उपत्यकामा प्रदूषण नियन्त्रण गर

rajdhani_logo_header-300x80

उपत्यकामा प्रदूषण नियन्त्रण गर

विगत १० वर्षदेखि उपत्यकाको सडक भत्काउने र पुर्ने काम निरन्तर भइरहेको छ । पछिल्लो समयमा सडक विस्तार, मेलम्चीको पानीका लागि पाइप बिछ्याउने, ढल बिछ्याउने काम निरन्तर चलिरहेको छ । यो क्रम अझै १० वर्षसम्म चल्ने बताइएकाले उपत्यकामा धुलो नियन्त्रण हुने सम्भावना देखिँदैन । पछिल्लो समय सडक विस्तारको काम पनि भइरहेको छ भने मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम गरिरहेको छ । उसले आफूले खनेको सडक कालोपत्रेका लागि सम्झौता गरिसकेको छ । केही दिनमै कालोपत्रे गर्ने काम सुरु हुनेछ । मेलम्ची खानेपानीले कालोपत्रे गरेको स्थानमा नै पुनः ढल बिछ्याउन सरकारले बोलपत्रमार्फत् केही दिनअघि मात्र सम्झौता गरेको छ । मेलम्चीको पानीको पाइप बिछ्याउने काम नसकिँदै केही महिनापछि ढलका लागि सडक खन्ने काम सुरु हुँदै छ । उपत्यकामा धुलोका कारण बिरामीको संख्या पनि बढिरहेको अस्पतालहरूले जनाएका छन् ।

एउटा निकायको अर्को निकायसँग समन्वय नहुँदा उपत्यकाको सडक खन्ने र पुर्नेमा नै हामीले अझ लामो समय बिताउनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी संयन्त्रबीच समन्वय नहुँदा विकास निर्माण पनि प्रभावित बनेको छ भने जनस्वास्थ्यमा पनि गम्भीर असर परेको छ । उपत्यकावासीले अझै धुलोको मार खेप्नुपर्ने बाध्यताको प्रमुख कारण सरकारी निकायबीचको समन्वयको कमी नै हो । सडकमा विभिन्न प्रयोजनका लागि खन्नुपर्ने अवस्था आएमा अन्य सरोकारवाला निकायबीच समन्वय नहुँदा एक निकायले सडक खन्ने र पुर्ने फेरि अर्को निकायले अर्को प्रयोजनका लागि सडक खन्ने र पुर्ने मात्रै हो भने काठमाडौं धुलोमय उपत्यकाका रूपमा परिचित हुनेछ । हामीले अझै लामो समय धुलोको मार बेहोर्नुपर्ने देखिन्छ ।

उपत्यकावासीले सासै फेर्न पनि कठिनाइ भोगिरहेका छन् । उपत्यकाका सडक विभिन्न बहानामा खन्ने क्रम रोकिएको छैन । यो क्रम अझ कहिलेसम्म चल्छ ? सरकारले जनचासोका विषयमा विशेष सम्बोधन गर्नुपर्नेमा सरकार मौन छ । वायुमण्डलमा धुलो र धुवाँमा रहने कण श्वासनली हुँदै फोक्सोमा पुगेपछि श्वासप्रश्वाससम्बन्धी रोग, दम, निमोनिया, खोकी, ब्रोंकाइटिस, एलर्जीदेखि क्यान्सरसम्मका रोगको संक्रमणलाई बढाएको छ । विश्व स्वास्थ्य संगठनको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन समितिले गरेको एक अध्ययनले वायु प्रदूषण फोक्सो क्यान्सरको प्रमुख कारण भएको जनाएको छ । युरोप, दक्षिण र उत्तर अमेरिका तथा एसियामा गरिएको अध्ययनमा बढ्दो वायु प्रदूषणसँगै विभिन्न नसर्ने रोगको खतरा बढिरहेको समेत देखाएको छ । वायु प्रदूषणले श्वासप्रश्वास प्रणाली र मुटुमा सबैभन्दा बढी असर गर्ने गरेको पाइएको छ । सडकको धुलो नियन्त्रण, इँटाभट्टाहरूमा सुधार र फोहोर जलाउने काम नियन्त्रण गर्नतर्फ सरकारको ध्यान जानुपर्दछ । सबैभन्दा बढी धुलोको असर स्कुले विद्यार्थीहरूमा परेकाले सडकको धुलो नियन्त्रण गर्नु अपरिहार्य छ । काठमाडौंको वायु प्रदूषण नियन्त्रण गर्न तत्काल निर्माण कार्य (सडक विस्तार र मेलम्ची पाइप लाइन आदि) को धुलो नियन्त्रण गर्न पानी छर्कने व्यवस्था मिलाउने र त्यसको नियमित अनुगमन गर्नुपर्दछ । यसैगरी, गाडीहरूको प्रदूषण जाँच प्रणाली (हरियो र रातो स्टिकर टाँस्ने) लाई प्रभावकारी बनाई सडकमा समेत छड्के जाँच गर्नुपर्दछ । इँटा भट्टाहरूको प्रविधिमा सुधारका लागि काम गर्नुपर्दछ । वायु प्रदूषण नियन्त्रण गर्न विभिन्न निकायहरूबीच समन्वय गर्न प्रधानमन्त्रीको अध्यक्षता रहेको वातावरण संरक्षण परिषद् नै सक्रिय हुनु आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.