संवैैधानिक अंगका व्यक्ति बैंकको सञ्चालक र सीईओ हुन नपाउने

राजधानी समाचारदाता
काठमाडौं, २६ पुस

बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) व्यवस्थापिका–संसद्बाट पारित भएको छ । मंगलबार बसेको व्यवस्थापिका संसद्को बैठकले बाफिया पारित गरेको हो ।

nepal-rastra-bank

विगतमा अर्थ समितिले पास गरेको बाफिया व्यवस्थापिका–संसद्ले समितिमा फर्कादिएको थियो । संसद्ले समितिलाई विभिन्न नौ बुँदामा पुनः छलफलका लागि पठाएको विधेयकमा समितिले अर्थमन्त्री र गभर्नरमा विवादित विषय सहमतिमा टुंग्याएको थियो ।

पहिले अर्थ समितिले पास गरेको बाफियामाथि चौतर्फी विवाद भएपछि व्यवस्थापिका–संसद्ले पुनः समितिमा फर्काएको थियो । लामो छलफलपछि अहिले बाफियाको टुंगो लागेको हो । संशोधित सो बाफियामा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दुई कार्यकालसम्मका लागि व्यवस्था गरिएको छ ।

संशोधित सो बाफियामा संवैैधानिक पद धारण गरेका व्यक्तिले सो पदमा रहुन्जेल कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति र कार्यकारी प्रमुखको पदमा बस्न नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालक विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्थाको सञ्चालक वा पदाधिकारी पदमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ । यसैगरी, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधारणमा परिणत गर्न सकिने व्यवस्था बाफियामा गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.