किशोरी गर्भवतीको संख्या बढ्दो

जनक खड्का / राजधानी
बझाङ, २७ पुस

जिल्लामा किशोरी गर्भवतीको संख्या बढ्दो क्रममा छ । विषेशतः ग्रामीण भेगका अधिकांश किशोरीहरू गर्भवती रहेको एक तथ्यांकले देखाएको छ । विभिन्न गाविसमा गठित किशोरी सञ्जालमार्फत संकलन गरिएको तथ्यांकका आधारमा सो संख्या बढ्दो क्रममा रहेको यूएनएफपीए बझाङले जनाएको छ । बझाङको दुर्गम काँडा, सुनिकोट, दातोला, मष्टा, गडरायलगायतका गाउँ विकास समितिहरूमा किशोरी गर्भवतीको संख्या बढ्दो छ । अविभावकको दबाबमा कम उमेरमै विवाह गर्न बाध्य किशोरीहरू कम उमरमै गर्भवती हुने परम्परा बझाङमा हालसम्म कायम रहेको छ ।

सो तथ्यांकअनुसार बझाङमा १० देखि १६ वर्ष उमेर समूहका किशोरीहरू गर्भवती रहेका छन् । जिल्लाको दातोला गाविस–५ की पार्वती ऐडी, गडाराय–४ की कल्पना रोकाया र धमेना–७ की किडी विक १५ वर्षकै उमेरमै गर्भवती भएकी छन् । किशोरी गर्भवतीको संख्या हेर्दा दलित समुदाय र बाहुन समुदायमा बढी देखिएको छ । दातोला स्वास्थ्य चौकी इन्चार्ज डम्बर खड्काका अनुसार दैनिक चारदेखि ६ जना किशोरी गर्भवतीहरू स्वास्थ्य परीक्षण गर्न आउने गरेका छन् । उनले कम उमेरमै गर्भवती भएका ती किशोरीलाई प्रसूतिमा समस्या हुन सक्ने दाबी गरे ।

समाजमा जनचेतनाको अभाव, आर्थिक समस्या तथा धार्मिक परम्परा रहेका कारण कम उमेरमै किशोरीहरूको विवाह गरिदिने प्रचलन भएकाले किशोरीहरू कम उमेरमै गर्भवती हुन बाध्य छन् । कम उमेरका विवाहितलाई प्रजनन स्वास्थ्यबारे जानकारी नहुनु र रोकथामका उपायबारे समेत चासो नभएपछि किशोरीहरू गर्भवती हुन बाध्य छन् । बालविवाह न्यून गर्न यतिखेर विभिन्न संघसंस्थाबाट निकै प्रयास भइरहेको भए पनि सो समस्या यथावत् रहेको छ । महिला अधिकार मञ्च, किशोरी सञ्जाल, यूएनएफपीएलगायतका सरोकारवाला निकायहरू यतिखेर बालविवाह न्यूनीकरण गर्ने अभियानमा जुटेका छन् । सरोकारवाला निकायको सामूहिक प्रयास भएमा यस्तो प्रथा रोकथाम गर्न सकिने नागरिक समाजले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.