आर्थिक विकासलाई गति दिनु नै असली राष्ट्रवाद : प्रधानमन्त्री

राजधानी समाचारदाता
काठमाडौ, २७ पुस

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको आर्थिक विकासलाई गति दिनु नै अहिलेको असली राष्ट्रवाद भएको बताएका छन् । बुधबार राजधानीमा सम्पन्न नेपाल चेम्बर अफ कमर्सको ६६औं साधारण सभा तथा चेम्बर दिवसमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले चेम्बर अफ कमर्सले उद्योग व्यापार तथा वित्तसँग सम्बन्धित नीति निर्माणमा सुझाव दिएर राम्रो काम गरेको बताए । उनले सरकारले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै औद्योगिक व्यवसाय ऐन विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन पारित गर्नुका साथै रुग्ण उद्योग सञ्चालनका लागि गृहकार्य गरिरहेको बताए ।

chamber

उनले वित्तीय क्षेत्रको सुदृढीकरणका लागि बाफियासम्बन्धी कानुन पारित गरिसकेको र संक्रमणकालीन राजनीतिक अवस्थामा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न बाफियाले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । उनले उद्योग व्यवसायको विकासका लागि अत्यावश्यक मानिएको विद्युत् वितरण प्रणालीलाई सुदृढ गर्दै क्रमशः लोडसेडिङ अन्त्य गर्दै लगिएको र थप विद्युत् मागको व्यवस्थापनका लागि नयाँ तथा ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने सरकारको स्पष्ट लक्ष्य भएको पनि बताए । उनले राजनीतिले सही दिशा लिएमा मात्रै देशको विकास हुने भन्दै दिन दिनैका राजनीतिक विवादमा अल्झिएर विकासका कामलाई पन्छाउन नहुनेतर्फ ध्यान दिनुपर्ने बताए ।

केही समयअघि ब्रिक्स र बिमस्टेकको बैठकमा कनेक्टिभिटी बढाउन अन्तर्राष्ट्रिय समुदाय तथा दुई छिमेकी देशका राष्ट्र प्रमुखसँग सम्बन्ध विस्तारका बारेमा संवाद गरेको स्मरण गर्दै नेपाल, भारत र चीनबीचको त्रिदेशीय समझदारी कायम गरी हवाई, रेल र सडक सञ्जालमार्फत उत्तर दक्षिण नाका विस्तार गरी व्यापार विविधिकरण गर्न लागेको पनि उनले बताए । अहिले आफू कसरी राजनीतिक समझदारी बनाउने र कसरी देशलाई तीव्र आर्थिक विकासको गतिमा लैजाने भन्ने विषयमा लागिपरेको उनको भनाइ थियो ।

उनले केरुङ–काठमाडौं रेलमार्ग, दोधारा चाँदनी सुक्खा बन्दरगाह, हिल्सा नाका उद्घाटन गर्न जाँदा होस् या किमाथान्का जाँदा होस्, यी ठाउँमा तीव्र आर्थिक विकास गर्न आवाज उठेको बताए । कहिलेकाहीँ राजनीतिक संवाद गरेर ठूल्ठूला राजनीतिक समस्या पनि मिलाएका छौं । कहिलेकाहीँ भने सानोसानो कुरामा खुट्टा तान्ने काम पनि भएकोमा दुःख लागेको उनले बताए । उनले व्यक्ति, समूह र दलको हित राष्ट्रिय हितभन्दा तल पर्नाले देशको विकास नभएको बताए । सो कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले अहिलेसम्म गरेका विविध कार्यक्रमबारे जानकारी गराएका थिए ।

सो कार्यक्रममा चेम्बरले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । देशकै सबैभन्दा ठूलो समस्यामध्ये एक रहेको लोडसेडिङ अन्त्य गर्न उत्कृष्ट व्यवस्थापन कौशल देखाएको भन्दै निजी क्षेत्रको अग्रणी संस्था चेम्बरले घिसिङलाई सम्मान गरेको हो ।

नेपाल चेम्बर अफ कमर्सको ६६औं साधारण सभामा अन्य व्यापारिक तथा औद्योगिक घरानालाई पनि सम्मान गरिएको थियो । जसमा कार्गो कम्पनी, गलैंचा उद्योग, तयारी पोसाक, फेल्ट, हस्तकला, पस्मिना, भारततर्फको आयातका लागि किरण सुज इन्डस्ट्रिज प्रालि, चीनतर्फको आयातका लागि न्यु ईशा इन्टरप्राइजेज प्रालि रहेका छन् । यसैगरी, नेपालबाट तेस्रो मुलुकमा निर्यात गर्न सघाएबापत नेपाल निर्यात परिषद्लाई नेपाल चेम्बर अफ एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.