मन्त्री डा. महतद्वारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता

राजधानी समाचारदाता
काठमाडौं, २७ पुस

कतारले नेपालको जलविद्युत्मा लगानी गर्न इच्छा देखाएको छ । कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा कतारका अमिर थानी, विदेशमन्त्री तथा श्रममन्त्रीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटका क्रममा कतारले जलविद्युत्सँगै नेपालको पर्यटन, हिस्पिटालिटी र टेलिकममा समेत लगानी गर्न इच्छा देखाएको परराष्ट्रमन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

parrsastra_mantri

परराष्ट्रमन्त्री महतले भेटका क्रममा कतारमा रहेका साढे ३ लाखभन्दा ठूलो संख्याका नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाबारे कुरा उठएका थिए । महताले कतारमा समस्यामा परेका नेपालीको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने, मजदुरले पाउनुपर्ने सुविधाका बारेमा कुरा उठाएका थिए ।

कतार सरकारका तर्फबाट कानुनी समस्यामा परेका नेपालीका लागि अदालतसम्म पुग्दा सहज हुने गरी श्रम मन्त्रालयअन्तर्गत संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने गरी व्यवस्था गर्न प्रतिबद्धता आएको छ । त्यस्तै, नेपालमा पोलिटेक्निकको स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने समेत कतारले प्रतिबद्धता जनाएको प्रेस संयोजक पाठकले जानकारी दिए ।

त्यस्तै, आगामी चैतमा नेपालले गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुनकुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावका आधारमा नेपालमा कतारले लगानी विस्तार गर्ने सहमति भएको छ । भेटमा मन्त्री महतले कतारले अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई स्वागत गरेका थिए । भेटमा मन्त्री महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि निम्तोसमेत दिएका छन् । उनले नेपाल आफू भ्रमण गर्न इच्छुक रहेको बताएका थिए ।

त्यस्तै, बुधबार नै परराष्ट्रमन्त्री महतले कतारका समकक्षी सेख मोहम्मद विन अब्दुलरहमानसँग समेत भेटवार्ता गरेका छन् । भेटका क्रममा सम्बन्धको सुदृढीकरणका साथै अन्य आपसी फाइदाबारे आगामी दिनमा उच्चस्तरीय भेटहरूलाई थप अभिवृद्धि गर्नेबारे छलफल भएको थियो ।

यसैबीच, कतारले नेपाली कामदारको कोटा बढाउने प्रतिबद्धता जनाएको छ । परराष्ट्रमन्त्री महतसँगको भेटमा कतारका श्रममन्त्री डा. इसा बिन साद अल जफालीले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा नेपाली कामदारहरूको २४ घण्टे बिमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम–सम्झौतामा आवश्यक परिमार्जन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.