पृथ्वीनारायण शाह : मन्त्रिपरिषद्देखि सामाजिक सञ्जालसम्म

नेताले एउटै मञ्चबाट भने– एकीकरणका महानायक

महेश्वर गौतम / राजधानी
काठमाडौं, २७ पुस

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एक दशक पुग्नै लाग्दा प्रमुख दलका शीर्ष नेताले एक ठाउँमा उभिएर पृथ्वीनारायण शाहलाई ‘एकीकरणका महानायक’ को उपाधि दिएका छन् ।गणतन्त्र आगमनसँगै शाह जन्मिएको दिनलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मान्दै बिदा दिने चलन अन्त्य भयो । तर, दलहरूबीच राष्ट्रियताको बहस चुलिएसँगै उनीहरूले शाह जन्मिएको दिन एकै ठाउँ भेला भएर पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिए ।नेपाल एकीकरणको नेतृत्व गरेका पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीमा बुधबार राजधानीसहित देशका अधिकांश स्थानमा उनको चर्चा–परिचर्चा भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘बलियो केन्द्रीकृत राज्यका लागि पृथ्वीनारायण शाहले महŒवपूर्ण भूमिका खेलेको’ बताए । दाहालले ऐतिहासिक भौतिकवादले समेत उनको योगदानलाई सकारात्मक रूपमा हेर्ने बताए । कार्यक्रममा सहभागी हुनुअघि उनले मन्त्रिपरिषद्को बैठकमा सरकारी बिदाबारे समीक्षा गर्न समिति गठनसमेत गरे । ‘सार्वजनिक बिदाबारे राज्यको स्पष्ट नीति, नियम र मान्यता बन्न सकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘मैले बिदा पुनरावलोकन गर्ने प्रस्ताव क्याबिनेटमा पेस गरेको छु ।’ पृथ्वी जयन्तीमा बिदा नदिएको चर्को जनगुनासोपछि उनले कार्यक्रमा उपस्थित भएर यस्तोप्रस्टीकरण नै दिनुप¥यो ।

प्रमुख सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकताका लागि शाहले पु¥याएको योगदानको स्मरण गर्दै विभाजित राज्यको एकीकरणमा अतुलनीय योगदान दिएको बताए । उनले ‘शाहको योगदानको जति नै प्रशंसा गरे पनि अपुरो हुने’ भनाइ राखे ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रनिर्माता शाहको योगदानलाई आफ्ना स्वार्थ सिद्घिका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै जनताको चाहनाअनुसार राज्यको एकीकरण गरेकाले उनको योगदानको सबैले स्मरण गर्ने गरेको बताए । ओलीले आफू प्रधानमन्त्री भएकै बेला शाहको जन्मजयन्तीमा बिदा दिन प्रयास गरेको भए पनि सहमति नभएको बताए । एमाले नेता माधव नेपालले पृथ्वीनारायण शाहको जस्तै वर्तमान अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको औंल्याए ।

शाहप्रति सम्मान व्यक्त गर्न एमाले वरिष्ठ नेताहरू झलनाथ खनाल, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू तथा वर्तमान मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूसहित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू भृकुटीमण्डप पुगेका थिए ।

पृथ्वीनारायणको इतिहास मेटाउन सकिँदैन : कटवालपूर्वप्रधानसेनापति रुक्मांगद कटवालले पृथ्वीनारायण शाहको सालिक जति टुक्रा पारे पनि इतिहास भने मेटाउन नसकिने बताए ।

२९५औं पृथ्वी जयन्तीको अवसर पारी नागरिक समूहले राजधानीमा गरेको कार्यक्रममा उनले राष्ट्रनिर्माता शाहको योगदानलाई जतिसुकै प्रयन्त गरिए पनि नेपाली मन मस्तिष्कबाट हटाउन नसकिने ठोकुवासमेत गरे । ‘हिजो पृथ्वीनारायणका सालिक ढाल्नेहरू अहिले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिई गौरवपूर्ण रूपमा मनाउनुपर्छ भन्दै लागि रहेका छन्,’ उनले भने ।

कटवालले पृथ्वीनारायण समावेशिता र लोकतान्त्रिक पद्धतिका निर्माता भएको समेत बताए । उनले भने, ‘चन्द्रसूर्य रहेसम्म हामी सबै नेपाली एउटै घरभित्र अटाउँछौं । हिमाल, पहाड र तराई मिलेर बनेको मुलुक नै सबै जातजाति, भाषाभाषी र धर्मसम्प्रदायको साझा मूल घर हो ।’

उनले वर्तमान समयमा जनताको चाहना सम्पन्न राष्ट्र रहोस् र स्वतन्त्र नागरिक भएर बाँच्न पाइयोस् भन्ने रहेको समेत बताए । पृथ्वी जयन्तीमा सरकारले बिदा नदिएकोप्रति आपत्ति जनाउँदै उनले भने, ‘सरकारले हरेक समूह, जातजातिका पर्वमा बिदा दिन सक्छ । यो राष्ट्रिय पर्वमा किन बिदा दिन सक्दैन ?’यस वर्षको पृथ्वी जयन्तीको विषय व्यवस्थापिका–संसद्, मन्त्रिपरिषद् बैठकदेखि राष्ट्रपति कार्यालय हुँदै विभिन्न सभा समारोह र सामाजिक सञ्जालमा व्यापक छलफलको विषय बन्यो ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने विषयमै मन्त्रिपरिषद्को दुईवटा बैठकमा छलफलको विषयसमेत बन्न पुगेको थियो । बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने माग बारम्बार राखेका थिए । सामाजिक सञ्जालहरूमा समेत यस वर्ष शाहको सम्मानमा बिदा दिनुपर्ने आवाज अत्यधिक रूपमा उठेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले यो राजनीतिक विषय भएकाले सबैको सहमतिविना सार्वजनिक बिदा दिन नमिल्ने अडान लिएपछि सरकारले सार्वजनिक बिदा भने दिएन ।

२०६२÷६३ को जनआन्दोलन अघि पृथ्वी जयन्तीको अवसरमा हरेक वर्ष २७ पुसमा सार्वजनिक बिदा दिने गरिएको थियो । त्यसपछि सरकारले पृथ्वी जयन्तीको अवसरमा दिइँदै आएको बिदा कटौती गरेको थियो ।

यस वर्ष भने पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको मागमा चौतर्फी आवाज उठेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेले त्यसमा कुनै विरोध गरेन भने नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पनि सकारात्मक रहेको प्रतिक्रिया दिए । तर, उनले बिदा दिने निर्णय भने गरेनन् ।

 

Leave A Reply

Your email address will not be published.