स्ववियु निर्वाचनले दिने सन्देश

rajdhani_logo_header-300x80

स्ववियु निर्वाचनले दिने सन्देश

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया सुरु भएपछि आमविद्यार्थीमा एक खालको उत्साह जागेको छ । लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन यसपालि हुने भएकाले पनि यो निर्वाचन विशेष हुने भएको छ, आमविद्यार्थीका लागि । झन्डै एक दशकपछि विद्यार्थीले स्वविवेकले आफ्नो नेता छान्ने अवसर पाउने भएका छन् । स्ववियु निर्वाचनले विद्यार्थीलाई भोट हाल्ने अवसर मात्रै दिँदैन, नेतृत्व क्षमतासमेत विकास गर्छ । अहिलेका प्रमुख पार्टीका शीर्ष नेताहरू प्रायः विद्यार्थी राजनीतिमा खारिएरै स्थापित भएका हुन् । विगतको दृष्टान्त हेरेर पनि भन्न सकिन्छ, मुलुक हाँक्ने व्यक्तिको खोजी कलेजस्तरमा हुने गर्छ । अहिले हुन लागेको स्ववियु निर्वाचन पनि त्यही हो । १४ फागुनमा हुने निर्वाचनबाट चुनिने प्रतिनिधि नै मुलुकका सम्भावित नेतृत्वकर्ता पनि हुन् ।

त्रिभुवन विश्वविद्यालयले उल्लेख गरेअनुसार पनि शुक्रबारसम्म भर्ना भएका विद्यार्थी मतदानमा सहभागी हुन पाउनेछन् । उपत्यकाका त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स, सानो ठिमीलगायत क्याम्पसमा विद्यार्थी भर्नाकै विषयमा विभिन्न विद्यार्थी संगठनले विरोध गरेका छन् । त्रिविले स्पष्ट भनेको छ, एकै व्यक्तिले धेरै विद्यार्थी भर्ना गरेको पाइए खारेजसमेत गर्न सकिनेछ । चुनावलाई सभ्य, भव्य र निष्पक्ष बनाउने दायित्व स्वयं विद्यार्थीकै हो । तसर्थ कहीँकतै अनधिकृत शैलीले विद्यार्थी भर्ना गरेको छ भने पनि त्यस्ता अवैधानिक भर्ना प्रक्रियाका सन्दर्भमा विद्यार्थी संगठनले त्रिविलाई सघाउने गरी प्रस्तुत हुनुपर्छ । सुशासनलाई संस्थागत गर्ने हो भने क्याम्पस स्तरबाटै सुशासनको पहल सुरु गर्नुपर्छ । स्ववियु निर्वाचनलाई मिनी निर्वाचनको रूपमा पनि लिइन्छ । विद्यार्थी संगठनले पाएको मत परिणामले दलको मत परिणामसमेत संकेत गर्छ । यसकारण राजनीतिक दलहरूले स्ववियु चुनावमा विद्यार्थीहरूलाई विभिन्न रूपमा प्रस्तुत गराउने र प्रयोग गर्ने गर्दछन् । यसो हुँदा समग्र विद्यार्थी राजनीति र पार्टीगत राजनीतिमा समेत नकारात्मक असर पर्न जान्छ । यसर्थ, राजनीतिक दलहरू र स्वयं विद्यार्थी संगठनहरूसमेत जिम्मेवार र अनुशासित हुन जरुरी छ ।

मुलुकको परिवर्तनका लागि भएका कुनै पनि आन्दोलनलाई निष्कर्षमा पु¥याउन विद्यार्थीको भूमिका अहं छ । त्यति हुँदाहुँदै पनि विद्यार्थीमाथि एउटा अभियोग लाग्ने गरेको छ, ‘विद्यार्थीहरू सिर्जनात्मक काममा कम तर, हुलहुज्जतमा बढी रमाए ।’ विगतका स्ववियु निर्वाचनमा कतिपय क्याम्पसमा विद्यार्थीहरूबीच हात हालाहालको समेत स्थिति आएकाले विद्यार्थीको भूमिकामाथि टिप्पणी हुने गरेको छ । यसपालिको निर्वाचनले विगतमा विद्यार्थीमाथि लागेका अभियोगहरू मात्रै मेट्नेछैन, निर्वाचनको तयारीमा रहेका अन्य संघसंस्थालाई पनि सभ्य चुनावका लागि एउटा सन्देश दिनेछ । केही क्यम्पसमा देखिएको विवाद समाधानका लागि विद्यार्थी स्वयंले पहलकदमी लिए भने स्ववियु निर्वाचन वास्तवमै उदाहरणीय हुने निश्चित छ । आशा गरौं, यसपालिको स्ववियु निर्वाचनमा कुनै पनि संगठनका विद्यार्थीहरूबीच झडप भएको सुनिनेछैन र निर्वाचन परिणामलाई सहर्ष स्विकार्दै अगाडि बढ्नेछन् । विद्यार्थी समुदाय समाजको अगुवा पनि हो । एउटा विद्यार्थी सिर्जनशील भयो भने ऊ बस्ने घर र ऊ पढ्ने विद्यालयमा समेत सिर्जनात्मक गतिविधिले स्थान पाउने निश्चित छ, जसले सम्पूर्ण समाज र सिंगो राष्ट्रलाई नै सही मार्ग दिनसक्छ ।

 

Leave A Reply

Your email address will not be published.