जेठमा निर्वाचन नभए पहिले प्रतिनिधि सभा निर्वाचन : एमाले

ppp
मोहन बस्याल/युएई

वर्तमान सरकारले जेठ मसान्तभित्र स्थानीय निर्वाचन गराउन नसके एमालेले पहिले प्रतिनिधिसभा निर्वाचनको माग गर्ने भएको छ । नेकपा एमालेका केन्द्रिय सचिव तथा स्थायी समिति सदस्य प्रदिप ज्ञवालीले नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन् ।

अहिले क्रमशः स्थानीय तह, प्रदेश र केन्द्रिय प्रतिनिधि सभाको निर्वाचन गराउनका लागि दबाब सृजना गर्दै आएपनि जेठभित्र स्थानीय निकायको निर्वाचन नभए कात्तिकमा प्रतिनिधिसभा निर्वाचन गराउन दबाब दिने उनले बताए । ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन गराउन नसके मुलुकमा संवैधानिक संकट आउने भएकाले आफूहरु निर्वाचनको वातावरण बनाउन दबाब सृजनामा लागेको उनले बताए ।

वर्तमान सरकारको मुख्य जिम्मेवारी संविधान कार्यान्वयनका लागि निर्वाचन गराउने भएपनि छ महिनाको अवधि निर्वाचन गराउन ध्यान नदिएर खेर फालेको उनले आरोप लगाए । “निर्वाचन गराउन ९ वटा कानुन पास हुनुपर्छ तर अहिलेसम्म चार वटा कानुनको ड्राफ्ट पनि भएको छैन, उनले भने । तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर निर्वाचनको तयारी अगाडि बढाउनु पर्ने उनले बताए ।

निर्वाचनको मिति तोक्ने जिम्मा सरकारको भएपनि त्यसमा आलटाल भैरहेको उनले बताए । “हामीसँग माघ १५ गतेभित्र मिति तोक्छु भन्ने मधेशी मोचासँग छलफल गर्दा तपाईंहरुसँग सहमति नभई त कसरी मिति तोक्छु भन्ने कार्यकारी प्रमुखको यस्तो दोहोरो चरित्रले गम्भिर शंका उत्पन्न गराएको छ,” उनले भने ।

कुनै दल विशेषले निर्वाचनमा जान्न भन्दैमा निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने उनले बताए । वर्तमान सरकारले छिमेकीसँगको सम्बन्धको सन्तुलन बिगारेको नेता ज्ञवालीले आरोप लगाए ।

तराईका केही जिल्लामा देखिएका विखण्डनकारी गतिविधिबारे टिप्पणी गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले नै विखण्डनकारीको मनोबल बढाउने काम गरेको आरोप लगाए । सिके राउतका गतिविधिप्रति असन्तोष प्रकट गर्दै नेता ज्ञवालीले उनका राष्ट्रघाती गतिविधिका प्रमाण जुटाएर कानुनी कारवाही हुनु पर्ने बताए । राउत पक्राउ पर्नु स्वागत योग्य छ तर कारवाही नगरी हिरो बनाएर छाड्ने काम भयो भने त्यो दुर्भाग्यपुर्ण हुन्छ, उनले भने ।

एमाले नेता ज्ञवालीले मुलुकको सम्बृद्धिका लागि राजनीतिक स्थिरता चाहिने र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने कुरामा एमाले प्रष्ट रहेको बताए । ढिलो चाडो मुलुक त्यही दिशामै जान्छ, उपयुक्त समयमा हामी त्यो कुराको पनि घोषणा गर्छौं, नेता ज्ञवालीले भने ।

Leave A Reply

Your email address will not be published.