बाराका सयभन्दा बढी सहकारी खारेजीमा

कृष्ण सिग्देल / राजधानी
सिमरा(बारा), २७ पुस

बारामा सयभन्दा बढी सहकारी संस्था खारेजीको प्रक्रियामा पुगेका छन् । अघिल्लो आर्थिक वर्षमा ४१ सहकारी खारेज गरेको डिभिजन कार्यालय बाराले यस वर्ष पनि १ सयभन्दा बढी नियम विपरीत सञ्चालित सहकारी खारेजीमा लैजाने प्रक्रिया सुरु गरेको छ ।

दुई आर्थिक वर्षसम्म लेखापरीक्षण नगराउने, साधारण सभा नगर्ने र डिभिजन सहकारीमा प्रतिवेदन नबुझाउने संस्थाहरूलाई खारेज गरिएको जनाइएको छ । खारेज गर्नुपूर्व डिभिजन सहकारीले सहकारी संस्थाहरूलाई जानकारी गराउने, सार्वजनिक सूचना गर्ने र तोकिएको समयमा सम्पर्कमा नआए पुनः ३५ दिने सूचना जारी गर्ने र सहकारी संस्थाहरू सम्पर्कमा नआए खारेज गर्ने प्रावधान रहेको डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तमप्रसाद पोख्रेलले जानकारी दिए ।

बाराका उत्तरी क्षेत्रका सहकारीहरू मापदण्डअनुसार नै राष्ट्रिय स्तरमै ख्याती कमाइरहेका भए पनि दक्षिणी भेगका केही सहकारी संस्थाहरू सहकारी ऐनका सामान्य मापदण्डहरू समेत पालना गर्न नसकेको पोखे्रलको भनाइ छ ।

‘केही सहकारीहरू भmोलामै सीमित भए, जतिभन्दा पनि टेरेनन्, सहकारी खोलेर सञ्चालकहरू नै सम्पर्कमा छैनन्,’ पोख्रेलले भने, ‘यस्ता सहकारीहरू न एकीकरणमा जान मान्छन् न ऐन अनुसार चल्छन्, समुदायमा आधारित नभै व्यावसायिक स्वार्थसिद्धिका लागि र संकलित रकमको मनोमानी प्रयोजनले सञ्चालित सहकारी खारेजीमा लैजाने प्रक्रियामा छौं ।

बाराका सहकारीविद डा. कृष्ण पौडेलले जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका कतिपय सहकारी संस्था सरकारले दिने अनुदान लिनका लागि मात्र दर्ता हुने र अनुदान लिइसकेपछि निष्क्रिय हुने गरेको बताए । उनले सहकारी संस्थाहरू ख्याल ख्यालमै दर्ता गर्ने गरेकाले कतिपय सहकारी सञ्चालकलाई सहकारीको आधारभूत ज्ञानसमेत नहँुदा सहकारी धरापमा परेको जनाए ।

‘सहकारीको बुझाइमा समस्या भयो, सहकारी सञ्चालनका आधारहरू तयार नगरी र सदस्यहरूलाई प्रशिक्षित नगरी सहकारी खुल्दा चल्न सकेनन्,’ डा. पौडेलले भने, ‘विशेषगरी मलखादको बिक्रीवितरण र कारोबारका लागि ३÷४ वर्षअगाडि खुलेका कृषि सहकारी र उपभोक्ता सहकारीहरू अहिले समस्यामा छन्, व्यक्तिमा निहित सहकारीहरू खारेजीको विकल्प छैन ।’

बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोलाप्रसाद गौतमले संघमा आबद्ध नभएका सहकारीहरू खारेजीमा परेको बताउँदै संशोधित सहकारी ऐनले यस्ता समस्यालाई निराकरण गर्ने जिकिर गरे ।

 

Leave A Reply

Your email address will not be published.