सामाजिक सञ्जालको उपयोग कसरी ?

rajdhani_logo_header-300x80

सामाजिक सञ्जालको उपयोग कसरी ?

अहिलेको विश्व एउटा सानो गाउँमा परिणत हुँदै छ, सूचना प्रविधिका कारण । तर, सँगसँगै यही सूचना प्रविधिकै कारण अनेक किसिमका आपराधिक क्रियाकलाप बढिरहेका पनि छन् । भर्खरै नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत यौन धन्दा चलाउने तथा महिलामाथि यौन हिंसाजन्य व्यवहार गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि सामाजिक सञ्जालको प्रयोग÷उपयोगबारे गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो । सूचना, संवाद र अन्य सिर्जनात्मक÷रचनात्मक कार्यका लागि उपयोग गरिनुपर्ने सामाजिक सञ्जाललाई कतिपय आपराधिक मानसिकता भएका व्यक्तिहरूले गलत रूपमा प्रयोग गरिरहेका छन् । विश्वभर आफ्नो पहुँच विस्तार गरिसकेको सूचना प्रविधिबाट सम्पन्न र विपन्न, सबै मुलुक प्रभावित छन् । नेपालमा पनि हरेकजसोका हातमा मोबाइल फोन र इन्टरनेटको सुविधा पुगिसकेको छ ।

खासगरी, हाम्रो जस्तो विपन्न र अल्पविकसित मुलुकमा शिक्षाको स्तर कमजोर हुनु, साक्षरता प्रतिशत कम हुनु, सामाजिक, सांस्कृतिक, प्राविधिक चेतनाको उचित विकास हुन नसक्नु सामान्य हो । अहिलेसम्म पनि करिब ६० प्रतिशत जनसंख्या मात्र साक्षर भएको मुलुकमा सूचना प्रविधिको पहुँच भने लगभग शतप्रतिशत रहेको छ । तर, सो प्रविधिको प्रयोग वा उपयोगिता केका लागि ? कसरी त्यसको सही प्रयोग  गर्ने ? त्यसको दुरुपयोगको परिणाम के हुन्छ ? आदिजस्ता विषयमा भने प्रयोगकर्ता सचेत छैनन् । प्रविधि चलाउन नजान्दा वा दुरुपयोग हुँदा घातक हतियार सावित हुन्छ भन्ने कुरा पछिल्ला केही दृष्टान्तले पुष्टि गर्छन् । सामाजिक सञ्जालमा ‘सेक्स भिडियो’ हालिदिने, कुनै युवतीका फोटाहरूलाई फोटोसपमार्फत सम्पादन गरेर नांगो÷विरूप वा अन्य रूपमा प्रस्तुत गरेर पोस्ट गरिदिने आदि कार्य त पहिल्यैदेखि भइरहेकै हुन् । जसका कारण हत्या÷आत्महत्याका घटना पनि बढिरहेकै छन् । अहिले यौन धन्दाका लागि वा यौन व्यापारका लागिसमेत सामाजिक सञ्जालको प्रयोग हुन थालेको तथ्य बाहिर आइरहँदा प्रहरी मात्र होइन, आममानिसमा नै ठूलो त्रास उत्पन्न भइरहेको छ । यस्ता आपराधिक व्यक्तिहरूको अपराधको सिकार आफू भइने त होइन भन्ने सन्त्रास आममानिसमा उत्पन्न हुनु अन्यथा होइन पनि । किनभने, एउटा सानो नकारात्मक कुरा पनि सामाजिक सञ्जालमा ‘भाइरल’ बनिदिन्छ । जसले असल, इमानदार र प्रतिष्ठित व्यक्तिको इमान, इज्जत र प्रतिष्ठा क्षणभरमै ध्वस्त बनाइदिन्छ ।

वास्तवमा प्रविधि मानिसका दैनिक कार्यहरूमा सहजता ल्याउन वा सहयोग गर्नका निम्ति आविष्कार गरिएका हुन्, नकि दुरुपयोग गर्न वा आपराधिक कार्य गर्न । हामीले हामीसँग रहेका प्रविधिलाई उचित किसिमले प्रयोग गर्न नजान्नुका परिणाम हुन्, यस्ता घटनाहरू । विशेषगरी, २०६० सालपछि नेपालमा मोबाइल फोन र इन्टरनेटको व्यापकता देखिन्छ । अनेकौं सेवाप्रदायकहरूले मोबाइल र इन्टरनेट सुविधा दिइरहेका छन्, देशभर । तर, ती प्रविधिलाई सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक विकासका निम्ति न त राज्यले प्रभावकारी रूपमा प्रयोग गर्न सक्यो, न आमनागरिकमा नै त्यस्तो चेतना आयो । कृषिप्रधान मुलुक हो, नेपाल । पर्यटकीय मुलुक पनि हो यो । सामाजिकसँगै सांस्कृतिक विविधता पनि हाम्रा पहिचान हुन् । मुलुकको शैक्षिक अवस्था निकै कमजोर छ । यी सबै कार्यमा सूचना प्रविधि, खासगरी पछिल्लो समय अत्यन्तै धेरैले प्रयोग गर्ने गरेको सामाजिक सञ्जाललाई प्रयोग गर्न सकिन्छ, तर त्यसो हुन सकेन । जसको परिणाम ‘माल पाएर पनि चाल नपाएको’ अवस्थामा हामी रह्यौं । मधेस आन्दोलनताका एसएलसी परीक्षा दिने विद्यार्थीका लागि सामाजिक सञ्जालको प्रयोग गरिएबाहेक अन्य यस्ता सकारात्मक कार्यमा यसको प्रयोग हुनसकेको पाइँदैन । उल्टो विभिन्न प्रकारका आपराधिक कार्यहरूमा यसको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण छ । राज्यले विद्युतीय अपराध रोक्नका लागि कानुन त बनाएको छ, तर त्यसको प्रभावकारी कार्यान्वयन गर्न भने सकिरहेको देखिँदैन । यसतर्फ राज्य, समाजका सचेत वर्ग र व्यक्ति स्वयं पनि सचेत बन्नु आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.