‘नर्थ इस्ट इन्डिया कल्चरल फेस्टिभल–नमस्ते नेपाल’ : सांस्कृतिक आदान–प्रदानको अनुपम माध्यम

‘नर्थ इस्ट इन्डिया कल्चरल फेस्टिभल–नमस्ते नेपाल’

सांस्कृतिक आदान–प्रदानको अनुपम माध्यम

डब्बु क्षत्री

थरी–थरी नृत्य, विविध गायन, खानाका विभिन्न परिकार र फरक–फरक पेन्टिङका कारण ‘नर्थ इस्ट इन्डिया कल्चरल फेस्टिभल–नमस्ते नेपाल’ यादगार बन्यो । दुई साता लामो यो फेस्टिभल सिन्धुपाल्चोकको चौरातास्थित टुँडिखेलमा गायन एवं नृत्य प्रस्तुत गर्दैसकिएको छ । यो महोत्सवलाई भारतीय सांस्कृतिक परिषद्, भारतीय दूतावास काठमाडौंले आयोजना गरेको हो । महोत्सव गत १४ जनवरीबाट सुरु भएको थियो । कला प्रदर्शनीबाट सुरु भएको यो उत्तर–पूर्वी भारतीय सांस्कृतिक महोत्सव खाना महोत्सव, नृत्य एवं गायन हुँदै शुक्रबारबाट सकिएको हो । भारतको ६८औं गणतन्त्र दिवसको अवसरमा गत १४ जनवरीबाट २७ जनवरीसम्म दुई साता यो महोत्सव आयोजना गरियो ।

img_3617

महोत्सवमा उत्तर–पूर्वी भारतका आसाम, मणिपुर, मेघालय, अरुणाञ्चल प्रदेश, नागाल्यान्ड, मिजोराम, त्रिपुरा र सिक्किम सहभागी रहे । उनीहरूलाई नेपालका सम्बन्धित सहरका कलाकारहरू सांस्कृतिक प्रस्तुतिमा साथ दिए ।

यो महोत्सव उत्तर–पूर्वी भारत र नेपालको संयुक्त सांस्कृतिक प्रस्तुतिको संगम साबित भयो । नेपालका नौ सहरका दर्शकले उत्तर–पूर्वी भारत र नेपालको संस्कृतिसँगै एकै थलोमा रम्ने अवसर पाए । दुवै देशका कलाकारलाई आपसी विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतिसँगै गायन तथा नृत्यजस्ता कला सिक्नु–सिकाउनु अनुमप माध्यम बन्यो ।

img_6905img_4026

उत्तर–पूर्वी भारतका कला प्रदर्शनी

यो महोत्सवको सुरुवात कला प्रदर्शनीबाट गरिएको थियो । महोत्सवका अवसरमा गत १४ जनवरीमा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी उत्तर–पूर्वी भारतको कलामय तुल्याइयो । त्यहाँ यी आठ प्रदेशका विविध संस्कृति, भौगोलिक अवस्था, समाज, प्राकृतिक सुन्दरता आदि समेटिएका चित्रहरू प्रदर्शनीमा राखिएको थियो ।

सो प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीवनबहादुर शाहीले गरेका थिए । प्रदर्शनी उद्घाटनमा नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत अतिथि थिए । यो चित्रकला प्रदर्शनी १४ जनवरीबाट १९ जनवरीसम्म आयोजना गरियो ।

रीति एकेडेमी अफ भिजुअल आर्ट एकेडेमीले आयोजना गरेको सो प्रदर्शनीमा उत्तर–पूर्वी भारतका ३७ वटा चित्र राखिएका थिए । प्रदर्शनीको समापन १९ जनवरीमा राजधानीको ¥याडिसन होटलमा गरियो ।

फुड फेस्टिभलमा विविध परिकार

महोत्सवका अवसरमा १९ जनवरीमा काठमाडौंका होटल ¥याडिसनमा उत्तर–पूर्वी भारतको फुड फेस्टिभल (खाना महोत्सव) आयोजना गरियो । उत्तर–पूर्वी भारतको आठवटै प्रदेशका विविध परिकारका कारण सो महोत्सव एकतामा विविधता बनेको थियो ।

img_3719

महोत्सवमा एकै थलोमा खाना प्रेमीले आठ प्रदेशकै खाना चाख्ने अवसर पाए । काठमाडौंवासीलाई यो महोत्सव उत्तर–पूर्वी भारतको विविध खानालाई चिन्ने र स्वाद लिने सही अवसर बन्यो ।

महोत्सवमा आसामको चामलको केकको परिकार ‘पिठा’ र शाकाहारी परिकार ‘पोकोरी’, सिक्किमको गुन्द्रुकको परिकार र मोमो, त्रिपुराको माछा र बोडीको मिश्रित परिकार ‘कोसोई व्ट्बी’ राखिएको थियो । यस्तै मणिपुरको ग्रिन सलाद, बोडी र केक मिश्रित परिकार ‘सिन्जु पाक्नाम’ र कालो चामलको खिर, मिजोरमको ‘मिजो खिचडी’ र मासु मिश्रित परिकार ‘स्वचैर’, नागाल्यान्डको तामा र सुँगुरको मासु मिश्रित विविध परिकार राखिएका थिए ।

यस्तै, अरुणाञ्चल प्रदेशको केरा, चामलको पीठो र अदुवा मिश्रित परिकार ‘कोट पिठा’ र मेघालयको खासी समुदायको कुखुरको मासुयुक्त परिकार ‘दोह सियर नेइयोन’ राखिएको थियो । नेपालीसँग उत्तर–पूर्वी भारतबाट आएका अतिथिहरूका लागि पनि एकले अर्को प्रदेशको परिकारको स्वादमा रमाउने यो उपयुक्त अवसर साबित भएको थियो ।

सोही क्रममा उत्तर–पूर्वी भारतका संस्कृतिबारे अन्तक्र्रिया आयोजना गरिएको थियो । सो अन्तक्र्रिया कार्यक्रममा इन्डियन काउन्सिल फर कल्चर रिलेसन सिलोङको रिजनल अफिसर एन मुनिम सिंह, उत्तर–पूर्वी काउन्सिल सिलोङका निर्देशक मानस रञ्जन महापात्र र काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख विनय कुमारले उत्तर–पूर्वी भारतका बारेमा चर्चा गरे । कार्यक्रममा उनीहरूले उत्तर–पूर्वी भारतको वेशभूषा, धर्म, संस्कृति, जीवनशैली, गीतसंगीत, नृत्य, कलाबारे जानकारी गराइएको थियो ।

महोत्सवमा उत्तर–पूर्वी भारतका चार समूह

img_6786

उत्तर–पूर्वी भारतीय सांस्कृतिक महोत्सव–नमस्ते नेपालमा भारतका चार प्रदेशका सांस्कृतिक टोलीले आफ्ना गीतसंगीत एवं नृत्य प्रस्तुत गरे । सांस्कृतिक कार्यक्रमका लागि मेघालयबाट सिलोङ च्याम्बर मन्डरी, मिजोरमबाट लिली भेङ कल्चरल एन्ड ड्रामा क्लब, मणिपुरको थोइबी मणिपुरी डान्स एन्ड कल्चरल रिसर्च इन्टिच्युट र नागाल्यान्डको टेट्सियो सिस्टर्स समूहले आफ्ना आफ्ना नृत्य एवं गायन प्रस्तुत गरे ।

यी चार समूह नै भारतका उत्कृष्ट सांस्कृतिक समूहका रूपमा परिचित छन् । इन्डिया गड ट्यालेन्ट–२०१० रियालिटी सोको विजेता तथा सिलोङ च्याम्बर मण्डलीका कलाकारले यो महोत्सवमा आफ्ना चर्चित विभिन्न गीति कार्यक्रम प्रस्तुत गरे । यस्तै, लिली भेङ कल्चरल एन्ड ड्रामा क्लब मिजोरामका कलाकारले विविध लोकनृत्य प्रस्तुत गरे । थोइबी मणिपुरी डान्स एन्ड कल्चरल रिसर्च इन्स्टिच्युट मणिपुरका कलाकारले त्यहाँको लोकप्रिय शास्त्रीय नृत्य थेइबीबाट नेपाली दर्शकको मन जिते । टेट्सियो सिस्टर्स नागाल्यान्डका चार महिला कलाकारले ली र नागा भाषाका विभिन्न लोकगीत सुनाए ।

नेपालका नौ सहरमा सांस्कृतिक कार्यक्रम

भारतीय सांस्कृतिक परिषद्, भारतीय दूतावास काठमाडौंले नेपालका पहाडी तथा तराईका नौ सहरमा ‘डोज अफ नर्थ इस्ट इन्डियन कल्चरल फेस्टिब–नमस्ते नेपाल’ आयोजना गरियो । यो महोत्सव काठमाडौं, ललितपुर, पोखरा, धरान, विराटनगर, जनकपुर, वीरगन्ज, सिन्धुपाल्चोक (चौतारा) र दोलखा (जिरी) मा आयोजना गरिएको हो ।

यी चार समूहले स्थानीय कलाकारसँग संयुक्त सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाले पनि दुई देशको विविध कार्यक्रम स्थानीय दर्शकले एउटै मञ्चमा अवलोकन गर्ने अवसर पाए ।

img_4086

सांस्कृतिक महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रमको सुरुवात २० जनवरीदेखि ललितपुरको पाटन दरबार क्षेत्रबाट सुरु भएको थियो । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा लिली भेङ कल्चरल एन्ड ड्रामा क्लब मिजोरामका कलाकारले आफ्ना लोकनृत्य प्रस्तुत गरे । कार्यक्रममा ललितपुर ज्यापू समाज र अक्षेश्वर महाविहारका कलाकारहरूले ज्यापू तथा अन्य नृत्य प्रस्तुत गरे ।

काठमाडौंमा आर्मी अफिसर्स क्लब, राष्ट्रिय सभागृह र भारतीय दूतावास गरी तीन ठाउँमा यो महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । राष्ट्रपति विधादेवी भण्डारीको प्रमुख आतिथ्यमा २४ जनवरीमा आर्मी अफिसर्स क्लबमा सम्पन्न सो कार्यक्रममा टेट्सियो सिस्टर्स नागाल्यान्डका कलाकारले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । सुरसुधाका कलाकार सुरेन्द्रले प्रस्तुत गरेको सांगीतिक धून पनि कार्यक्रमको आकर्षण थियो ।

यस्तै, काठमाडौंको राष्ट्रिय सभागृहमा २१ जनवरीमा सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न सो सांस्कृतिक कार्यक्रममा थोइबी मणिपुरी डान्स एन्ड कल्चर रिसर्च इन्स्टिच्युटका कलाकारले आफ्ना शास्त्रीय नृत्य प्रस्तुत गरे । सो क्रममा काठमाडौं महानगरपालिकाका कलाकारले विभिन्न नेवारी तथा लोकनृत्य प्रस्तुत गरेका थिए । यस्तै २६ जनवरीको दिन ६८औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंको लौनचौरस्थित इन्डियन हाउसमा पनि थोइबी मणिपुरी डान्स एन्ड कल्चरल इन्टिच्युटका कलाकारले आफ्ना सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

यो फेस्टिभलअन्तर्गत २२ जनवरीमा पोखराका सभागृहमा वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सिलोङ चेम्बर मण्डलीका कलाकार र स्थानीय कलाकारले आफ्ना गीत एवं नृत्य प्रस्तुत गरे । सोही दिन राज्य पुनर्निर्माण संरचनामन्त्री सीताराम महतोको प्रमुख आतिथ्यमा धरान सभागृहमा लिली भेङ कल्चर एवं ड्रामा क्लब र स्थानीय कलाकारले आफ्ना नृत्य एवं गीतबाट धरानवासीको मन जिते ।

२३ जनवरीमा यो महोत्सव विराटनगर र जनकपुरमा आयोजना गरियो । जनकपुरमा संस्कृतिमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेको सो महोत्सवमा थोइबी मणिपुरीका कलाकारले शास्त्रीय नृत्य र स्थानीय कलाकारले मैथिली नृत्य प्रस्तुत गरे । यस्तै, विराटनगरमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको आतिथ्यमा आयोजित सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारसहित लिली भेङ कल्चरल एन्ड डान्स क्लबका कलाकारले नृत्य एवं गायन प्रस्तुत गरे ।

२४ जनवरीमा शान्ति एवं पुनर्निर्माणमन्त्री सीतादेवी यादवको प्रमुख आतिथ्यमा वीरगन्जमा थोइबी मणिपुरी डान्स एन्ड कल्चरल इन्स्टिच्युटका कलाकारले आफ्ना नृृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपाल भारत महिलामैत्री समाजका कलाकारले नेपाली तथा भोजपुरी नृत्य प्रस्तुत गरे ।

यस्तै, सो महोत्सवअन्तर्गत २५ जनवरीमा दोलखाका जिरीमा टेट्सियो सिस्टर्स नागाल्यान्डका चार महिला कलाकारले आफ्ना चर्चित लोकभाकाहरू सुनाए । सो कार्यक्रममा जिरेल कलाकारले आफ्ना नृत्य एवं गीत–संगीत प्रस्तुत गरे ।

सिन्धुपाल्चोकको चौतारा डुँडिखेलमा शुक्रबार २७ जनवरीमा विविध नृत्य एवं गायन प्रस्तुतिसँगै यो महोत्सव सकिएको छ । भारतीय राजदूत रणजित रायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा टेट्सियो सिस्टर्स नागाल्यान्डका कलाकारले आफ्नो लोकभाका सुनाए । स्थानीय कलाकारले सो कार्यक्रममा तामाङ तथा अन्य भाषाका गीत एवं नृत्य प्रस्तुत गरे । यसरी, काठमाडौंसहित मुलुकका नौ सहरमा आयोजित यो सांस्कृतिक कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट यु–टर्नले गरेका थियो ।

सांस्कृतिक एकताका लागि महोत्सव

img_7339

भारतीय सांस्कृतिक परिषद्, भारतीय दूतावास काठमाडौंका निर्देशक रोशन लेप्चाले नेपाल र उत्तर–पूर्वी भारतको सांस्कृतिक एकता एवं आदानप्रदानका लागि यो महोत्सव आयोजना गरिएको बताए, ‘नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभएर सदियौंदेखि जनताबीच प्रत्यक्ष सांस्कृतिक, धार्मिक, सामाजिक सम्बन्ध रहँदै आएको छ । जनताबीचको यो सम्बन्धलाई अझ प्रगाढ तुल्याउन राजनीतिभन्दा संस्कृति सशक्त माध्यम भएकाले हामीले नेपालमा यसपटक उत्तर–पूर्वी भारतीय सांस्कृतिक महोत्सव आयोजना गरेका हौं ।’

महोत्सव उत्तर–पूर्वी परिषद् सिलोङ, भारतीय सांस्कृतिक परिषद् नयाँ दिल्लीको सहकार्यमा सम्पन्न भएको निर्देशक लेप्चाले जानकारी गराए । नेपाल सरकार, मन्त्रीहरू, स्थानीय प्रशासन, स्थानीय कलाकार, नेपाल–भारत मैत्री समाजलगायत विभिन्न संघ÷संस्थाको सहयोगले यति ठूलो महोत्सव सम्पन्न गर्न आफूहरू सफल भएको उनको कथन छ । सबैलाई धन्यवाद ज्ञापन गर्दै निर्देशक रोशन लेप्चाले भने, ‘महोत्सवमा नमस्ते नेपालअन्तर्गत भारतबाट आएका कलाकारले हरेक ठाउँमा यस्तो भव्य स्वागत गरियो कि सो स्वागत उनीहरूका लागि अविस्मरणीय बन्यो । महोत्सवमा हामीले पाएको सहयोगप्रति हामी सबैसँग आभारी छौं ।’

Leave A Reply

Your email address will not be published.