परीक्षा शुल्क असुल गर्दै सामुदायिक विद्यालय

अजयकुमार साह / राजधानी

बारा, ४ फागुन

जिल्लाका सामुदायिक विद्यालयले मनोमानी ढंगले विद्यार्थीहरूबाट परीक्षा शुल्क उठाउँदै आएको खुलासा भएको छ ।जिल्लास्थित अमर उच्च माध्यमिक विद्यालय दोहरी मझौलियाका प्रधानाध्यापकले कक्षा १० का प्रत्येक विद्यार्थीसँग ‘परीक्षा दस्तुर’ शीर्षकमा ३ सयका दरले रकम असुलेको खुलासा भएको छ ।

शिक्षा ऐनको उल्लंघन गर्दै सो विद्यालयका प्रधानाध्यापक किशोरी रामले परीक्षा दस्तुर उठाउने गरेको अभिभावक हरेन्द्रप्रसाद सहनीले बताए । प्रअ रामले परीक्षा दस्तुर नबुझाउने विद्यार्थीहरूलाई टेस्ट परीक्षामा सामेल नगराउने गरेको सहनीले आरोपसमेत लगाए । आप्mनी छोरी सुमिन्त्रा कुमारी कक्षा १० मा अध्ययनरत रहेको र छोरीमार्फत परीक्षा दस्तुर नबुझाउने विद्यार्थीहरूलाई परीक्षामा सामेल नगराउने जानकारी पाएको अभिभावक सहनीले जानकारी दिए ।

परीक्षा दस्तुर बुझाउन जाँदा रसिदमा विद्यार्थीको नाम नलेखी अभिभावकको नाम लेख्ने गरेको र रोल नम्बरमा विद्यार्थीको रोल नम्बर लेख्ने गरेको उनले बताए । परीक्षा दस्तुर बुझाउँदा प्रअलाई आफनी छोरीको नाम लेख्न अनुरोध गर्र्दा छोरीको नाम नलेखी मेरो नाम लेखेको र रोल नम्बर छोरीको लेखेकोमा सहनीले आपत्ति जनाएको बताएका छन् ।

उनले यसबारे बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरलाई फोनमार्फत जानकारी गराएको बताए । निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश मण्डलले परीक्षा दस्तुरबारे कुनै पनि निर्णय नभएको बताए ।

प्रअ किशोरी रामसँग पटकपटक सम्पर्क गर्न खोज्दा मोबाइल ‘स्वीच अफ’ भएकाले सम्पर्क हुन सकेन । बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले यदि कुनै विद्यालयले मनोमानी किसिमबाट विद्यार्थीहरूसँग परीक्षाको नाउँमा पैसा लिने गरेको पाइएमा त्यसलाई नछाड्ने बताए । यस्तो क्रियाकलाप गर्ने कुनै पनि विद्यालय वा प्रअलाई शिक्षा ऐनबमोजिम कारबाही गरिने जिशिअ पौडेलले प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.