अवैध सुन तस्करीमा विमानस्थल भन्सारका दुई अधिकृत पक्राउ

gold-1

राजधानी समाचारदाता
काठमाडौं, २८ पुस

अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ । भन्सार अधिकृतहरु श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाल पक्राउ परेको स्रोतको भनाइ छ । उनीहरुलाई आ आफ्नो घरबाटै पक्राउ गरिएको हो ।

दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरुको संलग्नता देखेपछि पक्राउ परेको हो । अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतको दाबी छ ।

‘यादव र ढकालको सुन तस्करसँग मिलेमतो देखिएकाले पक्राउ गरिएको हो, हामी थप अनुसन्धान गर्दैछौं,’ सीआईबी स्रोतले भन्यो । यसअघि भन्सार विभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर छुट्टै अनुसन्धान सुरु गरेको थियो ।

Leave A Reply

Your email address will not be published.