न्यु डायमन्डको एकल अग्रता

काठमाडौं / रास– १२औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको  छ । बालाजु नयाँ बसपार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा रामेछापको चन्डेश्वरी युवा क्लबलाई पराजित गर्दै न्यु डायमन्डले एकल अग्रता बनाएको हो ।

चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले पाँच खेलबाट १५ अंक जोड्न सफल भएको छ । बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन् । स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । भारतीय राष्ट्रिय खेलाडीको बर्चस्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।

त्यसैगरी, बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । प्रतियोगितामा अहिलेसम्म चार खेल खेलेको  सशस्त्र प्रहरीको एपीएफ क्लब चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थान ओगट्न सफल भएको छ । त्यस्तै, तेस्रो स्थानमा नेपाल आर्मीले चार खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ ।

त्यसैगरी, आयोजक ढोरपाटन स्पोर्टस् क्लबले ५ खेलबाट ८ अंक जोडेको छ । रामेछापको चन्डेश्वरी युवा क्लबले ६ खेलबाट ७ अंक नै जोडेको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने विजेश्वरी ज्ञानमन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लबले खाता खोल्न सकेका छैनन् ।

 

Leave A Reply

Your email address will not be published.