यांक छ । यसबारे पनि ग्याँस विक्रेता महासंघले सरकारलाई नै मिति तोकेर डिपो प्रमाणीकरण गर्न बाध्य पार्न आग्रह गर्दै आएको छ ।

प्रमाणीकरणका लागि मिति तोक्न महासंघले गरेको मागप्रति जिज्ञासामा प्रवक्ता श्रेष्ठले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘आफूले गर्ने कामका लागि पनि सरकारले के मिति तोक्नुप¥यो ? यस्तो काम गर्नुपर्छ भनेर आफूलाई थाहा हुँदाहुँदै के अर्काले भन्नुप¥यो ? आफूले गर्ने काम आफैंले दुरुस्त गर्नुपर्ने बताउँदै उनले भने, उसै पनि सरकारले ८० रुपैयाँ प्रतिसिलिण्डर घाटा खाएर उपभोक्तालाई ग्याँस उपलब्ध गराइरहेको छ ।’

अब नेपालमा पनि स्वचालित मूल्य लागू गर्ने तयारीमा सरकार रहेको छ । स्वचालित मूल्यमा गएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे नेपालमा पनि मूल्य बढ्ने र घटेपछि घट्ने हुन्छ । त्यस्तो आवस्थामा डिलर कमिसनको कुरा पनि समायोजन हुने गरी अघि बढ्ने छलफलको तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।

यता, महासंघले भने ग्याँस डिपो प्रमाणीकरणका लागि पनि सरकारलाई नै मिति तोकेर बाध्य पार्न आग्रह गर्दै आएको छ । त्यसैगरी, संघले डिपोमा लगानीअनुसारको मुनाफाको वातावरण बनाउन एवं डिलरको कमिसन बढाउनुपर्ने मागसमेत गर्दै आएको छ ।

ग्याँसको वितरणलाई उपभोक्तामाझ सहज रूपमा वितरणका लागि ग्याँस डिपोको प्रमाणीकरण गर्न अनिवार्य भन्दै आएको छ ।  मिति अझैसम्म सरकारले पनि तोक्न सकेको छैन ।

 

Leave A Reply

Your email address will not be published.