इन्टरनेट नचलेपछि सदरमुकाममा सर्भेयरहरू

राजधानी संवाददाता
सोलुखुम्बु, ४ फागुन

गाउँगाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितहरूको तथ्यांक संकलनमा खटेका प्राविधिकहरू सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितहरूको लगत संकलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकहरू इन्टरनेट नचलेपछि उनीहरूले संकलन गरेको तथ्यांक केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी नै आउन बाध्य भएका हुन् ।

संलकन भएको तथ्यांक प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेटको पहुँच र सुविधा नभएकाले गाविसका प्राविधिकहरू सदरमुकाम आउनुपरेको लगत संकलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताए । इन्टरनेटले कार्यक्षेत्रमा काम नगर्दा प्राविधिकहरूले पनि दोहोरो दुःख पाएको उनले बताए । ‘डाटा अप्लोड’ का लागि जिल्लाको डाँडापारिको गाउँ विकास समिति भनेर चिनिने ‘गोली’ बाट सदरमुकाम आइपुगेको सर्बेयर इन्जिनियर रामकुमार पाख्रिनले भने,

‘इन्टरनेटकै समस्याले नियमित काममा बाधा पुगेको छ ।’ इन्टरनेट नहँुदा संकलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो छ । प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा संकलन गर्न कठिनाइ हुने जिल्लाका अधिकांश प्राविधिकहरूको गुनासो रहेको छ ।

भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्यांक संकलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाइ हुने भएको छ । सम्बन्धित निकायकै काम ढिलो भएमा पीडितहरूले यस वर्ष पनि सबै प्रक्रिया पूरा गरी घर बनाउन ढिला हुने र वर्षा सुरु हुने गुनासो गर्न थालेका छन् ।

गाउँमा इन्टरनेटले काम नगरेपछि प्राविधिकहरूलाई पनि सदरमुकाम आउन र जानमै अधिकांश समय खर्चनुपरेको छ भने जिल्लाको चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा तथ्यांक संकलनको काम नै सुरु भएको छैन ।

यसैगरी, लगत संकलन सम्पर्क कार्यालय सोलुखुम्बुले भूकम्पपीडितहरूको नाम यस अघिको सूचीमा जिविसबाट छुटेको भए सूचीमा नपरेका पीडितहरूले गाविस सचिवमार्फत टिपाउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.