नेपाल प्रहरीमा आईजी विवाद चर्कदा सशस्त्रमा भने खुसी साटासाट, यस्तो थियो बढुवाभित्रको खेल

16729511_1147580235363904_1524811284526291632_n

रोशन श्रेष्ठ/राजधानी
काठमाडौं, १ फागुन

तेस्रो वरियताका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाएकोमा नेपाल प्रहरीभित्र चर्काे असन्तुष्टि भइरहेका बेला सशस्त्र प्रहरी बलमा भने त्यस्तो देखिएन । पहिलो नम्बरका एआईजी सिंहबहादुर श्रेष्ठलाई सशस्त्रको आईजीपी बनाउने सरकारको निर्णयलाई उनकै व्याची दुई एआईजीले पनि सहर्ष स्वीकार गरेको आजै खिचिएको यो तस्बिरले पनि पुष्टि गर्छ ।

यो तस्बिरको बीचमा रहेका व्यक्ति आईजीपीमा नियुक्त सिंहबहादुर श्रेष्ठ हुन् । टोपी लगाएका एआईजी प्रकाश ओझा र युनिफममा रहेका एआईजी प्रेमकुमार शाही हुन् । वरियतामा एआईजीमा प्रेमकुमार शाही भन्दा प्रकाश ओझा पछाडि छन् ।

अर्काे रमाइलो कुरा के हो भने डीआईजीमा ओझा एक नम्बरमा, शाही दुई र श्रेष्ठ तेस्रो नम्बरमा थिए । तर, एआईजी बढुवा हुँदा श्रेष्ठ एक नम्बरमा र ओझा तेस्रो नम्बरमा पुगे । एआईजीमा एक नम्बरमा बढुवा भएकाले नै श्रेष्ठ अहिले सशस्त्र प्रहरी प्रमुख बन्न सकेका हुन् । सशस्त्रमा अहिलेसम्म आईजी बनाउदा वरिष्ठतालाई मिचेको छैन ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको पालामा श्रेष्ठ, शाही र ओझा एआईजीमा बढुवा भएका हुन् । त्यसबेला श्रेष्ठ सचिवालयमा थिए । उनले सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी पनि बहन गरेका थिए । वन्त जसरी पनि श्रेष्ठलाई एक नम्बरमा एआईजीमा बढुवा गर्न चाहन्थे । तर, तत्कालीन सुशील कोइराला नेतृत्वको सरकार श्रेष्ठलाई एक नम्बरमा बढुवा गर्न चाहदैनथ्यो । त्यसबेला गृहमन्त्री वामदेव गौतम थिए । एमाले जसरी पनि ओझालाई एक नम्बरमा बढुवा गर्न चाहन्थ्यो । तर, आईजीपी वन्तले फाइल नै अगाडि बढाइदिएनन् ।

वन्तले फाइल अघि नबढाइदिँदा यी तीनै जना डीआईजीबाटै अवकाश पाउने अवस्थामा पुगे । अन्ततः वन्त आफ्नै निर्णयमा अरुको समर्थन जुटाउन सफल भए । श्रेष्ठ, शाही र ओझा क्रमशः एक, दुई र तीनमा बढुवा भए ।

यी तीनै जनाको बढुवा अवकाश पाउने अवस्था आउनुभन्दा ११ दिनअघि मात्र भएको थियो । डीआईजीको ५ बर्से सेवाअवधिका कारण उनीहरु अवकाश पाउने अवस्थामा पुगेका थिए । त्यतिबेला सरकार प्रमुख रहेका कोइराला उपचारका लागि अमेरिका जाने तयारीमा थिए । दसैंअगाडिको अन्तिम मन्त्रिपरिषद बैठक त्यही नै थियो । धेरैको अनुमान थियो, त्यही बैठकले सशस्त्रमा एआईजीको बढुवा गर्छ भन्ने । तर, दसैं अगाडिको सो बैठकले एआईजीको बढुवा गरेन । त्यसपछि धेरैले यी तीन जनासहित पाँचै जना डीआईजी बढुवा हुँदैन कि भनेर निराश भए । किनभने प्रधानमन्त्री कोइराला उपचार गरेर स्वदेश फर्कदा उनीहरु अवकाश भइसकेका हुन्थे । त्यसपछि मन्त्रिपरिषद बैठकको भोलिपल्ट आईजीपी वन्तले प्रधानमन्त्री कोइरालालाई भेटे । उनको भेटपछि कोइरालाले मन्त्रिरिषद बैठकको माइन्युटमा श्रेष्ठ, शाही र ओझालाई एआईजीमा बढुवा गरिएको लेख्न मुख्यसचिवलाई निर्देशन दिए । र, उनीहरु बढुवा भए ।

तस्बिर : नारायणबाबु थापाको फेसबुकबाट । सशस्त्र प्रहरीका डीआईजी उनले आजै यो तस्बिर पोष्ट गरेका हुन् । तस्बिरमा उनले लेखेका छन्

Photo of the Day : मित्रता/भातृत्वको नमुना: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठज्युलाई हार्दिक बधाई दिनुहुँदै AIG Prem Kumar Shahi सर र AIG Prakash Ojha सर ।

Leave A Reply

Your email address will not be published.