हिउँचितुवा पाइने १२ मुलुकको बैठक काठमाडौंमा

राजधानी समाचारदाता
काठमाडौं, २७ पुस

विश्वबाट लोप हुने अवस्थामा पुगेको हिउँचितुवा संरक्षणमा विश्वव्यापी प्रयासः प्रगति र आगामी कदमबारे हिउँचितुवा पाइने १२ देशका मन्त्रीस्तरीय बैठक आगामी ४ देखि ७ माघसम्म काठमाडौंमा हुने भएको छ । ‘हिउँचितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम व्यवस्थापन योजना (जीएसएलईपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यससम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समिति बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।

विश्वमा हिउँचितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । मन्त्रालयद्वारा सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा सहसचिव डा. महेश्वर ढकालले सबै देशबाट मन्त्री र उच्चस्तरीय प्रतिनिधि सहभागी हुने निश्चित भएको जानकारी दिए ।

बैठकमा आगामी योजनाका लागि स्रोत परिचालन रणनीति पहिचान, हिउँचितुवाको अवैध चोरी सिकार तथा व्यापारविरुद्ध जुध्न साझा विचार विकास र हिउँचितुवा अध्ययन अनुसन्धानमा पहलकदमीलगायत मुख्य विषयमा छलफल हुनेछ ।

सम्मेलनले जैविक विविधता संरक्षण, नेपालको पर्यापर्यटनमा टेवा र निजी क्षेत्रलाई पनि सहयोग पुग्ने विश्वास पनि लिइएको छ । ‘जीएसएलईपी हिउँचितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्र्रािष्ट्रय तथा निजी सघंसंस्थाको संयुक्त प्रयास हो,’ ढकालले भने, ‘यसको प्रमुख उद्देश्य हिउँचितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइराख्नु हो ।’ यसको सुरुवात किर्गिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा सन् २०१३ मा भएको हिउँचितुवा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा जारी ‘विस्केक घोषणा पत्र’पश्चात् भएको हो ।

वनमन्त्री शंकर भण्डारीले बैठक नेपालमा आयोजना गर्ने अवसर मिल्नु र उच्चस्तरीय सहभागी प्रतिनिधिलाई स्वागत गर्न पाउनु खुसीको अवसर भएको बताए । बैठकबाट हिउँचितुवा र तिनीहरूको अमूल्य उच्च हिमाली पारिस्थितिकीय प्रणाली संरक्षण तथा त्यहाँ बसोबास गर्ने मानिसको जीवनस्तर उकास्न कार्यदिशा पहिल्याउन उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

जीएसएलईपी उच्चस्तरीय सञ्चालन समितिको नेतृत्वदायी भूमिकामा सन् २०२० सम्ममा हिउँचितुवाको सुरक्षित बासस्थान सुनिश्चित गर्ने उद्देश्यले हिउँचितुवा पाइने देशले २३ वटा भू–परिदृश्यको पहिचान गरेका छन् ।

बैठकमा समिति सदस्यले भू–परिदृश्य सुरक्षित गर्न ‘के कति सफलता मिल्यो ?’ भनी पुनरावलोकन गर्नुका साथै आगामी कदम र प्राथमिकता पहिचान गर्नेछन् । समितिले सन् २०१७ को मध्यतिर किर्गिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँचितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि एजेन्डा तयार पार्नेछ ।

‘ग्लोबल टाइगर इनिसेटिभ काउन्सिल’का सदस्यसमेत रहेका आपूर्तिमन्त्री दीपक बोहराले बाघ संरक्षणमा नेपालले विश्वमै नेतृत्वदायी सफलता हासिल गरेको बताउँदै लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखन प्रभावकारी ढंगबाट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बैठक नेपालको मात्र नभई विश्वकै जैविक विविधता र वातावरण संरक्षणमा उपयोगी हुने उनको विश्वास छ ।

हिउँचितुवा उच्च हिमाली क्षेत्रको स्वस्थ्य पारिस्थितिकीय प्रणालीको महŒवपूर्ण हिस्सा हो ।हिउँचितुवा नेपालमा करिब ३ सयदेखि ५ सय र विश्वमा करिब ३ हजारदेखि ५ हजारको संख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । मन्त्रालयले हिउँचितुवा संरक्षणमा बासस्थान विनाश, मानव र जनावरबीच हुने द्वन्द्व, प्राकृतिक विपत्ति, जलवायु परिवर्तनलगायत चुनौती देखिएको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चरणमा हिउँचितुवा पाइने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । जसमध्ये पूर्वको कञ्चनजंघादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीदेखि अपिनम्पा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

चार दिनसम्म चल्ने बैठकमा सबै देशबाट आउने उच्चस्तरीय सरकारी प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ताको बृहत् छलफलपछि हिउँचितुवा संरक्षणका प्रभावकारी कदमसहितको काठमाडौं घोषणा पत्र जारी हुनेछ ।

 

Leave A Reply

Your email address will not be published.