भाषा परीक्षाको आवेदन ९ चैतदेखि सुरु गर्ने प्रस्ताव

अनलाइनबाट आवेदन बुझाउने तयारी

मधुजंग पाण्डे / राजधानी
काठमाडौं, ४ फागुन

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत सन् २०१८ का लागि लिइने कोरियन भाषा परीक्षाको आवेदन फाराम बुझाउने कार्य आगामी ९ चैतदेखि सुरु गर्न प्रस्ताव गरिएको छ ।  विगतका वर्षहरूको भन्दा यसपालिको भाषा परीक्षालाई थप व्यवस्थित एवं सहज बनाउने उद्देश्यले श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले अहिले कोरियाको मानव संसाधन विभाग (एचआरडी) लाई यस्तो प्रस्ताव पठाएको हो ।

आवेदन फाराम बुझाउनेहरूलाई केही जहजता प्रदान गर्न यस वर्षदेखि अनलाइनबाट आवेदन फाराम बुझाउने व्यवस्था मिलाइने पनि सो शाखाले जनाएको छ । ईपीएस शाखाका अनुसार आगामी ९ देखि १८ चैतसम्म ईपीएस परीक्षाको अनलाइन आवेदन फाराम बुझ्न कोरियाको मानव संसाधन विभागलाई प्रस्ताव पठाइएको छ । सोही अनुरूप यस वर्षबाट अनलाइनबाटै आवेदन फाराम बुझाउने सुविधा दिने तयारी भइरहेको छ । ईपीएस कोरिया शाखाले यस्तो फाराम बुझाउने व्यवस्थाको अनलाइन प्रणाली विकास गरिसकेको जनाएको छ । शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण कार्य नसकिएकाले गत वर्ष प्रयोग गर्न सकिएको थिएन ।

यसपालि भने अनलाइनबाट आवेदन फाराम बुझाउन सकिने बताइएको छ । जसकारण अब विगतका वर्षहरूमा झैं भाषा परीक्षाका लागि आवेदन फाराम बुझाउन रातभर लाइन बस्नु पर्ने बाध्यता हट्ने सो शाखाको दाबी छ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियामा प्रशिक्षार्थी कामदारको रूपमा काम जाने चाहनाअनुरूप भाषा परीक्षाका लागि धेरै आवेदन पर्ने गरेको छ ।  अहिलेसम्म आवेदन फाराम बुझाउन घन्टौ लाइन बस्नुपर्ने बाध्यता कायमै छ । गत वर्ष करिब ६० हजार कोरियन भाषा परीक्षामा सहभागी भएका थिए ।

आवेदन फाराम बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अबदेखि अनलाइन फारामको व्यवस्था गर्न लागिएको ईपीएस शाखाले जनाएको छ ।

अनलाइनमा फाराम बुझाउन तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनुपर्ने छ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्र अनलाइन फाराम ‘स्वीकृत’ गर्न सकिनेछ । यसैगरी भाषा परीक्षामा सहभागी हुनेहरूका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । गतवर्षदेखि नै परीक्षामा सहभागी हुन एचआरडीले एमआरपी पासपोर्ट अनिवार्य गरेको थियो । अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवायुवतीले सहज रूपमा घरमै बसेर पनि यस भाषा परीक्षाका लागि आवेदन फाराम बुझाउन सक्नेछन् । नेपालले सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार दक्षिण कोरिया पठाउन थालेको हो । अहिले वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य दक्षिण कोरियामा अन्य खाडी मुलुक र मलेसियाको भन्दा निकै बढी कमाइ हुने भएकाले ईपीएस मार्फत कोरिया जान चाहनेहरूको संख्या अत्यधिक बढेको हो ।

यसैबीच, दक्षिण कोरियाले सन् २०१७ को पहिलो चरणका लागि नेपाली भाषा परीक्षा उत्तीर्ण भएका प्रशिक्षार्थी नेपाली कामदार कोरिया लैजान सुरु गरेको सो शाखाले जनाएको छ । सो शाखाका अनुसार अहिले कामदारको छनोट सुरु गरे लगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ५ सय नेपालीको श्रम सम्झौता पठाएको छ । यसै साता सन् २०१७ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारको छनोट सुरु गरेको दक्षिण कोरियाले सुरुवातमै ५ सय कामदारको ‘लेबर कन्ट्र्याक्ट’ पठाएको हो । अहिले कोरियाको एचआरडीले पहिलो चरणमा कृषि र उत्पादनमूलक क्षेत्र तर्फका प्रशिक्षार्थी नेपाली कामदार छनोट गर्ने क्रम तीव्र पारेको छ ।

अहिलेसम्म एचआरडीले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको छ । कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको कामदार छनोट सुरु गर्नेछ । त्यसको चार महिनापछि पुनः तेस्रो तथा अन्तिममा कामदार छनोट भइसक्ने छन् । नेपाली कामदार छनोट गर्न कोरियाका रोजगारदाता कम्पनीहरू सहभागी हन्छन् । उनीहले भाषा परीक्षा उत्तीर्ण भएका मध्येबाट आफूलाई आवश्यक पर्ने कामदार भाषा छनोट गर्न पाउनेछन् । यसपालिको  कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमध्ये २ हजार एक सय ४० जना कृषि क्षेत्रमा रहेका छन् । यसैगरी, १ हजार तीन सय ७७ जना उत्पादनमूलक क्षेत्रमा रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.