व्यवसायीद्वारा विस्थापित हुने सवारीधनीलाई राहतको माग

राजधानी समाचारदाता
ललितपुर, ३ फागुन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विस्थापित हुने सवारीधनीलाई राहत दिन माग गरेको छ । सरकारले २० वर्ष पुराना सवारीसाधनलाई विस्थापित गर्ने तयारी गरिरहँदा महासंघले यस्तो माग गरेको हो । मंगलबार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटी व्यवसायीले यस्तो माग गरेका हुन् ।

व्यवसायीहरूले आयात हुने नयाँ गाडीको कर छुटको माग गरेका छन् । मन्त्रीसँगको उनीहरूले तरलता भएका बैंकले गाडीमा लगानी गर्न छाडेको र ४० सिट क्षमताको गाडी एकैपटक ल्याउन विभिन्न समस्या परेको बताएका थिए । ‘सवारीसाधन खरिद गर्दा भन्सार तथा राजस्वमा सहुलियत हुनुपर्छ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले भने, ‘नयाँ गाडी खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट पनि ऋण प्राप्त गर्न सकिएको छैन । बैंकमा तरलता भएकाले केही दिन यतादेखि बैंक तथा वित्तीय संस्थाले ऋण दिएको छैन ।

अध्यक्ष खनालका अनुसार अर्थमन्त्रीसँगको भेट सकारात्मक रहेको छ र्। यातायात व्यवसायीको कुरा उपयुक्त नै छ, हामी छलफल गरेर अगाडि बढ्छौं, उपप्रधान एवं अर्थमन्त्री महराको भनाइ उद्धृत गर्दै अध्यक्ष खनालले भने । महासंघको टोलीले मंगलबारै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग भेट्न खोजे पनि मन्त्री बाहिर भएकाले भेट हुन नसकेको उनले जानकारी दिए । ‘मन्त्रीज्यूसँग आज भेट हुन सकेन,’ उनले भने, ‘भोलि बुधबार हामीले भेट्ने समय लिएका छौं ।

महासंघका महासचिव सरोज सिटौलाले सरकारले बेलैमा नसोचे अर्बौं रकम पानीमा जाने बताए । ‘अर्बौं रुपैयाँ खेर जान्छ , कन्डिसन गाडी पनि कवाडीमा जान सक्छ,’ उनले भने, ‘सरकारले बेलैमा सोच्नुपर्छ । यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडीले प्रदूषण बढाएको, ट्राफिक समस्या निम्त्याएको, दुर्घटना बढाएको र सहर नै कुरूप बनाएको भन्दै विस्थापनको तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले मुलुकभरका पुराना सवारीसाधन हटाउने निर्णय अनुसारका कामहरू पनि भइरहेको जनाएको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले साना तथा ठूला सवारी कार्यालयले त्यसको लागत संकलन गरिरहेको बताए ।

विभागले पछिल्लो समयमा वृद्धि भएको प्रदूषण नियन्त्रण गर्ने, ट्राफिक जाम न्यूनीकरण गर्ने, सवारी दुर्घटना रोक्न र यात्रुहरूको सहज यात्रा सुनिश्चित गर्नेलगायतका मुख्य चार उद्देश्य राखेर पुराना सवारी साधनहरू हटाउन लागिएको जानकारी दिएको छ । काठमाडौं उपत्यकामा ४० प्रतिशत प्रदूषणको कारक तत्वको रूपमा पुराना सवारी साधनहरूबाट आउने धुँवालाई लिइएको छ । मुलुकभर हालसम्म करिब २१ लाख सवारीसाधनहरू दर्ता भएको विभागको तथ्यांक छ । त्यसको करिब ५० प्रतिशत काठमाडौं उपत्यकामा मात्रै चल्ने गरेका छन् ।

विभागको तथ्यांकअनुसार सार्वजनिक, निजी, सरकारी, संस्थान, कूटनीतिक नियोग, पर्यटक गाडीलगायतका गरी काठमाडौं उपत्यकामा करिब ११ लाखको हाराहारीमा सवारीसाधनहरू सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै १ लाख ६० हजार कार, उपत्यकामा बस÷ट्रक तथा भाडाका सवारी ३० हजारको संख्यामा रहेको विभागको भनाइ छ ।

२० वर्ष पुराना गाडी १७ फागुन पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णतः प्रतिबन्ध लगाउने भएको छ। त्यस्ता गाडी सडकमा गुडाए सरकारले जफत गर्नेछ। यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही पनि गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेटका बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो १७ फागुनपछि चलाउन नपाइने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । ‘यातायात व्यवसायीलाई २० वर्ष पुराना थोत्रा गाडी विस्थापित गर्न बारम्बार अनुरोध गरिरहेका छौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘फागुन १८ गतेदेखि २० वर्ष पुराना गाडी सडकमा निकाल्न नपाइने नियम बनाएका छौं ।’

तैपनि, कसैले अटेर गरे सडकबाटै जफत गरी कारबाही गर्छौं । उनका अनुसार यो निर्णय पूर्ण रूपमा लागू गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीको साथ लिनुपर्नेछ । उपत्यकाबाहिर भने यो व्यवस्था आगामी ३० फागुनपछि लागू हुनेछ ।

 

Leave A Reply

Your email address will not be published.