संस्थागत सुशासन र उच्चतम प्रतिफल प्राथमिकतामा

संस्थागत सुशासन र उच्चतम प्रतिफल प्राथमिकतामा

मुलुकको बैंक तथा वित्तीय क्षेत्र पछिल्लो सयमा निकै चर्चामा छ । खासगरी यस क्षेत्रमा हाल देखिएको तरलताको अभाव, नेपाल राष्ट्र बैंकको घोषणाअनुरूप पुँजी बढाउनुपर्ने बाध्यता र त्यसैको दबाबले सिर्जना भएको मर्जर तथा एक्विजिसन वा पुँजी थप गर्नुपर्ने व्यवस्थालगायतका प्रमुख कारण यस क्षेत्रलाई बढी चर्चामा ल्याएको हो । बैंकहरूले निक्षेपमा वृद्धि नगरी तरलताको समस्या समाधान नहुने बताउँछन्, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल । विगत २७ वर्षदेखि बैंकिङ तथा बिमा क्षेत्रमा विभिन्न नेतृत्वदायी भूमिकामा रही कार्यसम्पादन गरेको अनुभव सँगालेका रिसालसँग नेपालको बैंकिङ क्षेत्र, विद्यमान अवस्था र चुनौतीलगायतका विषयमा आधारित रही राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानी :

लक्ष्मण रिसाल

laxman

प्रमुख कार्यकारी अधिकृत

एनआईसी एसिया बैंक लिमिटेड

० एनआईसी बैंकको अहिलेको अवस्थाबारे बताइदिनुस् न ।

– नेपालका दुई स्वस्थ वाणिज्य बैंकबीचको मर्जरपश्चात् १६ असार २०७० बाट एनआईसी एसिया बैंकको नामबाट कारोबार गर्दै आएका छौं । ख्यातिप्राप्त तथा व्यावसायिक दक्षता भएका नेपाली संस्थापकद्वारा प्रवद्र्धित यस बैंकले संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिई सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्दै आएको छ । फाइनान्सियल टाइम्स, लन्डनद्वारा प्रकाशित हुने प्रतिष्ठित प्रकाशन ‘द बैंकर’ बाट विश्वव्यापी रूपमा नै बैंकिङ क्षेत्रमा उच्च मान्यताप्राप्त रहेको र हरेक एक वर्षमा देशको कुनै एक मात्र बैंकलाई प्रदान गरिने अति नै सम्मानित अवार्ड दुईपटक बैंक अफ द इयर २००७ तथा बैंक अफ द इयर २०१३ प्राप्त गरी ग्राहकसमक्ष एक सबल बैंकका रूपमा नेपाल अधिराज्यभरिका आफ्ना ७८ वटा शाखा तथा तीन एक्सटेन्सन काउन्टरमार्फत करिब ६ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छौं ।

० यस प्रतिस्पर्धी आर्थिक परिदृश्यमा तपाईको बैंकले कस्तो रणनीति लिई अगाडि बढेको छ ?

– अहिलेको व्यावसायिक वातावरण निकै चुनौतीपूर्ण रहेको छ । सो चुनौतीलाई सामना गर्नका लागि हामीले गत आर्थिक वर्षमा नै दीर्घकालीन रणनीति ‘स्टाटेजी २०२०’ तर्जुमा गरी सोहीअनुसार अगाडि बढेका छौं । सो रणनीतिअनुसार बचत खाता व्यापक रूपमा परिचालन गर्ने, साना तथा मझौला उद्योगमा लगानी बढाउने, शाखा सञ्जाल वृद्धि गर्ने, एटीएम संख्या बढाउने, प्रविधिको अधिकतम उपयोग गरी सञ्चालन खर्चमा मितव्ययिता ल्याउने, डिजिटल बैंकिङको क्षेत्रमा अग्रणी बंैकका रूपमा स्थापित हुने र बंैकको ब्रान्ड भ्यालुमा उल्लेख्य वृद्धि गर्दै लैजाने दीर्घकालीन लक्ष्यहरूका साथ अघि बढिरहेका छांै ।

० यो आर्थिक वर्ष चुक्ता पुँजी ८ अर्ब पु¥याउने अन्तिम वर्ष हो, यहाँहरूले चुक्ता पुँजी पु¥याउनका लागि के गरिरहनुभएको छ ?

– हामी नेपाल राष्ट्र बंैकमा पेस गरेको हाम्रो पुँजी वृद्धि योजनाअनुरूप नै अघि बढेका छांै । हाम्रो बैंकको अहिलेको चुक्ता पुँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अहिले हामी पुँजी वृद्धि योजनाअनुसार नै १५ प्रतिशत (८७ करोड रुपैयाँ) हकप्रद सेयर निष्कासन गर्न गइरहेका छौं । सो हकप्रद सेयरपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ जसमा यस वर्षको प्रक्षेपित २० प्रतिशतको बोनस सेयरपश्चात् हाम्रो चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

० बैंकको हकप्रद सेयर कहिलेदेखि आउँछ ?

– हामीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पु¥याएका छौं । धितोपत्र बोर्डसँग निष्कासन स्वीकृतिका लागि विवरणपत्र दर्ता गरिसकेका छौं । यस वर्षको अन्तिम त्रैमासको पहिलो महिनासम्ममा बाँडफाँट गरिसक्ने लक्ष्य राखेका छौं ।

० तपाईंले चुक्ता पुँजी ८ अर्बलाई उचित प्रतिफल दिनका लागि कस्तो योजना बनाउनुभएको छ ?

– मैले अघि नै हाम्रो दीर्घकालीन नीतिहरूका बारेमा प्रस्ट पारिसकें । उक्त नीतिहरूलाई अवलम्बन गर्दै कार्यान्वयनमा ल्याउँदै जाँदा बढेको पुँजीमा समेत उचित प्रतिफल दिन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

० बैंकको दोस्रो त्रैमासको प्रफर्मेन्स कस्तो रहेको छ ?

– बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय नतिज समग्र रूपमा उत्साहजनक रहेको छ । हामीले यस वर्ष निर्धारण गरेको लक्ष्यअनुसार नै वित्तीय विवरणहरू हासिल गर्न सफल भएका छौं । यस वर्षको दोस्रो त्रैमाससम्ममा हामी कर्जा तथा निक्षेपतर्फ वार्षिक बिन्दुगत आधारमा क्रमशः ४३ तथा ३६ प्रतिशतको वृद्धि गरी क्रमशः ६७ अर्ब ५० करोड तथा ७९ अर्ब ७ करोड पु¥याउन सफल भएका छौं । खुद मुनाफातर्फ भने ४४ प्रतिशतको वृद्धि हासिल गरी ७२ करोड कमाउन सफल भएका छौं, साथै कुल सम्पत्तिमा प्रतिफलतर्फ १ दशमलव ६९ प्रतिशत तथा स्वपुँजीमा प्रतिफलतर्फ १८ दशमलव १ प्रतिशत हासिल गरेका छौं जुन अघिल्लो वर्ष क्रमशः १ दशमलव ५९ प्रतिशत तथा १७ दशमलव ४ प्रतिशत रहेको थियो । त्यस्तै, गत वर्ष दोस्रो त्रैमासमा १ दशमलव ४० प्रतिशत रहेको कुल खराब कर्जामा उल्लेख्य सुधार गरी शून्य दशमलव ७२ प्रतिशत कायम गर्न सफल भएका छांै ।

० अहिले बैकिङ क्षेत्रमा देखापरेको तरलताको अभाव के का कारणले उत्पन्न भएको हो ? यसको असर अन्य क्षेत्रहरूमा कस्तो पर्ने अनुमान गर्नुभएको छ ?

– अहिले बैंकहरूमा तरलता अभावभन्दा पनि लगानीयोग्य रकमको अभाव भएको हो । यसको प्रमुख कारणमा विप्रेषणमा आएको कमी, राष्ट्रको राजस्व संकलन अघिल्लो वर्षभन्दा वृद्धि भएको तर सरकारको पुँजीगत खर्च न्यून हुनु, वैदेशिक व्यापार घाटाको तह फराकिलो हुँदै जानु हो भन्ने मेरो बुझाइ रहेको छ । बैंकहरूले कर्जा वृद्धिलाई यस वर्ष उत्साहजनक रूपमा अगाडि बढाए, तर सोअनुसार निक्षेपको वृद्धि भने हुन सकेन जसले गर्दा अहिलेको लगानीयोग्य रकमको अभावको स्थिति सिर्जना हुन गएको हो । जसको असर बैंकहरूको थप कर्जा विस्तारमा पर्नेछ, गुणस्तरीय कर्जा मागमा कमी आउनेछ, स्रोतको लागतमा वृद्धि हुनाले मुद्रास्फीतिको दरमा वृद्धि हुने, अर्थतन्त्रको वृद्धिदरमा कमी आउने, कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा कमी आउने तथा बैंकहरूको निष्क्रिय कर्जा अनुपातमा वृद्धि हुने सम्भावनाहरूलाई समेत नकार्न सकिन्न ।

० राष्ट्र बैंकले तरलताका लागि रिपो तथा बोन्ड अउटराइट पर्चेजजस्ता वित्तीय उपकरण ल्याउँदासमेत बैंकहरूको न्यून समावेशले तरलताको समस्या बैंकहरूले भनेजस्तो छैन भनिन्छ नि ?

– मैले अघि नै भनिसके कि बैंकहरूलाई तरलताको अभावभन्दा पनि लगानीयोग्य रकमको अभाव भएको हो, बैंकहरूको कर्जा निक्षेप अनुपात साँँघुरो भएको हो, बैंकहरूसँग तरलता त २० प्रतिशतभन्दा माथि नै छ जसले तरलताको अवस्था सहज रहेको देखाउँछ । तर, कर्जा विस्तारमा भएको वृद्धिभन्दा निक्षेपमा भएको वृद्धि कमी भएका कारणले बैंकहरूको लगानीयोग्य रकममा कमी भएको हो । जसको समाधानका लागि बैंकहरूको निक्षेपमा नै वृद्धि हुनुपर्ने हुन्छ, अन्यथा अहिलेको अवस्था समाधान हुँदैन । बैंकहरूले राष्ट्र बैंकले तरलता समाधानका लागि ल्याएको रिपो तथा अन्य वित्तीय उपकरणहरूमा कम सहभागिता देखाएको पनि त्यही कारणले हो । बैंकहरूसँग २० प्रतिशत तरलता रहेको, तर कर्जा लगानीका लागि मात्र रकम नभएको हो । जुन राष्ट्र बैंकले अहिले ल्याएको रिपो तथा बोन्ड अउटराइट पर्चेजबाट सम्भव छैन, तसर्थ सो वित्तीय उपकरणहरूको सहभागितामा कमी भएको हो ।

० बैंकका अहिलेका चुनौतीहरूका बारेमा केही भनिदिनु हुन्छ कि ?

– मैले माथि नै भनिसके कि तरलता अभावले बैंकहरूको स्रोतको लागतमा वृद्धि हुनेछ, जसले गर्दा अपेक्षित मुनाफामा कमी आउनु, ८ अर्बको चुक्ता पुँजीलाई अहिलेको व्यवसायद्वारा प्रतिफल प्रदान गर्न, अहिलेको तरलता अभावमा नाफाको वृद्धिलाई कायम गर्नु, बढ्दो सञ्चालन लागत, स्प्रेडदरमा भएको कमी नै मुख्य चुनौतीहरू हुन् जस्तो लाग्छ ।

० बैंकले शाखा विस्तारमा निकै आक्रामक रणनीति लिएको देखिन्छ किन ?

– हामी शाखा विस्तारमा आक्रामक भएकै हो, किनभने मर्जरपश्चात मर्जरका कारणले हामीले स्थानान्तरणबाहेक थप नयाँ शाखा खोल्न सकेका थिएनौंं । यस वर्ष मात्रै १२ वटा नयाँ शाखा तथा दुईवटा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याइसकेका छौं र थप शाखाहरू सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेका छौं । शाखा विस्तारले बैंकको निक्षेप संकलन तथा कर्जा लगानीमा थप वृद्धि गर्नेछ र बैंकको मुनाफामा थप योगदान गर्नेछ, जसले अहिलेको पुँजी वृद्धिलाई प्रतिफल पु¥याउन सहयोग गर्नेछ । बैंकहरूलाई शाखा विस्तार गर्नु बाध्यात्मकजस्तै भएको छ, किनभने नेपाल राष्ट्र बैंकले जुन ८ अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, त्यसले पनि बैंकहरूलाई आफ्नो व्यवसाय विस्तारमा थप वृद्धि गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । फलस्वरूप आफ्ना शाखा सञ्जालहरू बिस्तारमा पनि उचित ध्यान पु¥याउन आवश्यक छ ।

० नेपाल राष्ट्र बैंकले हाल कुल कर्मचारी खर्चको न्यूनतम ३ प्रतिशत खर्च कर्मचारीको तालिम तथा वृत्ति विकासमा खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यसमा तपाईंको धारणा के छ ?

– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा भएको कुल कर्मचारी खर्चको ३ प्रतिशत चालू आर्थिक वर्षमा गर्नुपर्ने व्यवस्था गरेको छ । जुन एकदमै राम्रो प्रावधान ल्याएको छ भन्ने मेरो बुझाइ रहेको छ । यसले बैंकको उत्पादकत्वमा वृद्धि गर्ने तथा कर्मचारीको वृत्ति विकासमा सहयोग गर्नेछ । हामीले यस वर्षको बजेट निर्माण गर्दाको अवस्थामा नै उक्त कुरालाई ध्यानमा राखेर आफ्ना कर्मचारीहरूलाई नियमित रूपमा तालिम तथा वृत्ति विकासमा विशेष जोड दिँदै आएका छौं ।

– नेपाल राष्ट्र बैंकले आफ्नो नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने भन्ने व्यवस्था मौद्रिक नीतिमा ल्याएको छ । यसमा यहाँको भनाइ के रहेको छ ?

– निश्चय नै संस्था पनि देशको एक नागरिक नै हो उसले आफूले कमाएको मुनाफाको केही अंश संस्थागत सामाजिक कार्यमा खर्च गर्नुपर्ने नै हुन्छ । हामीले धेरै वर्षदेखि उक्त कार्य गर्दै आएका छौं । हाम्रो छुट्टै संस्था एनआईसी एसिया फाउन्डेसन छ । जुन संस्थामा आफ्नो खुद मुनाफाको शून्य दशमलव ५ प्रतिशत सामाजिक उत्तरदायित्वअन्र्तगत खर्च गर्नका लागि हरेक वर्ष छुट्टा्याउँदै आएका छौं र सो संस्थामार्फत खर्च गर्दै आइरहेका छौं ।

यसै वर्ष मात्रै हामीले सो संस्थामार्फत देशभर करिब ७ लाख वृक्षरोपण गर्ने लक्ष्य रहेको छ । यसमध्ये करिब २ हजार वृक्षरोपण कार्यक्रम सुरु भइसकेको छ । त्यसैगरी, धुम्रपानविरुद्ध जनचेतना अभिवृद्धि, वित्तीय साक्षरताको कार्यक्रम, रगत संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग, खेलाडीहरूको प्रायोजनलगायत विभिन्न कार्यहरू गरिरहेका छांै । नेपाल राष्ट्र बैंकको यस कदम सह्रानीय कदम हो भन्ने मलाई लागेको छ ।

० नेपाल सरकारले ल्याएको सबै नेपालीको बैंक खाता अभियानमा यहाँको बैंकको सहयोग कस्तो रहन्छ ?

– हामीले नेपाल सरकारले ल्याएको सबै नेपालीको बैंक खाता अभियानलाई सहयोग गर्नका लागि बैंक फर अल भन्ने नारालाई अगाडि लिएर ग्राहकहरूको घरदैलोमा पुगी खाता खोल्ने अभियानहरू सञ्चालनमा ल्याएका छौं । जसबाट हामीले यस वर्ष उत्साहजनक संख्यामा खाताहरू खोल्न सफल भएका छौं । साथै, बैंकिङ पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत शाखा विस्तारको योजना अगाडि बढाएका छौं । जसले नेपाल सरकारले ल्याएको सबै नेपालीको बैंक खाता अभियानलाई थप सहयोग गर्छ भन्ने मेरो विश्वास रहेको छ ।

० बैंकको ठूला परियोजनाहरूमा लगानी कस्तो रहेको छ ?

– हामीले ठूला परियोजनाअन्तर्गत लगानी गर्नका लागि एक छुट्टै एकाइको स्थापना गरी लगानी गर्दै आएका छौं । हालसम्म ठूला जलविद्युत्, सिमेन्ट, होटल, अस्पताल तथा अन्य क्षेत्रमा उल्लेख्य रकम लगानी गरिसकेका छौं । बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेपश्चात् हामी ती क्षेत्रमा थप परियोजनामा लगानी गर्ने योजनामा छौं । विशेषगरी, जलविद्युत् परियोजनाहरूमा थप लगानी गर्ने हाम्रो योजनामा रहेको छ । जसले बैंकको उत्पादनशील क्षेत्रअन्तर्गतको कर्जा वृद्धिमा पनि थप सहयोग गर्नेछ ।

० तपाईंहरूको सहायक कम्पनीको अवस्था के–कस्तो रहेको छ ?

– बैंकको सहायक कम्पनीको रूपमा एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त संस्था सञ्चालनमा ल्याउने तयारीमा रहेका छौं । एनआईसी एसिया क्यापिटलको औपचारिक सञ्चालनको अन्तिम तयारी भइरहेको छ । जसको सञ्चालन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दिएका छौं । यही महिनाबाट औपचारिक सञ्चालन गर्ने लक्ष्य राखेका छौं । साथै, यस बैंकको अर्को सहायक कम्पनी लघुवित्त संस्था सञ्चालनका लागि आशयपत्र नेपाल राष्ट्र बैंकमा दर्ता गरेका छौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पाउनासाथ दर्ता प्रक्रिया अगाडि बढाउने योजनामा छौं ।

० वित्तीय साक्षरता बढाउनमा तपाईंहरूले के–कस्तो कार्यक्रम गर्दै आउनुभएको छ ?

– हामीले वित्तीय साक्षरता तथा बैंकिङ पहुँच वृद्धिका लागि खोल्न लागेका नयाँ शाखाहरू बैंकिङ पहुँच कम भएका दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेका छौं । साथै, हाम्रो एनआईसी फाउन्डेसनमार्फत बैंकिङ साक्षरता वृद्धिका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौं र थप कार्यक्रम सञ्चालनमा ल्याउनका लागि हालै नेसनल बैकिङ इन्स्टिच्युटसँग सहमतिपत्रमा हस्ताक्षर गरेका छौं । साथै, बैंकबाट प्रत्यक्ष विपन्न वर्ग कर्जा प्रदान गरेका ग्राहकहरूलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौं । जसले विपन्न वर्गमा रहेका वर्गहरूमा वित्तीय साक्षरताको स्तरलाई थप अभिवृद्धि गर्नेछ भन्ने मेरो विश्वास रहेको छ ।

० अन्त्यमा, थप केही भन्न चाहनुहुन्छ ?

– बैंकिङ क्षेत्रमा देखिएको अहिलेको लगानीयोग्य रकम अभावको अवस्था छिट्टै समाधान गर्न बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि हुने गरी वित्तीय उपकरण ल्याइयोस् या नेपाल सरकारबाट ठोस कदम छिट्टै नै चालियोस् भन्न चाहन्छु । बंैकिङ क्षेत्रको कर्जा विस्तारमा शिथिलता आउँदा मुलुकको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न सक्ने स्थितिलाई मध्यनजर गर्दै बजेटले निर्धारण गरेका विकास निर्माणका कार्यक्रमहरूको कार्यान्वयनमा तीव्रता दिनुपर्ने आजको आवश्यकता हो ।

Leave A Reply

Your email address will not be published.