बढैया तालका जलचरा संकटमा

सुदीप अधिकारी / राजधानी
बर्दिया, २७ पुस

बढैया ताल बर्दियाको महŒवपूर्ण तथा सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । यो ताल आगन्तुक तथा रैथाने जलचराहरूको मुख्य वासस्थान मानिन्छ । बढैया तालमा साइबेरियालगायतका देशबाट बर्सेनि आगन्तुक चरा आउने गर्छन् । रैथाने चराहरू यस तालमा वर्षौंदेखि बस्दै आएका छन् ।

badhaiya-tal

तर, पछिल्लो समयमा बढैया तालका जलचराहरू संख्यामा कमी आउन थालेको छ । आगन्तुक जलचराको संख्या बर्सेनि पनि घट्दै गएको पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया प्रकृति संरक्षण क्लब र नेपाल पन्छी संरक्षण संघले यसै साता बढैया तालमा जलचरा अनुगमन गरेको छ । अनुगमनपछि टोलीले यहाँका चराहरू संकटमा रहेको निष्कर्ष निकालेको छ । स्थानीय पनि बढैया तालका जलचराहरू संकटमा रहेको स्वीकार गर्छन् ।

कर्णाली गेरुवा नदी तटीय क्षेत्र र बढैया तालमा गरेको अनुगमनबाट आगन्तुक र रैथाने दुवै जलचराको संख्या प्रत्येक वर्ष घट्दै गएको देखिएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाहीले बताए । चराको वासस्थानमा आएको ह्रासका कारण आगन्तुक र रैथाने जलचराको संख्यामा कमी हुँदै गएको देखिएको क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

आगन्तुक जलचराहरूका लागि नेपालकै दोस्रो ठूलो सिमसार क्षेत्र नै बढैया ताल हो । तर, पछिल्लो समयमा तालमा व्यवसाय गर्न थालिएको छ । जसका कारण यसको महŒव हराउँदै जान थालेको छ । १ सय ९ बिघा क्षेत्रफलमा फैलिएको सो ताललाई जिल्ला विकास समितिले आफ्नो कमाइ खाने भाडो बनाउँदा चराको वासस्थान खोसिएको संरक्षणकर्मीहरू बताउँछन् । जिल्ला विकास समितिले पाँच वर्षका लागि सो ताल एक स्थानीयलाई १ करोड ८ लाखमा माछापाल्न भाडामा दिएको छ ।

सो तालमा माछापालनका लागि ठेक्का लिएको ठेकेदारका कारण जलचरा संकटमा परेको पन्छी संरक्षणकर्मी र स्थानीयको भनाइ छ । जलचरालाई पानीमा विचरण गर्न झारपातको आवश्यकता जरुरी हुन्छ । तर, माछा मार्नका लागि ठेकेदारले तालका झारपात निकाल्दा जलचराको वासस्थान खोसिन्छ । त्यसपछि जलचराहरू अन्यत्र जाने गर्छन् । मैनापोखर–३ बढैयाका सुरेशकुमार थारू भन्छन्, ‘बढैयातालबाट जलचराहरू लोप हुनुमा ठेकेदार नै दोषी हो । ठेकेदारले आफ्नो व्यवसाय मात्र सोच्यो । चराको वासस्थानलाई मतलव नै गरेन ।’

उनका अनुसार बढैया तालबाट रैथाने चरा तलबक्टा, तलमुर्गा, पतेर, कैमा, चकवा, नक्टा, सारस र डबलीलगायतका दर्जनभन्दा बढी जलचरा लोप भइसकेका छन् । पहिले सेतै देखिने बकुल्ला र सारस छिटफुट मात्र देखिन्छन् । पछिल्लो समयमा साइबेरियाबाट आउने आगन्तुक चराहरूको संख्यामा पनि निकै कमी आएको चराविद् बताउँछन् ।

स्थानीयले बढैया तालमा व्यवसाय नगर्न पटकपटक अनुरोध गरे पनि जिल्ला विकास समितिले कुनै वास्ता नगरेको स्थानीय रामनरेश थारूले बताए । ‘माछापालन रोकेर ताललाई जलचराकै वासस्थान बनाउनुपर्ने माग राख्दै पटकपटक धायौं तर, कसैले वास्ता गरेन,’ उनले भने । बढैया ताललाई संरक्षित क्षेत्रका रूपमा विकास गरेमा मात्र यसको संरक्षण हुने स्थानीयको भनाइ छ ।

केही वर्षअघिसम्म बढैया तालमा सानासाना टापु रहेको तर अहिले माछापालनका लागि ती टापु खनेर ठूलो ताल बनाइएपछि चराको वासस्थान बिग्रिएको हो । यसैगरी, माछापालकले विषादी प्रयोग गरेर तालमा रहेको झार मार्नाले पनि चराको वासस्थान बिग्रेको स्थानीय बताउँछन् । ताललाई संरक्षित सिमसार क्षेत्र बनाए मात्र जलचरा संरक्षित हुने स्थानीय अर्जुन लम्सालले बताए । बढैया ताललाई माछापालनभन्दा पनि पर्यटकीय क्षेत्रको विकास गरी यसलाई चरा हेर्ने मुख्य गन्तव्यका रूपमा विकास गर्नुपर्ने स्थानीयको भनाइ छ ।

 

Leave A Reply

Your email address will not be published.