थारूको कारुणिक कथा ‘भुरभुरा रहर’

थारूको कारुणिक कथा ‘भुरभुरा रहर’

रमेश तिमल्सिना

थारूहरूका लागि अत्यन्तै महŒवपूर्ण चाड हो माघी । आज माघ १ गते । देशैभरका थारू माघी मनाउनमा व्यस्त छन् । एक साताअघि अर्थात् गत शनिबार थारू संस्कृति झल्काउने गरी सर्वनाम नाटकघरमा देखाइएको ‘भुरभुरा रहर’ हेरिसकेपछि केही न केही लेखूँलेखूँ लागेको थियो । वर्ग संघर्ष समाजको नियम नै हो । हरेक जातजाति, भूगोल र समुदायमा धनी र गरिब वर्ग हुन्छ । यही वर्गका आधारमा समाजमा संघर्ष चल्दै आएको छ । दुःखसुखको मापन गरिँदै आइएको छ । यस्तो मापन थारू समुदायमा पनि नहुने कुरै भएन । थारू मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुदूरपश्चिमका कैलाली कञ्चनपुर र पश्चिमका नवलपरासीमा अन्यत्रभन्दा धेरै छन् ।

img_0016
मित्र अधिकारकर्मी सुशील चौधरीले लेख्नुभएको भुरभुरा रहर भाषाका कारणले आधाभन्दा केही बढी मात्रै बुझियो । पुरै बुझ्न कठिन नै भयो । तर, सँगै बसेका चौधरीलाई सोधेर नबुझेका केही संवाद बुझ्न सजिलो भयो । लेखकसँगै बसेर नाटक हेर्ने अवसर कमैले पाउँछन् । नाटक हेर्ने क्रममा बाँडिएको एउटा ‘पेपर’ मा कथासार यसरी लेखिएको छ, ‘उमेर बढेसँगै भुरभुराजस्तै साथीहरूसँग मुजुरा बजाएर नाच्ने एक युवतीको रहर । मुजुरा किन्न नसकेर छटपटिएको एक परिवारको कारुणिक घटना । सन्तानका लागि मुजुरा किन्न दसैं नजिकिँदै जान्छ भूमिपुत्र थारू गाउँमा पारिवारिक त्याग । रहरभित्रको मनोवैज्ञानिक, सामाजिक हावी । संस्कृति संरक्षणका लागि एउटा बुलन्द आवाज र दस्तावेज । ५० दशक अगाडिको थारू समुदायको नालीबेली ।’ योसँगै नाटक हेर्दा आपूmले देखेका र अनुभव गरेका केही कुरा यसै आलेखमार्पmत पस्कन चाहन्छु ।
माघी पर्व थारूहरूको महŒवपूर्ण चाड तथा नयाँ वर्ष भए पनि यस नाटकमा दसैंको परिवेशलाई देखाउन खोजिएको छ । दसैंको रौनकसँगै गाउँघरमा रमझम सुरु हुन्छ । प्रायः सबै चाडबाड नाचगान गरेरै मनाउने थारूले कला, संस्कृतिको जगेर्ना गर्दै दसैं मनाउँछन् । नाटकका लेखक चौधरीका अनुसार थारू समुदायमा पुरुषले मादल (ढोलक) बजाउन जान्नैपर्छ र महिलाले नाच्न जान्नैपर्छ । यदि बजाउन र नाच्न नजान्ने केटाकेटी छन् भने उनीहरूको विवाह नै नहुने संस्कृति कायमै रहेको चौधरीले बताए । पश्चिम तराईका थारू दसैंमा लोकप्रिय सखिया नाचमा झुम्छन् । थारू गाउँका किशोरीहरू मादलको तालसँगै मुजुरा बजाउँदै सखिया नाच्छन् ।

img_0007
सखिया नाच्न थारू युवतीले हातमा लिएर बजाउने मुजुरा अनिवार्य हुन्छ । त्यो नभए युवतीहरू नाचमा सहभागी हुनबाट वञ्चित हुन्छन् । नाटकमा मुजुरा नहुँदा आफ्नो सँगीसँगै नाच्न नपाएकी एक युवती छिन् गुल्पी । गरीब परिवारकी गुल्पी नाटककी मुख्य पात्र पनि हुन् । उनी अन्य किशोरीजस्तै सखिया नाच्न चाहन्छिन् । तर, सखिया नाच्ने दिन आउँदासमेत उनीसँग मजुरा र फरिया हुँदैन । आफ्नै टोलमा साथीहरू मादलको तालमा सखिया नाचिरहँदा गुल्पी सुत्न नसकेर बेचैन देखिन्छिन् । गुल्पी हजुरआमासँग सुत्छिन् । तर, निदाउन सक्दिनन् । उनी ओछ्यानमै रुन्छिन् । जहाँ गयो त्यतै हराउँछिन् उनी । जे काम गर्न लाग्यो, त्यही काममा हराउने, टोलाउने गरेको दृश्यलाई नाटकमा कारुणिक रूपमा पस्किएको छ । गुल्पीका साथी पनि उनलाई नाचमा सहभागी गराउन चान्छन् । तर, गरिबीका कारण उनीसँग फरिया र मुजुरा नभएकाले सँगै नाच्न सक्दिनन् । उनको मनोविज्ञान बुझेर गुल्पीका बाबु, आमा र हजुरआमाले जायजेथा बेचेर मुजुरा र फरिया किनिदिन्छन् । यो दृश्यले गरिबीलाई जस्ताको तस्तै उतारेको छ । गुल्पी बाबाले ल्याइदिएको मजुरा र भुरभुरा लिएर रमाएको दृश्यले केही अघि भावुक बनेका दर्शकको मन पनि फुरुंगै भएको अनुभव गरिएको थियो । लेखक चौधरीका अनुसार मान्छेको रहर मार्नु भनेको जीवन मार्नुजस्तै हुने कुरा कथामा उतारिएको हो । उनका अनुसार पुस १५ गतेदेखि पुस २३ गतेसम्म सर्वनाम नाटक घरमा देखाइएको नाटकलाई थारू बाहुल्य क्षेत्रमा देखाउने सोच रहेकोमा दर्शकले प्रदान गरेको हौसलाका आधारमा पुनः काठमाडौंमा पनि देखाउने सोच बलियो हुँदै आएको छ । १३ जना कलाकार र अन्य प्राविधिक टोली गरेर २० जनाभन्दा कमैको जनशक्तिमा देखाइएको यो नाटकले थारू संस्कृतिबारे निकै जानकारी दिएको छ ।
थारूहरूको मात्रै सहभागितामा मञ्चन गरिएको थारू भाषाको नाटक भुरभुरा रहरले गैरथारूको पनि मन जितेको समाजसेवी चरसुन्दर महर्जनले बताए । उनले भने, ‘अभिनय र कलामा कुनै भाषाको गुन्जायसै हुँदो रहेनछ ।’ त्यसैगरी, ललितपुरका शिक्षक गोपाल घिमिरेको अनुभवमा भाषिक समस्याले नाटकको स्वादमा केही नपुगेजस्तै भयो । तर, नाटकभित्रको हास्य रस र भावुकताले मन छोएको उनको भनाइ छ । निर्देशक प्रणव आकाशले मञ्चमा उतारेको यो नाटकले साँच्चै गैर थारूलाई पनि आकर्षित गरेको अधिकारकर्मी सुबोधराज प्याकुरेलले बताए । संस्कृतिको जगेर्ना गर्ने काममा भुरभुरा रहरले महŒवपूर्ण योगदान पु¥याउने उनको भनाइ छ । यस्तो खालको रहर थारूमा मात्रै होइन अन्य जातजातिका युवायुवतीमा पनि हुन्छ । यस्तो रहर पूरा गर्ने अभिभावकचाहिँ कति होलान् ? जेहोस् कला–संस्कृतिको जगेर्नासँगै मनोविज्ञानको पाटोलाई पनि नाटकले दरैसँग समातेको छ ।

Leave A Reply

Your email address will not be published.