पुसको अन्तिममा बल्ल नगरपरिषद्को चटारो

किरण बुढाथोकी / राजधानी
भक्तपुर, २७ पुस

पुस महिनाको अन्तिम दिनसम्म आइपुग्दा बल्ल भक्तपुरका नगरपालिकालाई नगरपरिषद्को चटारो लागेको छ । अहिले भक्तपुरकै नगरकोट नगरपालिकाले भने आफ्नो नगरपरिषद् सम्पन्न गरिसकेको छ । यसैगरी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले बिहीबार (आज) नगरपरिषद् गर्दै छन् । त्यस्तै, अन्य नगरपालिकाले नीति तथा कार्यक्रम पारित गरिसकेकाले नगरपरिषद्को तयारी गरिरहेको जनाएका छन् ।

यता, नगरकोट नगरपालिकाले भने जिल्लामा पहिलोपटक नगरपरिषद् सम्पन्न गरेको हो । तीन वर्षअघि भक्तपुरको साविक नगरकोट, बागेश्वरी, सुडाल, ताथली गाविस गाभेर नगरपालिका घोषणा गरिएको नगरकोट नगरपालिकाले अहिले तेस्रो नगरपरिषद् सम्पन्न गरेको हो ।

नगरकोटले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल १२ करोड १९ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले आन्तरिक तथा बाह्य स्रोत गरी २ करोड ८ लाख रुपैयाँ र केन्द्रीय अनुदानतर्फ १० करोड ११ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा केन्द्रीय अनुदान चालूतर्फ ४५ लाख १० हजार रुपैयाँ, पुँजीगततर्फ ५ करोड ६६ लाख ६९ हजार तथा सामाजिक सुरक्षा भत्तातर्फ ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी, खर्चको चालूतर्फ १ करोड १२ लाख रुपैयाँ, पुँजीगततर्फ ७ करोड ७ लाख ६९ हजार र सामाजिक सुरक्षातर्फ ४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय निकायको निर्वाचन नहुँदा विकासका काम प्रभावकारी बन्न नसकेको भन्दै स्थानीय निकायको निर्वाचन तत्काल गर्न माग गरे । स्थानीय निकायको विकासका लागि सरकारले तत्कालै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । सरकारले निर्वाचनमा ढिलाइ गर्दा देशको विकास पछाडि परेको भन्दै स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माण ठप्पजस्तै बनेको उनले बताए ।

एमाले केन्द्रीय सदस्य सोम मिश्र, राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, मध्यमाञ्चल स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक रमेशविक्रम सिंह, स्वास्थ्य सेवा विभागका डा. विनोद गुप्ता, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, नगरकोट नगरपालिकाका लेखा अधिकृत वीरवल अधिकारीलगायतले नगरपालिकाले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

 

Leave A Reply

Your email address will not be published.