सात सय घरधुरीको सपना पूरा भयो

सात सय घरधुरीको सपना पूरा भयो

 नेत्रविनोद काफ्ले

एक गाग्री पानीका लागि तीन घण्टासम्म पालो कुरेको बिर्सेका छैनन्, खराङका ५३ वर्षीय सरस्वती अधिकारीले । संखुवासभाको खराङ, बानेश्वर, खाम्लिङ लगायतका गाविसका बासिन्दाको दैनिकी सरस्वतीको जस्तै थियो, एक गाग्री पानीका लागि बिहान बिताउनुपर्ने ।

img_5117img_3166-1

आफ्नो सपनाजस्तै लाग्छ, सरस्वतीलाई अहिले । भन्छिन्, ‘अहिले त घरमै कलकल धारो आएको छ । यस्तो होला भनेर सोेचेकोसम्म थिइनँ । दशकौंदेखि खानेपानीको समस्या भोगेका संखुवासभाका खराङ, बानेश्वर, खाम्लिङ, काफलडाँडा र हात्तीसुँडेका झन्डै ५ हजार सर्वसाधारण अहिले निकै खुसी छन् ।

संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रको केन्द्र भागमा रहेको चैनपुर नगरपालिकाअन्तर्गतको यो क्षेत्र प्राकृतिक रूपले त सुन्दर छ नै, विविध जातजाति, भाषा, धर्म, संस्कृतिका कारण पनि सम्पन्न मानिन्छ । आपसी सद्भाव यस भेगको अर्को सौन्दर्य हो । शिक्षा, स्वास्थ्य, यातायातजस्ता सुविधाहरू प्राप्त गर्दै अघि बढिरहेको छ । तर, याहाँको समुदाय खानेपानीजस्तो अधारभूत सुविधाबाट भने वञ्चित थियो ।

प्रत्येक घरका बालबालिका, महिला आधा रातमै पानीका लागी दुई घण्टासम्म धाउनुपर्ने अवस्था अन्त्य भएको छ । ‘साना केटाकेटीलाई पानी खुवाउन सक्ने अवस्थामा थिएनन् विद्यालय र घरघरमा पानि माग्दै जानुपर्ने बाध्यता थियो,’ एकस्थानीयले भने ।यो गाउँ समुद्र सतहबाट निकै अग्लो ठाउँमा भएकाले गाउँनजिकै पानीको मुहान भेट्टाउन निकै गाह्रो थियो ।

वातावरणीय परिवर्तनका कारण भएका पानीका सानातिना मुहान पनि दिन–प्रतिदिन सुक्दै गएका थिए । प्रत्येकपटक भएको निर्वाचनमा नेताहरूले दिएका आश्वासन पर्खेर बस्नुबाहेक अर्को कुनै विकल्प थिएन । ‘बर्खाको पानी संकलन गर्ने प्रविधि नअपनाएको पनि होइन, तर पनि समस्याको समधान भएन,’ स्थानीय रामबहादुरशर्माले भने ।

16388310_10158182938455483_1487599619756750635_n

सिद्धपोखरी गाविसमा पर्ने खेकुवा खोलाको पानी गाउँमा ल्याउन सकिने थियो । तर, निकै महँगो पर्ने भएकाले गाउँलेले आँट गर्न सकेनन् । त्यो खोलाको पानी चैनपुर हुँदै बानेश्वरको डाँडा काटेर खराङसम्म लान धेरै खर्च लाग्ने थियो । चार वर्ष त खानेपानीका विषयमा अध्ययन र छलफलमै बित्यो । २०६९ सालबाट औपचारिक रूपमा खानेपानी आयोजना निर्माण सुरु भयो जसले सबैको अनुहारमा खुसी दिलायो ।

यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्री जसले आफ्नै जनताको मुहार हँसिलो बनाउने चुनावी आश्वासन दिएका थिए, त्यो पूरा गरे धाराबाट पानी खसालेर । एक गाग्री पानी बोकेर जुनी बिताएका हजुरआमाहरू भन्छन्, ‘काकाकुल बस्तीमा यसरी पिउने पानी छेलोखेलो होला भनेर सोचेकासम्म थिएनौं, तर अहिलेबिपना भयो ।’ बानेश्वर, खराङ, काफलडाँडा, हात्तीसुँडे र खाम्लिङका ७ सय १४ घरधुरीका झन्डै ५ हजार बासिन्दाको सपना पूरा गराउनमा खानेपानी तथा सरसफाइ मूल समितिका अध्यक्ष भीमप्रसाद भट्टराईको योगदान रहेको बताउँछन् स्थानीय बासिन्दा ।

शब्द / तस्बिर : नेत्रविनोद काफ्ले

 

Leave A Reply

Your email address will not be published.