गुरुङ चलचित्र भेडी गोठाले प्रदर्शन हुँदै

राजधानी संवाददाता / लमजुङ

मिलन डिजी इन्टरनेसनल प्रालिको ब्यानरमा पहिलो गुरुङ संस्कृतिमा आधारित चलचित्र क्यु प्ह्रो छे अर्थात् भेडी गोठाले प्रदर्शन हुने भएको छ । सदरमुकाम बेंसीसहर ९ सेरास्थित अन्नपूर्ण चलचित्र मन्दिर हलमा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर चलचित्रको च्यारिटी सो हुने भएको हो ।

bhedi-ghodhale-film-poster-1

शुक्रबार सदरमुकाम बेंसीसहरमा तमु प्ये ल्हु संघ लमजुङ र फिल्म युनिटले संयुक्त पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको थियो । तमु जातिको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ लमजुङद्वारा निर्माण गर्न लागेको क्होइबो धिंलाई सहयोग पु¥याउने उद्देश्यले च्यारिटी सो गरिने निर्माता देउकी सिंजाली (दिपिका मिलन) ले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।

त्यस्तै, गुरुङ चलचित्रकी हिरोइन खुसी गुरुङले भनिन्, ‘पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने सोच नेपालीहरूको छ । भेडी गोठालेहरूले भेडी गोठ छोडी पैसा कमाउनका लागि विदेश जाने सोच गर्छ ।’

यस्तै, तमु प्ये ल्हु संघ लमजुङ अध्यक्ष क्या.मिलबहादुर गुरुङ चलचित्रमध्ये पहिलो यस चलचित्रले संघलाई सहयोग गर्न लागेको बताउँदै अरू चलचित्रहरूले यसरी नै सहयोग गर्न आग्रह गरे । ‘गुरुङ समुदायको पूजाआजामा भेठालाई पूजा गर्ने चलन रहेको छ, भेडी गोठ नै भएन भने कसरी हामी पूजा गर्ने ?’ उनले प्रश्न गरे ।

जिल्लाको पूर्वी पर्यटकीय क्षेत्र इलमपोखरी र भारते गाविसमा छायांकन गरिएको यो चलचित्र गुरुङ संस्कृति र संस्कारमा आधारित चलचित्र हो । यो चलचित्रले गुरुङ समुदायको लोप हुँदै गएको पराम्परादेखि भेडी गोठलाई समेत समावेश गरी अहिलेका युवा पुस्ताहरूलाई आफ्नो संस्कृति जोगाइराख्नुपर्छ भन्ने सन्देश दिन खोजिएको निर्माण युनिटले जनाएको छ ।

चलचित्रमा राजेश गुरुङ, अस्मी गुरुङ, सुवास, गौरी, सनम, खुशी, दुर्गा, मेखराज गुरुङलगायतको अभिनय रहेको छ । यो चलचित्रको कार्यकारी निर्माता दुर्गा गुरुङ, विक्रम गुरुङ, विजय गुरुङ र देउकी सिंजाली (दिपिका मिलन) ले मिलेर चलचित्र निर्माण गरेका हुन् । गुरुङ संस्कृतिमा आधारित नेपाली भाषामा रहेको चलचित्रको लगानी २० लाख रहेको छ । उक्त दिनमा हलमा तीन सो प्रदर्शन गरिने र ५ लाख रुपैयाँ टिकटबाट उठ्ने लक्ष्य फिल्म युनिटको छ । यो चलचित्र नेपालका विभिन्न सहरपछि नेपालबाहिर हङकङलगायतका देशमा प्रदर्शन गरिने भएको छ ।

 

Leave A Reply

Your email address will not be published.