सवारी कारबाहीबाट ९२ लाख बढी राजस्व

कपिलवस्तु / रास– सवारी कारबाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले ७ महिनामा ९१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि माघ मसान्तसम्म कुल १५ हजार ६ सय ६३ सवारी कारबाहीबाट जिल्ला ट्राफिकले सो राजस्व संकलन गरेको हो । ट्राफिकले यस वर्ष ४ हजार १ सय ९२ बढी सवारी कारबाहीमा परेका छन् भने ४९ लाख ५१ हजार ४ सय बढी राजस्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमरबहादुर कार्कीले जानकारी दिए  ।

ट्राफिकले गत वर्षको ७ महिनामा ११ हजार ४ सय ७१ सवारी कारबाहीबाट ४१ लाख ९२ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, यस वर्ष सोही अवधिमा ४ हजार १ सय ९२ बढी सवारी गरेको छ भने ४९ लाख ५१ हजार ४ सय रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए  ।

गत वर्षको दाँजोमा ट्राफिकले झन्डै तेब्बर राजस्व असुली गर्न सफल भएको कार्कीको दाबी छ । कारबाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी ट्रकको संख्या रहेको छ । कुल कारबाहीमध्ये ६ हजार ४७ वटा  ट्रक मात्र छन् भने अन्य सवारी संख्या ४ हजार ८ सय ८ मात्र छन् । ‘ट्रकबाट मात्र ट्राफिकले ६३ लाख ८१ हजार ५ सय राजस्व असुली गरेको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने  । कारबाहीमा परेका ट्रक संख्या १० हजार ८ सय ५५ रहेको छ । ओभरलोड र ट्राफिक नियम उल्लंघनलगायत कारणले सबैभन्दा बढी ट्रक कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.