सुन तस्करी छानबिन गर्न समिति बनाउन निर्देशन

राजधानी समाचारदाता
काठमाडौं, २७ पुस

संसद्को अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानबिन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । त्यसमा देखिएका समस्या पहिचान गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने संयन्त्रसमेत निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।

gold-1

समितिले ३३ केजी अवैध सुन तस्करीमा संलग्न गिरोह एवं व्यक्तिहरूका बारेमा तत्काल छानबिन गरी त्यस्ता व्यक्तिलाई संगठित अपराधअन्तर्गत कडाभन्दा कडा कारबाही गर्न तथा सोे कार्यमा संलग्न र सहयोग पु¥याउने कर्मचारीहरूलाई प्रचलित ऐन कानूनअनुसार विभागीय र अन्य आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

समितिका सभापति प्रकाश ज्वालाका अनुसार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरूको मात्र प्रहरी चेकजाँच हुने र आगमनमा प्रहरीद्वारा कुनै पनि चेकजाँच नहुने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त र भरपर्दो चेकजाँचको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि क्षमता अभिवृद्धि गर्न, विमानस्थलमा रहने सरकारी निकायहरूबीच प्रभावकारी समन्वयको व्यवस्था गर्न, सबै निकायको भूमिका स्पष्ट गर्न र आधुनिक चेकजाँच मेसिनसहित विमानस्थलको सुरक्षा प्रणालीलाई सशक्त बनाउँदै विमानस्थलको आधुनिकीकरणको काम तीव्र रूपमा अघि बढाउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको समितिका सभापति ज्वालाले बताए । उनका अनुसार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.