अभिभावकीय सुझाव मनन गर

rajdhani_logo_header-300x80

अभिभावकीय सुझाव मनन गर

राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरूलाई क्रमशः बोलाएर निर्वाचनप्रति गम्भीर चासो व्यक्त गर्नु निर्वाचनको माहोलमा अझै कालो बादल कायम छ भन्ने नै हो । निर्वाचन घोषणा पहिला कि संविधान संशोधन भन्ने ‘प्रतिष्ठाको लडाइँ’ मा दलहरू रुमल्लिन नछाडेपछि अन्ततः राष्ट्रपतिले सहजीकरणको प्रयास थाल्नुपरेको अवस्था छ । निर्वाचन आयोगलगायत सरोकारवाला निकायले समय घर्किसकेको सन्देश प्रवाह गरिरहँदा पनि दलहरूले निर्वाचनलाई बेवास्ता गर्दा मुलुक फेरि उपलब्धिलाई संस्थागत गर्नबाट चुक्ने हो कि भन्ने शंका पैदा भएको छ । यो बेला राष्ट्रपतिले देखाएको सक्रियता स्वाभाविक र अनिवार्य बनेको छ ।
जननिर्वाचित निकायको म्याद सकिएपछि अहिलेसम्मका सबै सरकारलाई अर्को चुनावको मिति घोषणा गर्न सकस पर्ने हाम्रो नजिर छ । दलहरू नयाँ जनादेशमा हत्तपत्त जान डराउँछन् भन्ने उदाहरण हो यो । पहिलो संविधानसभा भंग भएपछि दोस्रो संविधानसभा चुनाव घोषणा गर्न तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यसरी नै लिखित ‘दबाब’ दिनुपरेको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र दलहरूलाई शीतलनिवासले चुनावका लागि धेरैपटक भोज दिनुपरेपछि बल्ल निर्दलीय सरकारमार्फत चुनाव सम्भव भयो । त्यसबेला पनि दलहरू आफूले चुनाव गराउन नसकेको प्रमाण दिएका हुन् । संविधान कार्यान्वयनको समयसीमा घर्किंदै गर्दा दलहरू फेरि त्यही बाटोमा जान गोरेटो खन्दै छन्, चुनावबाट भागेर । यतिबेला फेरि राष्ट्रपतिबाटै चुनावी दायित्व उठाउनु परेको छ । यसले दलहरू विवेकबाट भन्दा दबाबको अस्त्रमा मात्र अघि बढ्न तयार हुन्छन् भन्ने पुष्टि पनि गरेको छ । अझै पनि बहानाबाजी सकिएका छैनन् । प्रधानमन्त्री वल्लो तिरमा फर्किएर (प्रमुख प्रतिपक्षी)सँग चुनावलाई प्राथमिक विषय भन्छन् पल्लो तिरमा फर्किएर (मधेसी मोर्चा)सँग संविधान संशोधनको कुरा गर्छन् । उनको पार्टीभित्र भने के पहिले भन्ने औपचारिक निर्णय गराउँदैनन् । उसैगरी साझेदार कांग्रेसको पनि हाल यही छ । चुनाव घर्किन लाग्दासमेत यी दुई ठूला पाटीले चुनावको प्राथमिकताप्रति साँधेको संस्थागत मौनताले आमजनतामा डर उत्पन्न गराएको छ । यो डर विधि नै रहने÷नरहनेसँग जोडिएकाले पनि अब चुनावलाई लिएर संवेदनशील हुनुपर्ने बेला आएको छ ।
लोकतन्त्रको सौन्दर्य नै आवधिक निर्वाचन हो । सौन्दर्यविनाको व्यवस्था र आदर्शविनाको राजनीति आडम्बरी हुन्छ । चुनावमा यो वा त्यो बहानामा भाग्नु यस अर्थमा आडम्बर बन्नु हो । दलहरूले आडम्बरी छैनौं भन्न किन विलम्ब गर्ने ? राष्ट्रपतिबाट लिइएको यो चासोलाई औपचारिकताको लेप मात्र दिइयो भने दलहरूले भूल गरेको ठहर्नेछ । राष्ट्रप्रमुख हुनुको नाताले उनले अभिभावकका रूपमा थालेको यो प्रयासलाई आत्मसात् र मनन गर्दै तत्काल निर्वाचन मिति घोषणा गरी अघि बढ्न दलहरूले अब ढिला गर्नुहुन्न ।

Leave A Reply

Your email address will not be published.