उपत्यकाको वायु प्रदूषित , ५० प्रतिशत प्रदूषण २० प्रतिशत थोत्रा सवारीबाट

सविन शर्मा / राजधानी
काठमाडौं, २७ पुस

उपत्यकामा गुड्ने थोत्रा सवारीसाधनका कारण उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारदेखि पुनः उच्च हुँदै जानुमा थोत्रा सवारी पनि जिम्मेवार रहेको विज्ञहरूको दाबी छ ।

रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार बिहान २ बजेर ४५ मिनेटमा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दर १ सय ४५ पुगेको थियो । विश्व स्वास्थ्य संगठनले पीएम २ दशमलव ५ को मात्रा १० माइक्रोग्राम क्युबिक मिटर निर्धारण गरे पनि सरकारले राष्ट्रिय मापदण्ड ४० निर्धारण गरेको छ ।

maxresdefault

‘काठमाडौं उपत्यका प्रदूषणको मुख्य कारक सवारी प्रदूषण नै रहेको पाइएको छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धूवाँ फालिरहेका हुन्छन् ।’ त्यसमा पनि २० प्रतिशतले सबैभन्दा बढी धूवाँ फालिरहेको उनले जानकारी दिए । सन् २००५ मा ट्राफिक प्रहरीको सहायतामा धूवाँ फालिरहेको सवारीसाधनलाई रोकेर परीक्षण गर्ने गरिएको बताउँदै उनले त्यो काम रोकिँदा प्रदूषण नियन्त्रणभन्दा पनि बढ्दो मात्रामा रहेको बताए । ‘सडक कुदिरहेका सवारीसाधनले फालेको धूवाँ हेर्दै थाहा हुन्छ, चेकजाँच नै गरिरहनुपर्दैन,’ उनले भने, ‘यस्ता सवारीसाधनलाई हटाउने तथा थोत्रा सवारीसाधनको मर्मत–सम्भार गर्न सकियो भने पनि ५० प्रतिशत यहाँको वायुको स्तरमा सुधार आउँछ र यो गर्न पनि सकिन्छ ।’

‘हामीले बुझ्नैपर्ने कुरा भए पनि उपत्यकाको प्रदूषणले हामी जति आक्रान्त भएका छौं, त्यत्ति नै समस्याहरू उत्पन्न भएका छन्,’ राष्ट्रिय वायुप्रदूषण रणनीति निर्माण कार्यमा संलग्न विज्ञ डा. भूपेन्द्र देवकोटाले भने, ‘काठमाडौं प्राकृतिक रूपले नै संवेदनशील छ र अब मानवीय कारणले यो झन् संवेदनशील बन्न पुगेको छ ।’ हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेकन् कण हुन्छन् । तीमध्ये केही हानिकारक छन् भने केही असर नगर्ने किसिमका हुन्छन् । हावामा यसरी हानिकारक धुलोका कणको मिसावट भई हुने वायु प्रदूषणबाट राजधानी काठमाडौंै अछुतो नरहेको विज्ञहरूले बताउँदै आएका छन् ।

उपत्यकाको दुई स्थानमा गरिएको वायु प्रदूषण मापनले पनि उपत्यकामा अत्यधिक प्रदूषणको मात्रा बढेको पाइएको छ । ‘काठमाडांैमा गरिएका अध्ययन मनन गर्दा यहाँ विशेषगरी रासायनिक वा अन्य किसिमका प्रदूषणभन्दा पनि सडक, सवारी र कलकारखानाबाट निस्कने धूवाँ र धुलोको समस्या टड्कारो देखिन्छ,’ डा. देवकोटाले भने, ‘एउटा स्वस्थ्य मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । यसबाट अनुमान गर्न सकिन्छ, बाँच्न हावा कति आवश्यक छ ?’ उपत्यकामा वायु प्रदूषण गराउने स्रोतमध्येको प्रमुख स्रोतका रूपमा रहेको सवारीसाधन हरेक वर्ष १३ प्रतिशतले बढेको छ ।

सन् २००५ मा गरिएको अध्ययनले उपत्यकामा भएका २० प्रतिशत सवारीले ५० प्रतिशत प्रदूषण फैलाउने गरेको पाइएको वातावरणविद् तुलाधरले जानकारी दिए । यसबीच, सवारीसाधनको संख्या लगभग तीनगुण वृद्धि भइसकेको यातायात विभागको तथ्यांकले देखाएको छ । सडकको बिग्रँदो अवस्था पनि प्रदूषण बढाउने कारक बनिरहेको उनीहरूको भनाइ छ ।

वायु प्रदूषण नियन्त्रण गर्न सकिने भन्दै त्यसका लागि मौजुदा नीतिनियमलाई सरकारले कार्यान्वयन गर्नुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूले उपत्यकाको पुल्चोक र रत्नपार्कमा मात्रै रहेको प्रदूषण मापन यन्त्रको संख्या वृद्धि गर्नुपर्नेसमेत आंैल्याएका छन् ।

यस्तै, सवारीसाधनको प्रदूषण मापन गरी दिइने हरियो स्टिकरको नियमित अनुगमन गर्नुपर्दछ । प्रदूषण नियन्त्रणसम्बन्धी भएका नीति–नियमका साथै प्रदूषण मापदण्डको कडाइका साथ कार्यान्वयन गर्ने, सार्वजनिक यातायातको गुणस्तर सुधारका साथै सडक विस्तारका क्रममा साइकल र हिँड्न सुविधायुक्त पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ । सहरी क्षेत्रमा स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि सोलार साथै अन्य नवीकरणीय ऊर्जा प्रयोगमा प्रोत्साहन गर्न पनि विज्ञहरूको सुझाव छ ।

सहरी क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापन सुधार गर्ने, यस विषयमा अध्ययन र अनुसन्धान प्रवद्र्धन गर्न विश्वविद्यालय र संघ÷संस्थासँग समन्वयमा कार्यक्रम तयार गर्न विज्ञहरूलाई सरकारलाई सुझाएका छन् । प्रदूषण नियन्त्रण शुल्कबाट संकलित करिब ४ अर्ब रुपैयाँ प्रयोगमा आउन नसकेको प्रदूषण नियन्त्रण कोषलाई सञ्चालनमा ल्याउन कार्यक्रम बनाउनुपर्ने उनीहरूको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.